कारागारमा कोचाकोच, खुला कारागार बन्यो, कार्यान्वयनमा आएन

बाँकेको गनापुरमा खुला कारागार बनेर तयार छ । कारागार बनेपनि प्रयोगमा भने अझै आउन सकेको छैन । कारागार व्यवस्थापन विभागले कृषि फार्ममको ६ विगाह जमिनमा बनाएको खुला कारागार निर्माण भैसक्दा पनि प्रयोग नआउनुको कारण कार्यविधि नबन्नु हो ।
विभागले नमूनाका रुपमा गनापुरमा पहिलो नमूना खुला कारागार निर्माण गरेको हो । करिब पौने दुई करोडको लागतमा बनाइएको खुला कारागार परिसरमा दुई वटा बन्दी गृह सहित चार वटा भान्सार घर पनि बनेको छ । ३६ कोठा कारागारमा रहेका छन् ।
‘कार्यविधि नहुँदा तत्कालै खुला कारागार सञ्चालनमा ल्याउन नसकेका हौं’, कारागार कार्यालय नेपालगन्जका प्रमुख रामकुमार सोनकर भने, ‘कार्यविधि बनेपछि खुला कारागार कार्यान्वयनमा आउने छ ।’
खुला कारागारमा तत्कालका लागि ३२ जना कैदी राख्न मिल्छ । प्रशस्त जग्गा रहेकाले थप पूर्वाधार निर्माणको सम्भावना पनि रहेको छ । अहिले नेपालगन्ज कारागारामा कैदीबन्दीको कोचाकोच रहेको अवस्थामा यसले थोरै भएपनि राहत मिल्न सक्छ ।

कसका लागि खुला कारागार

खुला कारागारमा जुनसुकै कैदी बस्न भने पाउँदैनन् । थोरै सजाय भएका, आचारण ठिक भएका कैदीबन्दीले खुला कारागारमा बस्न पाउँछन् ।
खुला कारागारमा बस्ने कैदीबन्दीले कारागार बाहिर गएर काम गर्न पाउँछन् । विहान कारागार बाहिर गएर काम गर्ने र साँझ कारागार फर्किएर कारागारमा बस्नुपर्ने हुन्छ । उनीहरुलाई पारिवारिक सम्पर्क र भेटघाट पनि सहज हुन्छ ।

३ सय ५० क्षमता ८ सय १४ कैदीबन्दी

नेपालगन्ज कारागार ३ सय ५० जना क्षमताको हो । पुरुष ३ सय र महिला ५० कैदीबन्दी राख्न बनाइएको कारागारमा हाल ८ सय १४ जना पुरुष कैदीबन्दी रहेका छन् । ‘कोरोनाको संक्रमणका बेला महिला कैदीबन्दीलाई सारेर त्यहाँ नयाँ आउने कैदीबन्दीलाई राख्ने गरिएको थियो’, कारागार कार्यालय नेपालगन्जका प्रमुख राम कुमार सोनकरले भने । कोरोना संक्रमण नयाँ कैदीबन्दीबाट पुरानामा नसरोस् भनेर कारागार कार्यालयले महिला कैदीबन्दी राख्ने कक्षलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्दै आएको छ । अहिले पनि महिला कैदीबन्दी आए एक÷दुई दिन राखेर अन्यत्र जिल्ला पठाउने गरिन्छ ।
‘महिला थुनुवालाई बर्दिया र कैदीलाई सुर्खेत लगायतका जिल्लामा तत्कालै स्थानान्तरण गर्दै आएका छौं’, कारागार प्रमुख सोनकरले भने ।
झण्डै तेब्बर पुग्न लागेको कारागारमा व्यवस्थापन निकै चुनौतिपूर्ण भएको छ । कारागार भित्रै अस्थायी संरचना बनाएर कैदीबन्दीको व्यवस्थापन हुँदैछ । तर, कैदीबन्दी बढ्दै गएकामा थेग्न सक्ने अवस्था रहँदैन । बर्षात् र चिसो मौसममा कैदीबन्दीलाई सुत्न नै समस्या हुने गरेको छ । कारागारमा हुनुपर्ने आधारभूत सेवाबाट समेत क्षमताभन्दा बढी हुँदा वञ्चित रहेका छन् ।
मानवअधिकारवादी संघ, संस्थाले पटकपटक कारागारको अनुगमन गरेर व्यवस्थापन गर्न, उनीहरुको आधारभूत सेवाको प्रत्याभूतिका लागि ध्यानाकर्षण गराउँदै आएका छन् । तर, कारागार प्रशासनले त्यसको प्रत्याभूति उचित रुपमा गर्न सकेको छैन । ‘कैदीबन्दीका पनि अधिकार रहेका छन्, त्यसैले मापदण्ड अनुसार कारागार सञ्चालन हुनुपर्छ, उनीहरुको मानवअधिकारको संरक्षण हुनुपर्दछ’, अधिकारकर्मी बसन्त गौतम भन्छन् ।
कारागारमा ओढ्ने कपासको समेत कमी हुँदा चिसो मौसममा एउटै ओढ्ने कपडामा ३÷४ जना कोचिएर बस्नुपर्ने अवस्था रहेको छ ।
हालै कारागारको अधिकारकर्मीको अनुगमनका क्रममा कारागारका चौकीदार खिम सुनारले कैदीबन्दीहरुको अधिकारको विषयमा संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागु नभएकोले त्यसलाई छिटो भन्दा छिटो व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । उनले खेलकुदको सामाग्रीहरुको अभाव भएको, कैदीबन्दीहरु क्षमता भन्दा बढि भएकोले भिडभाड धेरै भएकोले निर्माणाधिन अवस्थामा रहेको कारागार छिटो निर्माण गरी स्वच्छ बाताबरणमा बस्न पाउनु पर्ने बताएका थिए ।

चैत्रसम्म बन्ला त क्षेत्रीय कारागार

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बन्न लागेको क्षेत्रीय कारागार निकै सुस्त गतिमा निर्माण अघि बढी रहेको छ । क्षेत्रीय कारागार निर्माणका लागि २०७३ कार्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २ सय ८१ रूपैयाँमा ठेक्का लगाइएको थियो । तीन वर्षभित्र सम्पन्न हुनेगरी ठेक्का लगाइएपनि पाँच बर्ष हुँदा पनि निर्माण कार्य नसकिएको हो । कोरोना लगायतका कारण देखाउँदै निर्माणको म्याद थपिंदै गएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालयबाट निर्माण कार्य अघि बढेको उक्त क्षेत्रीय कारागार निर्माण निकै ढिला भएको हो ।
गत शनिबार निर्माणाधिन क्षेत्रीय कारागारको अवलोकन गरेकी सहरी विकास मन्त्री राम कुमार झाँक्रीले चैत्र भित्र नै पहिलो चरणको काम सक्न निर्देशन दिएकी छन् ।
कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तिन सय जना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनीक भवन, भान्सा, आठ वटा जेल युनिट लगायत विभिन्न २५ वटा संरचना निर्माण हुनेछ । हालसम्म पहिलो चरणको ४५ प्रतिशत मात्रै काम सकिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैदानीले जानकारी दिएका छन् ।
नेपालगन्ज कारागार कार्यालयका प्रमुख राम कुमार सोनकरले क्षेत्रीय कार्यालय सञ्चालनमा आएपछि कैदीबन्दीको चाप कारागारमा नहुने विश्वास व्यक्त गरे । ‘क्षेत्रीय कारागारको प्रथम चरण चैत्र भित्र सकिने जानकारी पाएका छौं, त्यसपछि कैदीबन्दीको व्यवस्थापन सहज हुनेछ’, नेपालगन्ज कारागार प्रमुख सोनकरले भने ।
क्षेत्रीय कारागारमा प्रथम चरणमा १ हजार ५ सय र दोस्रो चरणमा थप १ हजार ५ सय कैदीबन्दी राख्न सक्ने पूर्वाधार निर्माण हुनेछ ।
ठेक्काको जिम्मा पाएको रसुवा÷पप्पु जेभिले समयमा काम सम्पन्न गर्न नसक्नु र पप्पु कन्स्ट्रक्सनलाई कारवाही हुँदा रसुवा जेभिले एक्लै कामलाई अगाडी बढाई रहेको हो । जसले गर्दा पनि काम ढिला भएको हो । ०७७ कार्तिक ७ गतेसम्म निर्माण सक्ने लक्ष्य रहेको भएता पनि कोरोनाका कारण काममा ढिलाई भएको निर्माण कम्पनीले बताएको छ ।
ठेक्का पाएको शुरुवाती दिनहरुमा पप्पु कन्स्ट्रक्सनले राम्रो संग काम नगर्दा करिब दुई बर्ष काम ढिला भएको हो । पछि रसुवा जे.भिले टेक ओभर गरेपछि काम तिब्र गतिमा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया