
कुनै समय भारतमा ब्रिटिशहरुले गरेको झण्डै दुईसय बर्षको औपनिवेशिक राजको अन्त्यको लागि त्यहाँको स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेका मोहनचन्द करमचन्द गान्धीले स्वराजको कुरा गर्थे । तर त्यो आन्दोलनले स्वराजको अर्थ ब्रिटिशराजबाट उन्मुक्ति र भारतीयहरुको शासनको रुपमा मात्रै अथ्र्यायो । आज भारतको स्वराज भनिएको आन्दोलन सफल भएको पनि पचहत्तर बर्ष भैरहेको छ । यो पचहत्तर बर्ष मध्ये यदि बिगतको सात बर्षलाई अलग्याएर हेर्ने हो भने त्यहाँ वास्तविक स्वराज आयो भन्ने कुनै ठोस आधार नै छैन । उहि ब्रिटिशकालिन लर्ड मेकालेको शिक्षा पद्धति, उहि कानून, उहि अँगे्रजीकरणको दासता, उहि भारतीयतालाई असभ्य भन्ने भाष्यको निर्माणले भारतमा स्वराजको सपना देख्नेहरु बिलखबन्दमा नै परेका छन् । भारतीय सँस्कृति, भारतीय मूलकुल धर्म भाषा र सभ्यतालाई गाली गरेर राजनीतिको ताजपोशीमा रमाएको नेतृत्वबर्गले जतिसुकै स्वराजको ढोल पिटेपनि आजपर्यन्त वास्तविक स्वराज प्राप्त भएको छैन । भारतस्वराजको मार्गमा राजनीतिक सत्ता हस्तान्तरणको सातदशक पछि बल्ल अलिअलि हिँड्न खोजेको छ ।
संसारभरिका धेरै देशहरुमा स्वराजको आन्दोनहरु नभएका पनि होइनन् तर यस्ता आन्दोलनहरुबाट स्वराजको खोल ओढेर आयातितहरुले सत्ता कब्जा गरे । सत्ताको शक्तिमा बसेर स्वराजका अंङ्ग प्रत्यङ्गहरु काटिरहँदा स्वराज, सार्वभौमिकताको परिभाषा नै गलत रुपमा त्यहाँका जनता सामु पेश गरे । जनता त्यहि वैचारिक महाजालमा फसेर आफ्नै मूलभूमिमा आधुनिक दासको रुपमा बाँच्न बाध्य भएका छन् ।
त्यस किसिमको एउटा देश मध्ये हो हाम्रो देश नेपाल । नेपालमा स्वराजको स्वाधिनताको र सार्वभौमिकताको आन्दोलन या जागरण बडामहाराज पृथ्बीनारायण शाहका पालामा मात्रै भएको होे । त्यसयता नेपालको मूलभूमि नै छिमेकीको कित्तामा पार्ने योजना बनेपछि उनै बडामहाराज पृथ्बीनारायण शाहका सन्तान राजा महेन्द्रले सार्वभौमिकताको अगुवाई गरेका थिए । यी दुई कालखण्ड बाहेक नेपालमा स्वराज या स्वाधिनता या सार्वभौमिकताको जागरणको अर्को मान्ने सकिने प्रमाणिक अवस्था कहिल्यै रहेको छैन ।
राज्यलाई निश्चित जातजाति वा कबिलाई बिर्ता मान्नेहरुले कहिल्यै पनि वैविध्यतामा विश्वास नै गरेनन् । आफ्नोलाई गाली गरेर, आफ्नो मूल कुलधर्म सँस्कृति भाषा सभ्यता र मौलिकतालाई पाखण्ड, अविकसित, कामनलाग्ने जस्ता तुच्छ वचन बोलेर विदेशी आतातयीहरुको धर्मसँस्कृति भाषा र सभ्यताको पक्षपोषण गर्नेहरुले स्थानीयतालाई, अपनत्वलाई सधैं किनारामा पारिरहे । तिनीहरुले नै नेपाली सार्वभौमिकताका कुराको भ्रमपूर्ण जालो बिछ्याउन छोडेनन् । आतातायीहरुको सिद्धान्त, वाद, प्रतिमान, आर्दशलाई जपेर नेपाली समाजमा वैचारिक जालो फालिरहे र आज पर्यन्त पनि जारी छ ।
