जनसंख्या बढ्दो, थपिएनन् सामुदायिक विद्यालय

–सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना नहुने, विद्यार्थी संख्या कम भएपछि विद्यालय अर्कोमा गाभिन वा खारेज भएका छन् ।
–अपायक पर्ने हुँदा कम विद्यार्थी भएपनि सञ्चालनमा

बाँकेमा १० बर्षमा १ लाख २५ हजार जनसंख्या वृद्धि भएको छ । तर, सामुदायिक विद्यालय भने थप हुनुको साटो घट्दै गएको देखिन्छ । वि.सं. २०६८ को जनगणनामा बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको थियो । हालै भएको जनगणनामा बाँकेको कुल जनसंख्या ६ लाख २० हजार ५ सय २६ पुगेको अनुमान रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादवले जिल्लामा स्थानीय तहले शिक्षा क्षेत्रमा राम्रै गरिरहेपनि नयाँ विद्यालय भने पछिल्ला बर्ष थप नभएको बताए । ‘कक्षा थपिएका छन् तर विद्यालय थपिएका छैनन्’, उनले भने । यादवले अब सामुदायिक विद्यालय पनि संस्थागत विद्यालय जस्तै हुनुपर्ने बताउँछन् । ‘विद्यालयलाई सामुदायिक विद्यालयमा टिकाउन विद्यालय व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक सबैले प्रयास गर्न आवश्यक छ’, उनी भन्छन्, ‘शैक्षिक क्षेत्रमा हुने राजनीतिले पनि शिक्षामा असर परेको छ ।’
स्थानीय तहमा जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयहरु गाभिन थालेका छन् । केही उदाहरणीय बाहेकका सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा कमी आउन थालेपछि विद्यालयहरु गाभिने वा खारेज हुने गरेका हुने गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रै रहेको एक सामुदायिक विद्यालयमा जम्मा ६ जना विद्यार्थी अध्ययनका लागि आउने गरेको समाचार केही समय अघि दैनिक नेपालगन्जमा प्रकाशित भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ राती तलाउमा ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा विद्यार्थी भर्ना भने १ सय १५ जना रहेको छ । भर्ना भए अनुसारका विद्यार्थी विद्यालय आउँदैनन् । यो समस्या नेपालगन्ज उपमहानगरपालिका मात्रै नभएर बाँकेका धेरै सामुदायिक विद्यालयको रहेको छ ।

एकातिर निजी विद्यालय थपिने क्रम मात्रै होइन कक्षा वृद्धिका लागि अनुमतिका लागि स्थानीय तहमा थुप्रै निवेदन पर्ने गरेका छन् । अर्को तिर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय नै गाभ्नु पर्ने अवस्था देखिन्छ ।
बाँकेका केही सामुदायिक उदाहरणीय पनि रहेका छन् । जसमा भर्ना सजह छैन । नेपालगन्जको धम्बोझी मावि पूर्वाधार तथा शैक्षिक हिसाबले निकै अब्बल रहेको छ । त्यस्तै, खजुराको जनता मावि र ज्ञानोदय पनि शैक्षिक अवस्था निकै राम्रो रहेको छ । यसले कतै सामुदायिक विद्यालय निकै कमजोर त कतै निकै राम्रो रहेको देखिन्छ । स्थानीय तहले सबै सामुदायिक विद्यालयमा समान रुपमा ध्यान दिन नसकेको विद्यालयहरु अवस्थाले देखाउँछ ।

निजी विद्यालयहरु थपिंदै जानु र अंग्रेजी माध्यमका कारण त्यसतर्फ अभिभावकको आकर्षण हुँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जाने गरेको बताउँछन् सरोकारवालाहरु ।

जनप्रतिनिधि आइसकेपछि मापदण्ड नपुगेका बाँकेका ६ वटा सामुदायिक खारेज गरिएका थिए । कोहलपुरका चार र नेपालगन्ज तथा खजुराका एक÷एक विद्यालय त्यसपछि खारेज गरिएका थिए । त्यसपछि पनि बाँकेका सामुदायिक विद्यालय मर्ज भएका छन् भने कतिपय मर्ज गर्ने तयारीमा छन् । स्थानीय तहले भर्ना अभियान सञ्चालन गरेर विद्यार्थी संख्या बढाउने प्रयास गरेपनि त्यसतर्फ सबै सफल हुन सकेका छैनन् । कतिपय सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा प्राथमिकता दिंदै विद्यार्थी टिकाउने प्रयासमा पनि रहेका छन् ।
कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजार बिग स्कुलको कन्सेप्टमा पालिका रहेपनि तत्काल कुनै विद्यालय मर्जर भैहाल्ने अवस्था भने नरहेको बताउँछन् । ‘न्यून विद्यार्थी रहेका विद्यालयको मूल्यांकन गरेपछि संकटमा रहेकालाई मर्ज गरिनेछ’, उनले भने ।
कोहलपुरमा यसअघि रामजानकी प्राविलाई ज्ञानज्योति मावि चप्परगौडीमा गाभिएको थियो । दिपशिखा प्राविलाई ज्ञानज्योति मावि बगिया र शान्ति निकेतन प्रा.विलाई शिव शक्ति प्राविमा गाभिएको थियो भने जनता प्रावि कृष्ण माविमा गाभियो । कोहलपुरमा ३० वटा सामुदायिक र ५७ वटा निजी तथा संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा हाल १५ हजार बढी विद्यार्थी रहेको कोहलपुर शिक्षा शाखाले जानकारी दिएको छ । ‘विद्यालय संख्या हेर्दा नै संस्थागत विद्यालय बढी छन्’, शिक्षा शाखा प्रमुख मिजारले भने ।
राप्तीसोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख पनि पालिकाका ४ वटा जति विद्यालय गाभ्नु पर्ने अवस्थामा रहेपनि गाभ्दा भएका विद्यार्थीलाई अपायक हुने देखिएको बताएका छन् ।

स्थानीय तहमा शिक्षा हेर्ने कर्मचारीहरु न्यून विद्यार्थी रहेको विद्यालयहरुलाई गाभेर शैक्षिक गुणस्तर बलियो बनाउन सके राम्रो हुने धारणा राख्छन् । ‘थोरै विद्यार्थी भएको विद्यालयले व्याय भार बढाउँछ, विद्यालय गाभिदा शिक्षाका लागि लगानी बढाउन सकिन्छ’, उनीहरु भन्छन् ।
नरैनापुर गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसअघि भौतिक पूर्वाधारको असुविधा रहेकाले पालिकामा धेरै निजी विद्यालय छैनन् । हाल ५ कक्षा भन्दा कम पढाउने तीन वटा मात्रै निजी विद्यालय सञ्चालनमा रहेका छन् । ‘पालिकामा रहेका दुई वटा मदरसालाई एउटै बनाउनु पर्छ कि भन्ने सोंचमा छौं’, पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले भने । उनले दिपेन्द्र प्राविमा तुलनात्मक हिसाबले विद्यार्थी संख्या कम रहेकाले मर्ज गर्ने भन्दा पनि विद्यालय नै सार्ने तर्फ पालिकाको तयारी रहेको बताए । ‘विद्यालय मर्ज गर्ने भन्दा चलायमान बनाउने तर्फ पालिकाले प्रयास गरिरहेको छ’, उनले भने ।

डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले यसअघि एउटा विद्यालय मर्ज भएको जानकारी दिएका छन् । हाल विद्यालय मर्जको तयारी नरहेको उनले बताएका छन् । डुडुवामा १६ वटा सामुदायिक र ९ वटा निजी विद्यालय रहेको छन् ।
खजुरा गाउँपालिकामा यसअघि दुई वटा विद्यालय गाभिएका छन् । शिक्षा शाखाका प्राविधिक सहायक निर्मल रेग्मीले भानुदय प्राविलाई पशुपति प्राविमा मर्ज गरिएको जानकारी दिए । त्यस्तै, शान्ति प्रावि जनतामा गाभिएको थियो ।

दरबन्दी अनुसार छैनन् विषयगत शिक्षक

सरकारले अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नेपालीका विषयगत शिक्षक अनिवार्य गरेको छ । बाँकेका आठ वटै सामुदायिक विद्यालयमा पर्याप्त विषयगत शिक्षक नहुँदा अध्यापनमा समस्या भैरहेको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका अनुसार, जिल्लामा ७० जति मावि र १ सय ५० जति निमाविमा विषयगत शिक्षक आवश्यक रहेको बताएको छ । कतै बढी त कतै विषयगत शिक्षक हुँदै नभएको गुनासो शिक्षाविद्हरुबाट आउने गरेको छ ।

‘विषयगत शिक्षकको अभाव रहेको छ’, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले भने । जिल्लाको शिक्षा अहिले संघीय तथा स्थानीय सरकारको अनुदानबाट व्यवस्था गरिएका शिक्षकबाट चलिरहेको छ । कतिपय विद्यालयले विद्यार्थीबाट शुल्क लिएर समेत शिक्षक राखिरहेको अवस्था छ ।

‘स्थानीय तहले विद्यालयको आवश्यकता अनुसार विद्यालयहरुमा शिक्षक राखेकाले धेरै राहत भएको छ’, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले भने ।

प्रतिक्रिया

प्रतिक्रिया