नेपालगन्ज : नचल्दै विवादमा छात्रा कलेज

नेपालगन्जको मंगल प्रसाद माध्यमिक विद्यालय छात्रा कलेज सञ्चालक समिति सम्बन्धी विवाद भित्रभित्रै चर्कन थालेको छ । नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयसँगको सम्झौता विपरित सञ्चालक समिति गठन गरेको भन्दै त्यसको विरोध हुन थालेको हो । ‘विद्यालयको पूर्व निर्णय विपरित राजनीति गर्न खोजिएको छ’, विद्यालय सम्बद्ध भन्छन् ।


मंगल मावि व्यवस्थापन समितिसँग उपमहानगरपालिकाले कलेजका लागि जग्गा लिंदा गरेको सम्झौता विपरित सञ्चालक समिति गठन गरेको भन्दै व्यवस्थापन समिति सँगै विद्यालय सम्बद्ध व्यक्तिहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । वर्तमान कलेज सञ्चालक समिति पूर्व निर्णय विपरितको रहेको भन्दै त्यस विरुद्ध कानुनी प्रक्रियामा जान समेत बाध्य हुने अवस्था आएको विद्यालय सञ्चालक समितिका सदस्य बताउँछन् ।
खासगरी मधेसी र मुस्लिम समुदायमा छात्राहरुलाई लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिकाले आफ्नै पहलमा छात्रा कलेज निर्माण गरेको हो । करिब ९ करोड लागतको छात्रा कलेज अहिले तयार अवस्थामा रहेको छ । उपमहानगरपालिकाले सल्यानीबागको विद्यालयलयलाई कन्या विद्यालयको रुपमा पठन पाठन सञ्चालन गर्दै कक्षा १२ सम्म पुर्याउने लक्ष्य राखेको छ । त्यहाँबाट पास हुने विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रा कलेजको नै व्यवस्था गर्दा विद्यार्थीहरुले पढाई छाड्नु नपर्ने, अध्ययन सहज हुँदै छात्रा कलेजको अवधारणा उपमहानगरपालिकाले अघि सारेको थियो ।

मंगल प्रसाद विद्यालय व्यवस्थापन समितिको २०७५ पुस २३ गते किताबुल निसा दर्जीको अध्यक्षतामा बैठक बसेर उपमहानगरपालिकाले मधेसी तथा मुस्लिम लगायतका छात्राहरुको उच्च शिक्षाका लागि कन्या क्याम्पस स्थापना गर्नका लागि विद्यालय हाता भित्रको जमिन उपलब्ध गराइदिन अनुरोध गरेकाले सशर्त जीर्ण छात्राबास रहेको क्षेत्रको जमिन उपलब्ध गराउने निर्णय गरेको थियो ।
तत्कालीन बैठकले कन्या क्याम्पसको भवन र त्यसले चर्चेको जमिन विद्यालयकै स्वामित्वमा रहने, रजिष्ट्रेशन पास गरेर नदिने, उक्त जमिनमा रहेका रुख, बिरुवा तथा भौतिक संरचना मंगल माविकै स्वामित्वमा रहने निर्णय गरेको थियो । बैठकले कुनै कारणले कन्या क्याम्पस सञ्चालन नभएमा तथा सञ्चालन पश्चात रोकिएमा सम्पूर्ण भौतिक संरचना विद्यालयकै स्वामित्वमा हुने निर्णय गरेको थियो ।


विद्यालय व्यवस्थापन समितिको बैठकले कन्या क्याम्पसको नामाकरणमा मंगल प्रसाद जोडिएकै हुनुपर्ने, क्याम्पस सञ्चालन विद्यालय व्यवस्थापन समितिद्वारा गर्ने निर्णय गरेको थियो । क्याम्पसले प्रयोग गर्ने बिजुली पानीको बिल क्याम्पसले नै तिर्नुपर्ने, क्याम्पसको कक्षा सञ्चालन समय बाहेक अन्य समयमा विद्यालयले कक्षाकोठाहरु कक्षा सञ्चालनमा प्रयोग गर्न सक्ने सर्त समेत जग्गा दिनु अघि राखेको थियो ।
नेपालगन्ज उपमहानगरपालिको २०७८ साउन १८ गते भएको कार्यपालिकाको बोर्ड बैठकले विजय गुप्ताको अध्यक्षतामा ११ सदस्यीय मंगल प्रसाद महिला कलेज सञ्चालन तथा व्यवस्थापनका लागि सञ्चालक समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितिका सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. नजमी ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता लगायत रहेका छन् । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुने व्यवस्था बोर्ड बैठकले गरेको थियो । यसैगरी नगर प्रमुख डा. धवल समशेर राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरेको थियो ।


तत्कालीन समयमा कन्या क्याम्पसका लागि जग्गा लिंदा सबै सर्त मानेको उपमहानगरपालिकाले पछि बेवास्ता गरेको आरोप विद्यालयको रहेको छ । पूर्व सम्झौता अनुसार नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई नसमेटेकाले समस्या आएको मंगल प्रसाद माध्यमिक विद्यालय सञ्चालक समितिका सदस्य सचिव सुशिल कुमार बर्मा बताउँछन् । ‘कन्या क्याम्पस सञ्चालक समिति गठन गर्दा विद्यालयलाई पुरै बेवास्ता गरिएको छ, यसको परिणाम भोग्न उपमहानगरपालिका तयार रहनु पर्दछ’, उनले दैनिक नेपालगन्जसँग भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश बहादुर सिंह विद्यालयको सम्पत्तिमा राजनीति गर्न नदिने बताएका छन् । ‘मेयर साबले राजनीति गर्नु भयो हामी त्यसको खिलापमा जान्छौं, यहाँ अर्को व्यवस्थापन समिति बन्दैन, पूर्व सहमति अनुसार यही विद्यालय व्यवस्थापन समितिले छात्रा कलेज हेर्ने हो’, उनले दैनिक नेपालगन्जसँग भने । ‘शिक्षा जस्तो पावन चिजमा शैक्षिक क्षेत्रकै योगदान दिएका व्यक्तित्वहरुलाई ल्याउनुको साटो सरोकार नै नभएकाहरुलाई ल्याएर व्यवस्थापन समिति बनाइएको छ’, अध्यक्ष सिंहले भने, ‘हामीलाई यो मान्य छैन, यसरी मनपरी हुन दिइन्न ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष २०७५ मा विद्यालय व्यवस्थापन समितिको निर्णय गर्दा त्यसमा पनि सहभागी थिए । कार्यपालिकाले कलेज सञ्चालनका लागि पूर्व निर्णय विपरित समिति गठन गरेको प्रश्नमा उनी भन्छन्, ‘विद्यालयसँग पूर्व सहमति भएको थियो, तर मेयर सा’बले राम्रो सोचेर नै अर्को समिति बनाउनु भएको होला ।’ त्यसबारे कानुन विपरित रहे सोही अनुसार विद्यालय अघि बढ्ने उनको धारणा थियो ।

नगर प्रमुख डा. धवल समशेर राणाले भने नामको सन्दर्भमा मात्रै विद्यालय व्यवस्थापन समितिसँग समझदारी भएको दाबी गरेका छन् । ‘उपमहानगरपालिकाले सम्पूर्ण दायित्व र जिम्मेवारी लिनेगरी छात्रा कलेज बनाएको हो’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘यसमा अरु तर्क गर्नुको कुनै अर्थ छैन, नगर पालिकाले गठन गरेको सञ्चालक समिति प्रति टिप्पणी आवश्यक छैन ।’

तयार भयो छात्रा कलेज, सम्बन्धन पखाई


नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको छात्रा कलेज सञ्चालनका लागि सम्बन्धको पर्खाइमा रहेको छ । कलेज बनेर तयार भई भौतिक पूर्वाधार समेत व्यवस्थापन गरएको छ । उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कलेज सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने केही कर्मचारी पनि राखेको छ ।


कलेज सञ्चालनका लागि सम्बन्धन लिनका लागि उपमहानगरपालिकाले पूर्व तयारी गरिसकेको उपमहानगरपालिकाद्वारा गठित कलेज सञ्चालक समितिका सदस्य रविन्द्र कर्ण बताउँछन् । उपमहानगरपालिकाले छात्रा कलेज सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयार गर्न हरि सुवेदीलाई जिम्मेवारी दिएको थियो । २०७८ साउन ४ गतेको बोर्ड बैठकको निर्णय अनुसार प्रतिवेदन तयार भएको छ ।

‘कलेज सम्बन्धनका लागि आवश्यक अन्य कागजात तथा पूर्वाधारको काम पनि गरिसकिएको छ’, सञ्चालक समिति सदस्य कर्णले दैनिक नेपालगन्जसँग भने । कलेज सञ्चालक समितिका सदस्य कर्ण सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भैरहेको र नगर प्रमुख सहितको टोलीले विश्वविद्यालय कुलपतिसँग भेटेर सम्बन्धनको आग्रह पनि गरिसकेको जानकारी दिएका छन् । ‘विश्वविद्यालयबाट सकारात्मक प्रतिक्रिया पनि पाएका छौं’, उनले भने, ‘सम्बन्धन आव्हान भएपछि प्रक्रियागत रुपमा निवेदन दिनेछौं ।’


छात्रा कलेजमा बिएड र सिएसआइटीको अध्यापन गराउन विश्वविद्यालयले मौखिक सुझाव पनि दिइसकेको कलेज सञ्चालक समिति सदस्य बताउँछन् । छात्रा कलेजमा बिबिएस समेत अध्यापन गराउन चाहेकाले सोका लागि पनि अनुमति दिन आवेदन दिने तयारी गरिएको बताइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया