एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौं हित् भनि ।
ब्रम्ह्मा ताहि थिया पर्या चरणमा खुशि गराया पनि ।।

वाल्मिकी रामायणको नेपाली भाषामा अनुवाद गरिएको यो भानुभक्त रामायणको पहिलो काव्यपङ्तिले आज पनि आदिकवि भानुभक्त आचार्यलाई सम्झाउँछ । उनले नेपाली भाषामा दिएको योगदानको झझल्को दिन्छ । नेपालीहरुलाई भक्तिरसमा आनन्दित हुने अवसरको शुरुआत भानुभक्तले नै गराएकोमा उनैलाई यसको श्रेय दिँदा पक्कै पनि अतिशोक्ति नहोला । नेपाली वाङ्मयका प्रथम बिराट पुरुष भानुभक्त आचार्यलाई नेपाली भाषासँस्कृतिको क्षेत्रमा जुनसुकै शासन व्यवस्थाले पनि बिर्सनै मिल्दैन । तर बिडम्बना नै भन्नुपर्छ कि वर्तमान सत्ताले नेपालीत्व जगाएका बिराट पुरुष आदिकवि भानुभक्तलाई सम्मान गर्नमा खासै चासो देखाएको पाइँदैन ।

तनहुँ जिल्लाको चुम्धीरम्घा गाउँमा आजभन्दा २०७ बर्ष अगाडी बिक्रम संवत १८७१ मा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कवि मात्रै होइनन् नेपाली भाषालाई जनजिब्रोको भाषा बनाएर नेपाल र संसारभरि रहेका नेपालीभाषीको पहिचान स्थापित गराउने बिराट पुरुष हुन् । उनी भाषासाहित्य, सँस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, देशप्रेम आदिले हरेक नेपालीलाई ओतप्रोत गराउने व्यक्तित्व हुन् । वाल्मिकी रामायणलाई शिखरिणी, मन्दक्रान्ता, मालिनी,जस्ता १३ वटा शास्त्रिय छन्दमा मात्रै होइन मुख्यगरि शार्दूलविक्रीडित छन्दमा लेखेर हरेक नेपालीको जनजिब्रोमा भाषिक र लयको स्वाद पस्केका छन् ।

आज हाम्रा बिद्यालयहरुमा विद्यार्थीहरुलाई कुनै अभिप्रेरणाको उदाहरण दिनु पर्दा हाम्रा गुरुहरुले भानुभक्त आचार्यका आँखा खोलिदिने घाँसी वा पृथ्बीनाराणण शाहलाई मार्गदर्शन गर्ने बिसे नखर्चाीको उदाहरण दिएको पाइँदैन । न त उनीहरुबाट हौसला पाएर भानुभक्त कसरी नेपाली वाङ्मयका बिराट पुरुष बने या बडामहाराज पृथ्बीनाराण शाहले नेपालको एकिकरण गरेर हामीलाई नेपाली भन्ने पहिचान दिलाए भन्ने बारेमा सन्दर्भ प्रयोग गरिएको पाइन्छ । बरु नेपालसँग कोशौंकोश कुनै साइनो नै नभएका र नेपाली अस्मितासँग कुनै सरोकार नै नभएका सन्दर्भ र उदाहरणहरु दिएर हाम्रा आफ्नै बिराट पुरुषहरुलाई बिर्साउने काम गरिएको छ ।

गतहप्ता पोखराबाट फकिँदै गर्दा मलाई भानुभक्त आचार्याका आँखा खुलाइदिने घाँसीले खनेको कुवा (घाँसाी कुवा) मा पस्ने मौका मिल्यो । मंसीरको महिना उसैपनि नेपाली बालबालिकाहरुको भ्रमणको महिना भएकोले हुनुपर्छ विद्यालय क्याम्पसहरु, भैली समूहहरु र अन्य समूहहरुको भ्रमण टोलीले पोखरा खचाखच थियो । फेवाताल देखि पाताले छाँगोसम्म र गुप्तेश्वर गुफा देखि शान्तिस्तूपासम्मको भीडभाड देख्दा लाग्थ्यो जम्मै विद्यालयहरु पोखरामा पुगेका छन् । कतिपय भ्रमणटोलीहरु बाटोमा परेकोले घाँसी कुवामा पनि पुगेका भेटिए । मलाई पनि घाँसीकुवामा केहि साक्षात्कार गर्न मन लाग्यो र मपनि रोकिएँ । त्यहाँ पुगेका धेरै विद्यार्थीहरुसँग त्यो ठाउँको बारेमा र त्यहाँ पुग्नुको बारेमा अन्तक्रिया गरें । मलाई यो भन्दा निकै लज्जाबोध हुन्छ कि त्यहाँ पुगेका अधिकाशं विद्यार्थीहरुले घाँसीकुवाको बारेमा केहिपनि जानेनन् । भानुभक्तको बारेमा पनि खासै जानकारी राखेको पाइएन ।
मेरा ईनार न त सत्तल पाटि कै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसलिे कसरी आज दिए छ अर्ति,
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

भानुभक्तले घाँसी माथि लेखेका यी पङ्तिबाट र त्यो घाँसीले खनाएको कुवाबाट त्यहाँ पुगेका विद्यार्थीहरुलाई प्रेरणा मिल्नु त के त्यहाँ उनीहरु किन रोकिएका हुन् भन्नेसम्म पनि खासै जानकारी भएको पाइएन । भ्रमण गराउन लगेकाहरु होटलतिर र विद्यार्थीहरु भानुभक्तको त्यहाँ रहेको सानो मूर्तिमा सेल्फी लिनमा नै व्यस्त देखिन्थे ।

नेपाली भाषा साहित्यका बिराट पुरुष बन्न प्रेरणा दिएको घाँसी कुवाको अवस्थालाई नियाल्ने हो भने त हामीलाई नेपाली भएकोमा लाज नै लाग्नुपर्छ । त्यहाँ सेल्फी लिइरहेका विद्यार्थीहरुलाई भानुभक्त को हुन् भनेर सोध्दा अलमल्ल नै देखिन्थे । यसले हाम्रा शिक्षालयहरुमा नेपाली भाषा र आदिकवि प्रतिको उपेक्षा रहेको अनुमान लगाउन कुनै कठिनाई नै छैन ।

नेपाल त अहिले गणतन्त्रात्मक व्यवस्थामा छ । यो व्यवस्था ल्याउन भूमिका खेलेकाहरुले जम्माजम्मी भन्ने गरेको नै ‘नेपाल एकल जातीय र एकल भाषिक भयो, केन्द्रिकृत शासन भएकाले शासन प्रशासन जनतासम्म पुगेन । बहुसंख्यक जनताको भाषा सँस्कृतिको रक्षा भएन ।’ यसैले त नेपाललाई बहुभाषिक, बहुसाँस्कृतिक, शासनप्रशासनमा संघीयता र सबैले राजाहुन पाउने गरि गणतन्त्र बनाइएको हो । तर यहि व्यवस्थामा बहुसंख्यक जनताको भाषाप्रति गरिएको विभेदलाई कसरी न्याय गरेको भन्न सकिन्छ ?

बहुभाषिक नेपालमा सम्पर्क भाषा नेपाली बाहेक अरु हुनै सक्दैन । नेपाली सँस्कृति र मौलिकता मास्नेगरि अन्य विदेशी भाषालाई सम्पर्क भाषाको रुपमा चलाउन खोज्ने जोसुकैलाई पनि नेपाल बिरोधी भन्न हिच्किचाउनै पर्दैन । बिगत दुइसय बर्षयताको सम्पर्क भाषाका शुत्रधार आदिकवि भानुभक्त आचार्यलाई न्यूनिकरण गर्ने यो राज्य, व्यवस्था र यसका वर्तमान सञ्चालकहरु नेपाली भाषा मास्ने षडयन्त्रका शुत्रधार नै हुन् ।

घाँसीको कुवा पृथ्बी राजमार्गको बिस्तारको चपेटामा पर्दै आएकोछ । बाटामाथिबाट बाटामुनी सारिएको कुवा अब फेरि बाटोबिस्तार गर्ने क्रममा कता लैजाने भन्ने दोधारमाछ । यसक्रममा घाँसीको त्यो कुवा र भानुभक्तको मूर्ति समेत त्यहाँबाट बिस्थापन हुने पक्का छ । यसका लागि त्यहाँ रहेको व्यवस्थापन समितिले बिभिन्न चरणमा छलफल गरेको कुरा व्यवस्थापन समितिका सदस्य मध्ये त्यहाँ भेटिएका एक जनाले आफ्नो नाम नबताउने शर्तमा यो पङ्तिकारलाई बताए । नेपाली भाषाका बिराट पुरुष प्रेरित भएको त्यो घाँसीको कुवाको नाम समेत नेपाली भाषामा लेख्न आवश्यक नठानेको त्यहाँको व्यवस्थापन समिति, त्यहाँको स्थानीय सरकार समेतको उपेक्षाले नेपाली भाषाप्रतिको व्यवहारमा म नेपाली भाषाका बिराट पुरुष अभिप्रेरित भएको ठाउँमा पुगेको छु भन्ने गर्व गर्नै कठिन हुन्छ । कुवाको दायाँपट्टिको भित्तामा उरन्ठेउलाहरुले लेखेका अँग्रेजीका मायाप्रितीका कुराले गिज्जाइ रहेको देखिन्छ । भानुभक्तको कविताको श्लोक नै मधुरो भैसकेको छ । सूचनाबोर्डको फ्लेक्स नै च्यातिएको छ । त्यहाँ आसपासको फोहरलाई नियाल्ने हो भने कुनैपनि आगन्तुकले राष्ट्रभाषाका शुत्रधारलाई अर्तिदिने स्थानको रुपमा रहेको त्यो ठाउँको महत्व नै बुझ्न गाह्रो हुन्छ । त्यहाँ वरिपरि रहेका दारुभट्टिहरुले त्यहाँ त्यसको संरक्षण गर्न होइन घाँसीकुवामा रोकिएकाहरुलाई दारु बेचेर पैसा कमाउन बसेको मात्रै आभास हुन्छ । यताउता बराल्लिएका युवाहरु हातमा बियरका बोतलहरु लिएर फोटो खिँचाृउँदै गरेको देख्दा त झनै उदेक लाग्छ । त्यो ठाउँको अपमान गर्न बसेकाहरुबाट नेपालीत्व नै स्खलित भएको आभास हुन्छ ।
नेपालका कुनैपनि शहरहरुमा भानुभक्तको प्रंख्यात चोक छैन । जनकपुर र धरानको भानुचोकको नाम केहि मसिनो स्वरमा लिइएता पनि नेपालका शिक्षालय, विश्वविद्यालय या अन्य कुनै प्रचलित ठाउँमा या नेपाली साहित्यका सभाहरुमा भानुभक्तको त्यतिसारो चर्चा भएको पनि पाइँदैन । नेपाली साहित्यले कति फड्को मार्यो त्यो त प्राज्ञिकहरुले नै जानून तर नेपाली साहित्यका शुत्रधार भने आजपनि अपमानित नै भएको जस्तो लागिरहेको छ । नेपालमा उनको नाममा साहित्य पुरस्कारहरु, उनको जन्मजयन्तीमा राष्ट्रीय पर्वको वातावरण, उनको योगदानका बिषयमा शिक्षालयहरुमा प्रवचन, गोष्ठी र अन्य कार्यक्रमहरु गर्ने र हरेक नेपाली शिक्षार्थीलाई उनले नेपाली भाषा साहित्यमा गरेको अमूल्य योगदानको बारेका अवगत गराउने गरेको खासै पाइँदैन ।

यौन, हिंसा र घृणावादको साहित्यका सर्जकहरुलाई भानुभक्त भन्दा पनि माथि देखाउने, उनीहरुलाई महान बनाएर विदेशी भाषा सँस्कृति र साहित्यको खतिउपती गर्नु नै वर्तमान सत्ताको षडयन्त्रकारी कार्य हो । नेपाल बनाउने बडामहाराज पृथ्बीनारायण शाहलाई गाली गरेर नेपाल आफैले बनाएको झैं गफचुट्ने विदेशीका नेपाली खेतालाहरु र आदिकवि भानुभक्तलाई अपमान गर्ने गरि समाजिक कित्ताकाट र घृणावादको साहित्य लेख्नेहरुको चोचोमोचो ठ्याक्कै मिलेको देखिन्छ ।

आदिकवि भानुभक्त त संसारभरि छरिएर रहेका नेपालीभाषिहरुका अमूल्य निधी, प्रेरणाका पात्र, पहिचानका शुत्रधार हुन् । उनको नेपालमा भन्दा भारतको दार्जिलिङ् र सिक्किममा बढि सम्मान रहेको पाइन्छ । दार्जिलिङ् पुगेर भानुभक्तको मूर्तिमुनी फोटो नखिँची आउनेहरु कमै होलान् । विदेशमा पनि नेपाली भाषीहरुका बीच भानुजयन्ती निकै धुमधामसँग मनाउन थालिएको छ । आफ्नो पहिचानका शुत्रधार भानुभक्तलाई आदर गर्ने नेपालीभाषिको संख्या बढ्दो छ । उनको सम्मानमा कार्यक्रमहरु पनि पहिलाभन्दा बढि नै गरिने गरिएको पाइन्छ । नेपाली साहित्यमा बिभिन्न बिद्याको विकास भएता पनि उनले लेखेको भानुभक्त रामायणको छन्द्धलाई कमजोर बनाउन सकेको छैन । आज युट्यूब देखि बिभिन्न सञ्जालहरुमा शार्दूलविक्रीडित छन्दका कविताहरुले नेपाली भाषीहरुलाई मन्त्रमुग्ध नै बनाइरहेका छन् । आदिकविको यश अझ बढेको छ ।

तर, नेपाल राष्ट्रको राष्ट्रभाषाका शुत्रधारलाई उनकै भूमिमा यहिँको सत्ताले कुनै स्थान दिन सकिरहेको छैन । उनका स्मृतिहरु, उनका प्रेरणाका श्रोतहरुलाई नेपाली पाठ्क्रमका सन्दर्भ समाग्रीको रुपमा समेत राख्न मनासीव ठानिएको देखिँदैन । यो भन्दा नेपाली भाषा प्रतिको अपमान र आदिकविको उपेक्षा अरु केहि हुनै सक्दैन ।

आज नेपाली भाषालाई चारैतिरबाट मास्न नेपालका वर्तमान सत्ताबृतका पार्टीहरु नै लागिपरेका छन् । नेपाली भाषालाई असभ्यको भाषा, पढ्नै नपर्ने भाषाको दर्जामा राख्नेहरु नै वर्तमान नेपालका बुद्धिजीवी बन्दै गएका छन् । नेपाली भाषालाई राज्यको केन्द्रमा र शासन प्रशासनको चुचुरोमा समेत अपभ्रन्स गरेर, अशुद्ध रुपमा लेखेर पत्राचार समेत गर्ने गरेका बिगतका उदाहरणहरुले नेपालीत्वलाई नै गाली गरिरहेको छ । नेपाली भाषा साहित्यका बिराट पुरुष आदिकवि भानुभक्तको मात्रै होइन समुच्च नेपाल राष्ट्रको नै अपमान गरिँदै छ । नेपाली पहिचान माथिको यो उपेक्षा एउटा कवि या भाषाको मात्रै प्रश्न होइन यो त नेपाल राष्ट्रको अस्तित्व माथि कै षडयन्त्र हो ।

प्रतिक्रिया

प्रतिक्रिया