नेपाली मौलिकतालाई अस्वीकार गर्नु, जातजाति, भाषाभाषी, प्रकृति र मानव अनि मानव मानवबीचको सहृदयतालाई भत्काउनुलाई नै स्वतन्त्रताको नाम दिए । भौगोलिक विविधता भित्र रहेको सामिप्यता र आत्मीयतामा कित्ताकाट र घृणावादको राँको बालेर नेपालको हितरक्षाको भ्रम बाँडिरहे । देशको वास्तविक आवश्यकतालाई नजअन्दाज गर्दै विदेशीको उत्पादनहरुको बजार नेपाललाई बनाइरहे । मौलिक बिउबिजन, वनस्पति , कलासीप देखि उत्पादन व्यवस्थालाई क्षतबिक्षत बनाएर मासेर बिकास समृद्धि र आत्मनिर्भरताको भ्रमपूर्ण जाल आजसम्म पनि बाँडि रहेका छन् । नेपालको वर्तमान सत्ता र बिद्रोहका वरिपरी रहेकाहरुको सबैभन्दा बैमानीपूर्ण कर्तूत नै यहि हो ।
वर्तमान नेपालमा बिकासको आधार, राजनीतिक रुपमा विदेशी सिद्धान्त आर्दश र वादलाई मानिँदै छ, नीति निर्माणमा विदेशीको खटनपटनलाई मानिएको छ भने आर्थिक रुपमा विदेशीको साहुकारको रकमलाई देशमा लगानीमा लाउनु र जनताको करबाट उनीहरुलाई ब्याजतिर्नुलाई मात्रै मानिएको छ । आज नेपालले आफ्नो बलबुतामा केहिपनि गर्न नसक्ने भाष्य निर्माण गर्ने र नेपालको अस्मिता नै बन्धकी राख्ने दौडमा तँछाडमछाड भैरहेको छ । यसले नेपालका खेतखलियानहरु बञ्जर मात्रै बनेका छैनन् नेपालीहरुको दौड आफ्नो नीति, नैतिकता, मौलिकता, इमानधर्म सबै बेचेर पनि विदेशीको बजारमा परिणत भैरहेको छ ।
आज नेपालको शिक्षा नेपाली आवश्यकता भन्दा बाहिर राखिएको छ । युवाहरुमा आफ्नोपन आफ्नो इतिहास आफ्नो भूमि प्रति घृणाको बीऊ रोपिएको छ । देशमा के नै पो छ र ? भन्ने भाष्य निर्माण गराएर सम्पूर्ण नेपालीत्व नै खतरामा पारिनु नै विकास र समृद्धि, आधुकिता र सभ्यता भएको भ्रम फैलाइएको छ । अतिउपभोक्तावादको शिकारमा सधैं अभावको चुचुरो बनाएर नेपाली मनलाई आक्रमण गरिएको छ । यसैको जगमा भ्रष्टाचारको डङ्गुरहरु निर्माण गरिएका छन् ।
संसारमा शक्तिशाली भनिएका देशहरुले आफु सधैं त्यहि अवस्थामा रहिरहन र आफ्नो शक्तिलाई स्थायित्व दिनका लागि आफ्नो इतिहास खोतल्दै छन् । आफ्नो देशको मौलिकताको रक्षाको लागि नीति बनाइरहेका छन् । देश प्रथम, आफ्नोपन प्रथमको कुराले राजनीतिको मार्ग तय गर्न थालेको छ । तर नेपालमा को बढि विदेशवादी बन्ने भन्ने होडबाजी छ । नेपाललाई कहिले सिंगापुर, कहिले स्वीटजरल्याण्ड, कहिले मस्को, कहिले बेइजिङग त अहिले कताकता न्यूयोर्क बनाउने कुरा गरेर नेपाली युवाहरुको मनमनमा विदेशी भूमिको व्यवस्था र आस्था प्रति बलियो गराउने काम भएको छ । नेपालीहरुको मौलिक चिजहरु गुन्द्रुक, डल्ले खुर्सानी र छाँङ्को पेटेण्ड राइटसम्म लिन नसक्नेहरुले यो बनाउँछु र त्यो बनाउँछु भनेको पनि कत्ति सुहाँउदैन । नेपाललाई त कहिल्यै पनि नेपाल बनाउने कुरा कुनै राजनीतिक दलले गरेनन् । कुनै विकास र समृद्धिका कथाकुथी लेख्ने र स्तुति गर्नेहरुले गरेनन् । आजपनि नेपाल बनाउने कुरा गर्नेहरु असभ्य अविकसित र पाखण्डी देख्नेहरु यिनै पार्टीहरुका नेतृत्वमा रहेका छन् । प्रजातन्त्र लोकतन्त्रका नाममा विदेशी धर्म सँस्कृति प्रचारकहरुको ताजपोशी भैरहँदा कार्यकर्ताहरुको वाहवाही भैरहेको छ । यो भन्दा दासता र औपनिवेशिक मानसिकताको पराकाष्टा अरु केहि हुनसक्दैन ।
स्वतन्त्रता के हो त ? के कसैलाई तथानाम भन्न पाउनु स्तन्त्रता हो ? के नेपालको मूल कुलधर्म सँस्कृति भाषा र सभ्यतालाई गाली गलौच गर्दै विदेशीको वाद आर्दश सँस्कृतिलाई जबरजस्ती लाद्न पाउनु स्वतन्त्रता हो ? के विकास र समृद्धिको नाममा नेपालको ज्ञान परम्परालाई नष्ट गर्नु स्वतन्त्रता हो ? के नेपालीलाई सधैं ढाँट्नु नै स्वतन्त्रता हो ? के जातजाति भाषाभाषि, क्षेत्रका आधारमा कित्ताकाट र घृणावादको आँधिबेहरी ल्याउनु नै स्वतन्त्रता हो त ? यस्ता कुनैपनि कुराले स्वतन्त्रताको प्रतिनिधित्व गर्दैन । स्वतन्त्रता भनेको त वैविध्यताको यो नेपाली समाजमा यहाँको मूलकुल धर्म सँस्कृतिको अग्राधिकार सहितको मौलिक राजनीति, मौलिक शिक्षानीति नेपाली भएर सोच्ने नेपाली भएर नेपालको आवश्यकताको आधारमा योजना बनाउने अधिकार स्वतन्त्रता र स्वराज हो ।
हामी त्यतिखेर मात्रै सार्वभौमसत्ता सम्पन्न भएका हुनेछौं जब नेपालको ज्ञान परम्पराको चर्चा संसारमा हुनेछ । हरेक नेपालीलाई नेपाली भएकोमा गर्व हुनेछ । नेपालका मूल धर्महरु हिन्दू, बौद्ध, जैन, किराँत र बोनको मूलभूमि भनेर नेपाललाई संसारले चिन्नेछ । हामीले संसारभरिबाट यी धर्मका अनुयायीहरुलाई तिर्थाटनका लागि नेपालमा सगर्व आमन्त्रण गर्ने स्थितिमा हुनेछौं । त्यो बेला नेपाल संसारको केन्द्रको रुपमा स्थापित हुनेछ र नेपालको मौलिकताले स्वतन्त्र सार्वभौमिकताको जरो बलियो बनाउने छ ।
नेपाललाई जताततैबाट चिथोरेर छियाछिया बनाउने र नेपालको मूल धर्मसँस्कृति भाषा र सभ्यतालाई मासेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित देख्ने दुष्ट चरित्रले नेपालको कहिल्यै भलो गर्न सक्दैैन । नेपालका वर्तमान राजनीतिक पार्टीहरु र नेतृत्वको सबैभन्दा ठूलो दरिद्रता र दुर्दशाको अवस्था नै यहि हो । अब पनि राजनीतिक नेतृत्वले इमान्दारीताका साथ लागेन भने साँस्कृतिक पहिचान बीनाको भूमि रहेर हुने समृद्धि या लोकतन्त्रले न त कुनै स्वतन्त्रताको प्रतिनिधित्व गर्नेछ न हाम्रो सार्वभौमिकता हामीसँग रहेको हुनेछ । आफ्नै इतिहासमा गर्व गर्न नपाउने स्वतन्त्रता, आफ्नो मौलिकता समेत आफ्नो नभएको सार्वभौमसत्ताको स्वराजबीनाको मात्रै हुनेछ ।