नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्मालाई स्थानीय तेजनगर टोलबासीहरुले सम्मान गरेका छन् । शनिबार टोलबासीहरुको एउटा भेलाले चालु आर्थिक बर्ष २०७८/०७९ मा गरेको विकासका योजना द्रुत गतिमा कार्यान्वयनमा ल्याएको भन्दै सामूहिक रुपमा सम्मान गरेका हुन् ।

वडाले बनाएका योजनाभित्रै दुई वटा पीसीसी सडक, ८० मिटर नाला सहितको कालोपत्रे सडक र हाइमाष्ट जडान कार्य अगाडि बढाएको जनाएको छ । ‘यसैसाता हाइमाष्ट जडान भैसक्नेछ’, वडाध्यक्ष बर्माले गतबर्ष तेज नगरमा मात्रै ५० लाख लागतमा नाला सहितको कालोपत्रे सडकदेखि पक्की नाला सहित ग्राभेल सडक, ज्येष्ठ नागरिक तथा योग साधकहरुका लागि आवश्यक संरचना निर्माण गर्न बजेट विनियोजन गरिसकिएको जानकारी दिंदै भने ।

स्थानीय टोलका अध्यक्ष सुर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा टोलबासीहरुले विकासका लागि थप आवश्यक पूर्वाधार र संरचनाबारे वडाध्यक्ष बर्माको ध्यानाकर्षण गराएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । ‘बजेटको सीमितता बीच अझै धेरै काम गर्न बाँकी नै छ,’ वडाध्यक्ष बर्माले वडाभित्रका सबै टोलमा विकासका आधारभूत पूर्वाधार पुर्याइसक्न आफु प्रतिबद्ध रहेको जानकारी दिंदै भने, ‘तेज नगरमा पनि विनियोजित बजेटलाई निर्धारित समयमै खर्च गरिनेछ ।’
