‘राउण्ड टेबल’ मार्फत सामाजिक कार्यमा नेपालगन्जका युवा

संगठित रुपमा ‘राउण्ड टेबल’ मार्फत युवाहरुले एउटा विद्यालयमा पूर्वाधार सुधारका योजनाहरु अघि सारेका छन् ।

नेपालगन्जका युवाहरुको एउटा समूहले सामाजिक योगदानका लागि संगठित पहल सुरु गरेको छ । केही महिनायता ‘राउण्ड टेबल नेपाल’ नामक सामाजिक संस्थासँग जोडिएका उनीहरुले युवा सशक्तिकरणदेखि विद्यालय सुधारका लागि आफ्नो पहल अगाडि बढाएका हुन् । उनीहरुले पहिलो चरणमा नेपालगन्जको घरबारीटोल स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा भौतिक पूर्वाधार सुधारका लागि योगदान दिन थालेका छन् ।

‘धेरै काम गर्न सकिन्छ भन्ने नै हाम्रो ध्येय हो’, राउण्ड टेबल नेपाल, नेपाल च्याप्टरका अध्यक्ष अभय टण्डनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि विभिन्न पेशा, व्यवसायसँग जोडिएका ऊर्जाशिल युवाहरुलाई संगठित गर्र्दै अगाडि बढ्ने योजना बनाएका छौं ।’

त्यसक्रममा राउण्ड टेबल नेपालगन्ज च्याप्टरले पर्सी शनिबार ‘च्यारिटेबल स्पोर्टस् कम्पिटिसन’ आयोजना गर्दैछ । राउण्ड टेबलका वरिष्ठ सदस्य ऋषब अग्रवालले दिएको जानकारी अनुसार, विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्ध स्थापित गर्दै विद्यालय पूर्वाधार सुधारका लागि सहयोग जुटाउन ‘फुटसल कम्पिटिसन’ आयोजना गर्न लागिएको हो ।

विभिन्न पेशा, व्यवसायसँग जोडिएका ऊर्जाशिल युवाहरुलाई संगठित गर्दै अगाडि बढ्ने योजना बनाएका छौं ।

अभय टण्डन, अध्यक्ष
राउण्ड टेबल नेपाल
नेपालगन्ज च्याप्टर

‘विभिन्न आठ वटा टिम बीच लिग गेम गराएर दुई समूहबाट प्रथम हुनेबीच फाइनल खेल गरिनेछ’, आयोजना तयारीका लागि बुधबार साँझ बसेको बैठकपछि राउण्ड टेबल सदस्य अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘सात वटा टिमले नाम दर्ता गरिसकेको छ, बाँकीसँग पनि छलफल भैरहेको छ ।’

युवाहरुले चन्दा संस्कारलाई तोड्दै सिर्जनशील गतिविधि मार्फत सहयोग जुटाउन फुटसल आयोजना गरेका हुन् । राउण्ड टेबलका उपाध्यक्ष प्रतिक जलान, सचिव मानिक टण्डन, कोषाध्यक्ष गौरव डागा लगायतको कार्यसमिति नै विद्यालयको पहिलो चरणमा निर्माण गर्न लागिएको पाँच वटा सुलभ शौचालयका लागि आवश्यक पर्ने पाँच लाख रुपैयाँका लागि लागि परेको छ । शौचालय निर्माणको काम अगाडि बढिसकेको अध्यक्ष टण्डनले जानकारी दिए ।

‘अपुग रकम हामी आफै कार्यसमितिका सदस्यहरुले योगदान गर्ने निर्णयमा पुगेका छौं’, सदस्य अग्रवालले नेपालका धेरै जिल्लामा राउण्ड टेबल नेपालले युवाहरुलाई संगठित गर्दै सिर्जनशील सामाजिक गतिविधिका लागि प्रेरित गरिरहेको प्रसंग अघि सार्दै भने, ‘हामी पनि नेपालगन्जका युवाहरुलाई संगठित सामाजिक सेवाका मार्गमा प्रेरित गर्न चाहन्छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया