कोहलपुरमा करोडौ लगानीमा ‘इश्वरा मल’

साढे ८ करोड लागतमा सपिङ्ग कम्प्लेक्स तयार हुन लागेको हो

बाँकेको दोस्रो ठूलो बजार कोहलपुरमा अत्याधुनिक सपिङ्ग कम्प्लेक्स बन्ने भएको छ । त्यसका लागि स्थानीय युवा व्यवसायी विश्व थापाले साढे आठ करोड बढी लगानी गरेका हुन् ।

‘नेपालगन्जपछिको ठूलो र राइजिङ सिटीका रुपमा विकसित हुँदै गरेको कोहलपुरका लागि यो मेरो ड्रिम प्रोजेक्ट हो’, एक दशकदेखि क्यानाडामा अध्ययनसँगै व्यवसायिक सीप हासिल गरिरहेका थापाले दैनिक नेपालगन्जसँग भने, ‘कोभिडका कारण सञ्चालनमा ढिलाई र लागत बढ्दा प्रोजेक्ट समयमा लन्च हुन सकेन ।’ उनका अनुसार, इश्वरा मल नाम दिइएको सपिङ कम्प्लेक्समा ३३ वटा छुट्टाछुट्टै व्यवसायिक प्रतिष्ठानका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ ।

‘यो तत्कालकालागि भन्दा दीर्घकालीन सोंचका आधारमा तयार गरिएको विजनेश कम्प्लेक्स हो’, आफ्नो सोंच भन्दा झण्डै ३ गुणा लगानी गर्नुपरेकोमा भन्दा समयमा इश्वरा मल सञ्चालनमा ल्याउन ढिलाइ भैरहेको चिन्तित युवा उद्यमी थापाले भने, ‘कोहलपुरका लागि एउटा उच्च स्तरीय आधुनिक व्यापारिक प्रविधि भित्र्याउने सोंचका साथ लगानी गरेको हुँ ।’

परियोजना सुरु गरेसँगै आएका तमाम चुनौति उनका अगाडि पहाड झै खडा भए । ‘प्रारम्भिक लगानीको इष्टिमेट दिने प्राविधिक देखि निर्माण सामाग्रीसम्मका अप्ठ्याराले समयमै कम्प्लेक्स सुरु गर्न सकिएन’, उनले भने । त्यसैबीच आफै कोभिडबाट थलिनु, मातृशोकमा पर्नु लगायतका थप पीडा उनका लागि व्यवसायिक गतिका अवरोध बने । ‘तरपनि कोहलपुरमा एउटा स्ट्याण्डर्ड मार्केट दिने मेरो योजना अझ जोडतोडका साथ अगाडि बढाइरहेको छु’, थप लगानी गर्नुपरेको जानकारी दिंदै थापाले भने, ‘रेष्टुरेन्ट पार्टका लागि छुट्टै भवन बनाइरहेको छु ।’

कोहलपुरका लागि एउटा उच्च स्तरीय आधुनिक व्यापारिक प्रविधि भित्र्याउने सोंचका साथ लगानी गरेको हुँ ।

कोहलपुरको मध्य बजारमा सुर्खेतरोडसँग जोडिएको लोकेसन आफ्ना योजनाका लागि सार्थक सिद्ध हुने उनको सोंच छ । ‘इश्वरा मलमा प्रवेश गरेपछि उपभोक्ताले सबै किसिमका आवश्यकताहरु एउटै छानामूनि उपलब्ध गराउने गरी बुकिङ्ग खोलिएको छ’, छिट्टै कम्प्लेक्स सञ्चालनमा ल्याउने आफ्ना योजना सुनाउँदै युवा उद्यमी थापाले भने, ‘कोहलपुरमा पहिलो ब्राण्डेड सपका रुपमा इश्वरा मललाई पहिचान स्थापित गराउने गरी प्रयासमा छु ।’ थापाले खासगरी कष्टमेटिक, फेन्सी, बुटिक, टेलरिङ, पार्लरदेखि उच्च स्तरीय ब्राण्डेड कम्पनीका शोरुम सञ्चालनका लागि इश्वरा मल उपलब्ध गराउने सोंच सुनाए ।

प्रतिक्रिया

प्रतिक्रिया