बाँके, बर्दियामा झण्डै २ अर्ब लागतमा सडकका योजनाहरु प्रक्रियामा रहेका छन् । बहुबर्षिय योजनामा बनाइने उक्त सडक मध्ये २ वटाको टेण्डर भैसकेको छ भने बाँकी ३ वटाको इष्टिमेट तथा डिपिआर प्रक्रियामा रहेका छन् । डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख होमबहादुर एसीले बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा १० किलोमिट र बर्दियाका दुई वटा निर्वाचन क्षेत्रमा २५ किलोमिटर सडक योजनामा रहेको जानकारी दिएका छन् ।
बाँके क्षेत्र नं. ३ को गणेशमानचोक–गौघाट–परसपुर सडक खण्ड १० किलोमिटर नाली सहित कालोपत्रेका लागि टेण्डर भैसकेको छ । डिभिजन सडक कार्यालयका अनुसार, उक्त सडकका लागि बहुबर्षिय योजनामा २५ करोड बजेट रहेको छ । त्यस्तै बर्दियाको क्षेत्र नं. २ मा १५ किलामिटर सडकका लागि ४० करोड बजेट रहेको छ । बहुबर्षिय योजनामा बन्ने उक्त सडकखण्डा घोरपिट्टा–बनियाभारको हो ।
डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख एसीले टेण्डर भएपनि सम्झाताका लागि अझै अढाई महिना अवधी लाग्ने जानकारी दिएका छन् । ‘जंगल क्षेत्र नभएको र साइट क्लियर भएकाले सम्झौता भएपछि बाँके क्षेत्र नं. ३ को सडक निर्धारित २८ महिना र बर्दिया क्षेत्र नं. २ को सडक ३३ महिना भित्र बनाइसक्ने लक्ष्य राखिएको छ’, उनले भने । उक्त दुवै सडक खण्ड नाली सहित १२ मिटरको बन्नेछन् । जसमा प्रिमिक्स कालोपत्रे ७ मिटरको हुनेछ ।
बाँके क्षेत्र नं. १ अन्तर्गत अगैयादेखि नरैनापुर जोड्ने १६ किलोमिटर सडकखण्डको १० किलोमिटर सडक पनि सडक विभागको योजनामा रहेको छ । उक्त सडक खण्डका लागि बजेट सीमा २५ करोड रुपैयाँ रहेको छ । अगैया–नरैनापुर सडकखण्डको डिपिआर बनिरहेको छ । त्यस्तै, बाँके क्षेत्र नं. २ डुडुवादेखि एयरपोर्ट जोड्ने १० किलोमिटर सडकका लागि पनि २५ करोड बजेट सीमा रहेको छ । उक्त सडक खण्डको डिपिआर भएर इष्टिमेट तयार भैरहेको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख एसीले जानकारी दिए । कम्दीदेखि राँझासम्मको उक्त सडकखण्डपछि चालु आ.व.मै टेण्डरको तयारीमा रहेको छ । त्यस्तै, बर्दियाको पञ्चबजार–फुटाहा–जमुनी गौघाटको पनि डिपिआर भएर इष्टिमेट भैरहेको सडक विभागले जानकारी दिएको छ ।
यसअघि रहेको केपी ओली नेतृत्वको सरकारले देशभरी १ सय ६५ वटा रणनैतिक सडक उद्घाटन गरेको थियो । सोही अनुसार, बहुबर्षिय सडकका लागि १ करोड २० लाख देखि ४ करोडसम्म पहिलो चरणमा बजेट विनियोजन गरिएको छ । चालु आर्थिक बर्षको पाँच महिना बितिसकेको र सबै सडकको टेण्डर नभएकाले आगामी आ.व.मा थप बजेट विनियोजन हुने अपेक्षा राखिएको छ ।
तत्कालीन सरकारले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र मात्रै योजनामा परे ६० करोड, दुई वटा क्षेत्र परे ४० करोड र तीन वटा क्षेत्र परे २५ करोडका दरले बजेट विनियोजन गरेको थियो ।
बाँके र बर्दियाको सडक योजना तयार भएपछि बाँके र बर्दिया जोड्ने बैकल्पिक राजमार्ग बन्नेछ । सडक निर्माण सुरु भएपछि विवाद नहोस् भनेर सडक विभागले यसअघि नै स्थानीय तहसँग त्यसको क्लिरियन्स लिएको छ भने जंगल क्षेत्रमा काम गर्ने योजना बनाएको छैन ।
नेपालगन्जबाट बर्दिया गुलरिया हुँदै राजापुर–टिकापुर कैलालीतिर जाने हुलाकी राजमार्ग तथा कोहलपुर हुँदै बर्दिया–पश्चिम तर्फको पूर्व पश्चिम राजमार्गले जोडेको दुई जिल्लाको स्तरीय सडकमार्गलाई नेपालगन्ज–परसपुर–गौघाट हुँदै बर्दिया बढैयागाउँपालिका हुँदै गुलरिया सडक जोड्ने नयाँ बाटोले दुई जिल्ला बीचको सम्बन्ध समेतलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ । मुख्य सडकमा हुने चाप समेत वैकल्पिक सडकले घटाउने विश्वास स्थानीयको रहेको छ । यसअघि सडक क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिले समेत सडक निर्माण सुरु भएपछि अवरोध नहोस् भनेर पटकपटक अनुगमन र स्थानीय स्तरमा भेला समेत गर्दै आएका थिए ।
धम्बोझीदेखि मैनापोखरसम्म डिपिआर हुँदै
नेपालगन्जको धम्बोझीचोकदेखि बर्दियाको मैनापोखरसम्मको सडक स्तरोन्नतीका लागि डिपिआर भैरहेको सडक विभागले जानकारी दिएको छ । डिपआर पछि आवश्यकता अनुसार सडक क्षेत्रफल तय हुने सडक विभागले बताएको छ ।
नेपालगन्ज–गुलरिया सडक खण्डका लागि अहिले १३ करोड रुपैयाँ बजेट रहेको छ । यद्यपि, खजुरा खण्ड अहिले निर्माण भैरहेको छ । त्यसबाहेकको सडक खण्डको डिपिआर भैरहेको हो । १३ करोड बजेट मध्ये खजुरा–गुलरिया सडक खण्डको यसअघिको दायित्व ६ करोडको हाराहारीमा दायित्व रहेकाले बाँकी रकमबाट काम सुरु हुने डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख होम बहादुर एसीले जानकारी दिएका छन् ।
‘प्रयास सफल भयो’

बाँके क्षेत्र नं. ३ सांसद नन्दलाल रोकायले निकै लामो प्रयासले मात्रै गणेशमानचोक–गौघाट–परसपुर सडक खण्ड १० किलोमिटर सडक खण्डको टेण्डर भएको बताएका छन् । बिहीबार दैनिक नेपालगन्जसँग कुरा गर्दै सांसद रोकायले निर्वाचित भएको पहिलो बर्षदेखि नै सडक स्वीकृत गराएपनि विभिन्न प्रक्रियाका कारण निकै ढिलो गरी टेण्डर भएको बताए ।
‘विकास निर्माणका कार्यका लागि निकै लामो प्रक्रिया र दौडधुप गर्नुपर्दो रहेछ’, सांसद रोकायले दैनिक नेपालगन्जसँग भने, ‘पहिलो र दोस्रो बर्ष १÷१ करोड र तेस्रो बर्ष ४० लाख रुपैयाँ सडकका लागि छुट्याइएको थियो ।’ ‘सडकको डिपिआरमै दुई बर्ष बित्यो, म आफै वातावरणीय परीक्षण तथा डिपिआर कार्यका लागि बाँकेदेखि बर्दियाका स्थानीय तह र वडासम्म धाए’, उनले भने, ‘सडक विभाग र मन्त्रालय पटकपटक धाएपछि बल्ल सडकको टेण्डर भएको छ ।’ उनले सडक निर्माण सुरु भएपछि आफ्नो क्षेत्रमा अवरोध आउन नदिने र आएमा त्यसको समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सांसद रोकाय गत साउनमै टेण्डर हुने सडक सरकार परिवर्तन भएपछि ढिलाई भएको बताए । ‘अब दु्रत गतिमा सडक अघि बढाउन सरकारले प्रर्याप्त बजेट विनियोजन गर्नुपर्दछ, त्यसका लागि म सदैव प्रयासरत् रहनेछु’, उनले भने ।