हालै भएको नेकपा एमालेको १० औं महाधिवेशनले गरेका निर्णय बोकेर बाँकेका नेताहरु कार्यकर्ताको घरदैलोमा पुग्ने भएका छन् । आसन्न जिल्ला अधिवेशन तयारी र प्रदेश अधिवेशनको आवश्यक योजनाका लागि शुक्रबार बसेको नेकपा एमाले बाँकेको १९औं पूर्ण बैठकले महाधिवेशनका निर्णयलाई लिएर जनताको घरदैलो जाने निर्णय गरेको हो ।

‘पौष १४, १५ र १६ गते जिल्ला व्यापी रुपमा महाधिवेशन सन्देश प्रवाह अभियान सञ्चालन गर्र्दैछौं’, एमाले बाँकेका सचिव रत्न खत्रीले बैठकले जिल्ला अधिवेशन तयारीका लागि विभिन्न आठ वटा उपसमिति गठन गरेको जानकारी दिंदै भने, ‘त्यो तीन दिन भने महाधिवेशनका सन्देशहरु लिएर जनताको घरदैलोमा पुग्नेछौं ।’
त्यसका लागि जिल्ला स्थित केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटीका सदस्यहरु तीन दिनसम्म आफ्नो छिमेकी वडा पुगेर कार्यकर्ताको घरमा बास बस्नेछन् । ‘आफ्नो वडामा फरक वडाको जिम्मेवारी लिएका नेताहरु आउनेछन् भने हामी छिमेकी वडामा पुगेर घरदैलो गर्दै तीन दिनसम्म महाधिवेशन सन्देश प्रवाह गर्ने अभियान चलाउने छौं,’ सचिव खत्रीले दैनिक नेपालगन्जसँग भने ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष किस्मत कुमार कक्षपतिले प्रदेश कमिटिले पठाएको अन्तरपार्टी निर्देशन (अपानी) पढेर सुनाएका थिए । बैठकमा केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य एवंं सहइन्चार्ज मो. हारुन, केन्द्रीय सदस्य शान्ति ढकाल, दिपा शर्मा र पशुपति दयाल मिश्रले पार्टी अभियान र अबका योजनाहरु बारे बैठकमा मन्तव्य राखेका थिए ।
बैठकले जिल्ला अधिवेशनका लागि अध्यक्ष निरक गुरुङ्गको अध्यक्षतामा राजनीतिक प्रतिवेदन लेखन उपसमिति, भीम ओलीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन, अशोक कर्माचार्यको नेतृत्वमा आर्थिक, मीन बहादुर मल्लको मञ्च व्यवस्थापन, खेम शर्माको नेतृत्वमा स्वयंसेवक, डिल्ली बिसी प्रचार, भाष्कर काफ्ले खाद्य व्यवस्थापन र विम्मीरानी पन्थीको नेतृत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ ।
बैठकले पुस २३ गते हुने जिल्ला अधिवेशन र माघ ८ र ९ गते आयोजना हुने प्रथम लुम्बिनी प्रदेश अधिवेशन तयारीका लागि आवश्यक कसरतलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।
नेतृत्वमा चर्चा
नेकपा एमाले बाँकेको आगामी नेतृत्वमा को आउँला ? ‘म अबको नेतृत्वको दाबेदार हुँ’, डिल्ली बिसीले दैनिक नेपालगन्जसँग भने, ‘योग्यता, क्षमताका आधारमा आफ्नो नाम सार्वजनिक गरिरहेको छु ।’ जिल्ला कमिटिका अर्का सदस्य सतिश निरौलाले पनि आफ्नो नामलाई आगामी नेतृत्वमा किन नसार्ने भन्दै बहस चलाइरहेका छन् । ‘पार्टीलाई नयाँ ढंगलाई लैजाने हो भने युवा नेतृत्व आउनुपर्छ’, निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले नै मैले आफुलाई आगामी नेतृत्वका लागि योग्य उम्मेदवारका रुपमा अघि सारेको हुँ ।’
एमाले बाँकेको आगामी नेतृत्वका लागि यसरी नै दाबेदारी गर्नेहरुको सूचि लामो छ । यद्यपि, कसैले पनि आप्mनो नाम सार्वजनिक गरेर अभियान सुरु गरेको वा सदस्यहरुमाझ पुगेको घोषणा गरेका छैनन् । घननाथ खनाल नेतृत्वमा दाबेदारी गर्ने अर्का जिल्ला नेता हुन् । ‘कतिपयले केन्द्रीय नेता समक्ष पुगेर आफुलाई अघि सार्न जुटिरहेका छौं’, एकजना केन्द्रीय सदस्यले जिल्ला नेतृत्वको अबको सम्भावनाबारे भने, ‘पार्टीको जिल्ला नेतृत्व गर्न नीति, विधि र नेतृत्व व्यवस्थापनका लागि केन्द्रले गरिरहेको पहल बुझ्न सक्नुपर्छ ।’
आगामी पुस २३ गते एमालेले देशका ७७ वटै जिल्लामा अधिवेशन गर्दैछ । यसअघि गरिएका वडा अधिवेशनदेखि पालिकासम्म मात्रै होइन केन्द्रीय महाधिवेशन समेत एमालेले सर्वसम्मत नेतृत्व चयनको विधि स्थापित गर्न खोज्यो । ‘नेपालगन्जमा सबै कार्यकर्ता एकातिर नेतृत्व अर्कोतिर हुँदा पनि सर्वसम्मत नेतृत्व चयन गरेको उदाहरणलाई बिर्सिनु हुँदैन’, ती केन्द्रीय सदस्यको तर्क थियो, ‘यो बेला पार्टीलाई कसरी निर्विवाद ढंगले उभ्याउने भन्ने विधिमा एमाले चलिरहेको छ ।’
त्यसो हो भने यतिबेला बाँके जिल्लाको नेतृत्वमा जिल्ला अध्यक्ष निरक गुरुङ्ग, उपाध्यक्ष किस्मत कुमार कक्षपति र सचिव रत्न खत्री सम्भावित अध्यक्षका बलिया दाबेदार देखिन्छन् । ‘सबैको यथोचित व्यवस्थापन हुने गरी जिल्ला नेतृत्वको चयन प्रक्रिया सफल हुनेछ’, जिल्ला पार्टी सहइन्चार्ज समेत रहेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले दैनिक नेपालगन्जसँग भने, ‘चर्चा, चासो र बहस स्वभाविक हो, एमाले ठूलो र सक्षम पार्टी रहेकाले नेतृत्वका धेरै दाबेदार हुनुपनि अन्यथा होइन ।’
नेकपा एमालेका लुम्बिनी प्रदेशका लागि पार्टी केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नेतृत्व व्यवस्थापनका लागि प्रदेशका १२ वटै जिल्लामा आवश्यक कसरत गरिसकेको सम्बद्ध स्रोतको दाबी छ । ‘बाँकेको हकमा अहिलेका पदाधिकारीहरुबाटै नेतृत्व चयन र बाँकीको व्यवस्थापन निर्णय हुने कुरामा कुनै शंका छैन’, पार्टी स्रोतको भनाइ छ, ‘अरु दाबेदारी भनेका चर्चामा आउने वा अरु पदमा बार्गेनिङ्गका लागि हुनु पनि स्वभाविक हो ।’
जिल्ला अधिवेशनका लागि आगामी पुस १७ गते बाँकेका ८१ वटै वडाबाट प्रतिनिधि छनोट गरिंदैछ । त्यहाँ छनोट हुने प्रतिनिधिको अनुहारका आधारमा नेतृत्वका दाबेदारी र उम्मेदवारीका खास चर्चा सुरु हुने देखिन्छ । ‘अहिले त बोल्यो कि पोल्यो’, आफुलाई अध्यक्ष नै दाबी गरिरहेका एक नेताको भनाइ थियो, ‘प्रतिनिधि छनोटले पनि उम्मेदवारको अनुहार उज्याल्याउने छ ।’