सीमापार अपराध नियन्त्रण केन्द्रीत दुई देशका सुरक्षा अधिकारी

नेपाल–भारत सीमा बृहत समन्वय बैठक नेपालगन्जमा

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुई देश बीचका अधिकारीहरु आपसी सहकार्यमा सहमत भएका छन् । बुधबार नेपालगन्जमा भएको नेपाल भारत सीमा बृहत समन्वय बैठकमा सहभागी दुई देशका स्थानीय उच्च अधिकारीहरुले सीमापार अपराध नियन्त्रणका लागि संयुक्त प्रयासका लागि सहमत भएका छन् ।

स्थानीय स्तरमा दुई देश बीचका सीमा अधिकारी समन्वय बैठक गरिंदै आएपनि पहिलो पटक बृहत समन्वय बैठक गरिएको हो । ‘गृह मन्त्रालयसँगको स्वीकृतिमा यसपटकको बृहत बैठक आयोजना भएको हो’, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले पत्रकारहरुसँग भने, ‘विशेषत दुई देशका अधिकारीहरुले आ–आफ्ना प्राथमिकता टेबल गर्ने र त्यसमा दफावार छलफल गरी समाधान पहलका लागि समन्वय गर्ने निर्णय गरिएको छ ।’

खासगरी भारतको विहार र उत्तरप्रदेश राज्यसँग जोडिएका नेपालका तराई जिल्लाका सुरक्षा अधिकारीहरुसँग भारतीय समकक्षीले यसखालको बृहत समन्वय बैठक अपेक्षा गरेका थिए । त्यसका आधारमा गृहमन्त्रालयले पश्चिम नवलपरासीदेखि कञ्चनपुरसम्मका आठ जिल्लाका जिल्ला स्थित सुरक्षा अधिकारीहरुसँग भारतीय समकक्षी यूपी र विहारका सात जिल्लाका उच्च अधिकारीहरुको बृहत समन्वय बैठक आयोजनाको वातावरण बनाएको हो ।

सीमामा बढ्दो सुरक्षा संवेदनशीलता नै दुवै पक्षका प्रमुख सवाल

सुर्य बहादुर खत्री
प्रजिअ, बाँके

आगामी फेबु्रअरीमा भारतका यी दुवै राज्य संसदीय निर्वाचन तयारी गर्दैछ । ‘सुरक्षा संवेदनशीलता बढ्दै गएकाले समकक्षी नेपाली अधिकारीहरुसँग सीमा कडाई गर्न र निगरानी बढाउन आवश्यक वातावरण बनाउनका लागि यो बैठक अनुरोध गरेका थियौं’, एक भारतीय उच्च सुरक्षा अधिकारीहरुले दैनिक नेपालगन्जसँग भने, ‘खुला सीमाना भएका कारण दुवै देशका सुरक्षा संवेदनशीलताका सवाल यसखालका बैठकले सम्बोधनका लागि निकै सहयोगी साबित गर्छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सीमामा बढ्दो सुरक्षा संवेदनशीलता नै दुवै पक्षका प्रमुख सवाल भएको औंल्याए । ‘भारतीय सुरक्षा अधिकारीहरु आफ्ना राज्यमा हुने निर्वाचन कसरी शान्तिपूर्ण बनाउने र त्यसलाई नेपालको तर्फबाट कसरी सहयोग प्राप्त हुनसक्ने भन्नेमा केन्द्रित रहे’, खत्रीले पत्रकारहरुसँग भने, ‘हामी हाम्रा सवालमा केन्द्रित रह्यौं ।’

प्रजिअ खत्रीका अनुसार, सीमाना हुँदै आवतजावत गर्ने नेपालीहरुलाई सीमानाकामा दिइने सास्तीलाई नेपालका तर्फबाट उठाइएको छ । ‘लागु पदार्थ ओसारपोसार सेवन नियन्त्रणका लागि भारतीय सुरक्षा अधिकारीसँग सहयोग माग गरिएको छ’, प्रजिअ खत्रीले भने, ‘नेपालमा अपराध गरेर भारत तर्फ लुक्न जाने अपराधीलाई पक्राउको सहयोगका लागि भारतीय अधिकारीसँग आवश्यक समन्वयको अपेक्षा पनि हाम्रो रह्यो ।’ देश विरुद्ध हुने गतिविधि नियन्त्रणमा एकअर्कालाई सहयोग पुर्याउने सवाललाई पनि दुवै देशका स्थानीय अधिकारीहरुले प्राथमिकताका साथ उठाएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि नेपालले हेल्थ डेस्क नै राखेर एन्टिजेन्ट चेकजाँच र निगरानीलाई प्राथमिकतामा राखेको जानकारी पनि बैठकमा जानकारी दिएका थियो ।


सुरक्षा अधिकारीहरुको बैठकमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत आठ जिल्लाका सुरक्षा प्रशासनका प्रमुखहरु सहभागी थिए ।

त्यस्तै, भारत तर्फका सीमा सुरक्षा बल एसएसबीका ४३औं बटालियन कमाण्डर अमित सिंह, बलरामपुर डिएम श्रीमति श्रुति, पिलिभितका डिएम पुलकित खरे, बहराइचका डिएम दिनेश चन्द्र लगायत ७ जिल्लाका जिल्ला अधिकारी तथा प्रहरी प्रमुख, सीमा सुरक्षा बलका अधिकारीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया