सकस झेल्दै सहर

‘अरु सबै ठाउँमा घर भत्काएर पनि बाटो निकास गरेको छन् तर एबीसी स्कुलदेखि बसपार्क निस्कने बाटोको टुप्पोको घर भत्काउन नसक्ने स्थानीय निकायलाई तपाई के भन्नुहुन्छ ? बाटो बन्द होस तर घर भत्किनु भएन भन्ने हो कि के हो ?’, यो पोष्ट भुपेन्द्र श्रेष्ठले नेपालगन्ज ग्यालरी नामक गु्रपमा पोष्ट गरेका हुन् । पछिल्ला बर्षहरु बाटो सम्बन्धी धेरै समस्याहरु सामाजिक सञ्जालमा पोष्ट गरी स्थानीय तहको ध्यानाकर्षण गराएको पाइन्छ ।

बाटो निर्माणको योजना पहिले बनाउने र पछि साइड क्लियर गर्ने प्रवृत्तिले निर्धारित समयमा योजना पूरा हुन सक्दैनन् । नेपालगन्ज अहिले विभिन्न भित्री बाटोमा सडक क्षेत्रफलका घर, पर्खाल भत्काउन उपमहानगरपालिकाले गरेको अनुरोध टाँसिएको पाइन्छ । बाटोको क्षेत्रफलका सम्बन्धमा दर्जनौ मुद्दा उपमहानगरपालिकाले झेलिसकेको छ ।

नेपालगन्ज पुरानो सहर हो । पहिले चाप नभएकाले त्यतिखेर जथाभावी घर बन्यो, बस्ती बस्यो । अहिले सहरमा मानिस, घर तथा सवारीको चाप बढेपछि सडक फराकिलो बनाउनु पर्यो । जसका कारण नेपालगन्ज नगरमा हालसम्म सयौं घर पर्खाल भत्काइसकिएको छ, सडक क्षेत्रफलका लागि ।

नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि सडकका लागि एकै ठाउँमा दुई पटकसम्म सडक क्षेत्रफलका लागि घर, पर्खाल पुनः भत्काइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को भित्री बाटोमा पहिले ६ मिटर भनेर घर, पर्खाल भत्काइयो, भत्काइएका घर बने, पछि आठ मिटरमा बनाउने भनेपछि केहीले भत्काए, केहीको घर, पर्खाल भत्काउन अझै बाँकी रहेको छ । जसले गर्दा हुने विवादले योजना अनुसार काम समयमा सकिने पाइँदैन ।

नेपालगन्जका सदरलाइन पूर्व निर्धारित क्षेत्रफल भन्दा सानो बनाइयो । सडक क्षेत्रफल सानो बनाउने, घर नभत्काउने बर्षातीमात्रै भत्काउने विवादमा सहमति हुँदा सडकको चौडाई तोकिएको भन्दा सानो छ । अहिले विहानदेखि रातीसम्म त्यो बाटोमा चारपाङ्ग्रे र इरिक्सा गुड्न बन्द गरिएको छ । पार्किङ्ग छैन, सडकको वरपर तथा बीच भागमा गरिने मोटरसाइकल र साइकल पार्किङ दिनभर सडकमा घुइँचो मात्रै लाग्दैन ट्राफिक समेत जाम भैरहन्छ । नयाँ फराकिलो बनाइएको भनिएको सडकले थेग्न सक्ने अवस्था अहिले छैन, केही बर्ष पनि त्यसको अवस्था झन् कस्तो होला । नेपालगन्जकै बागेश्वरी मन्दिर क्षेत्रमा समयमा सडक क्षेत्रफल खाली नभएपछि वरपरका सडक बनिसक्दा पनि मन्दिर वरिपरिकै सडक निकै ढिला गरी बनेको थियो । सुर्खेतरोड बनिसकेपछि पानी निकासका लागि विभिन्न ठाउँमा खनियो ।

सहर र बस्ती बसिकेपछि बाटो बनाउन निकै सास्ती हुने गरेको छ । बजेट खर्च गर्ने सरकार मात्रै होइन बनेको घर भत्काउन घरधनीले पनि ठूलो क्षति ब्यहार्नु पर्दछ । व्यवस्थित रुपमा बस्ती नबस्दा सहरले निकै ठूलो समस्या झेलिरहेको छ । सुर्खेतरोड फराकिलो भएकाले भोलिका दिनमा समस्या नहोला तर, सुर्खेत बाहेक भित्री सडकहरुमा बढ्दै गएको चापले केही बर्षमा पुनः सडक चौडा पार्नुको विकल्प देखिंदैन ।
अहिले नेपालगन्ज उपमहानगरपालिकाले घर बनाउनका लागि मापदण्ड बनाएको छ । जसमा कडाई पनि गर्दै आएको छ । विना नक्सा र स्वीकृति बेगर घर बनाइएको थाहा पाए उपमहानगरपालिकाले तत्कालै रोक लगाउने गरेको छ । तर, व्यवस्थित बस्ती विकासको योजना भने बनाएको छैन । बस्ती बसिसकेपछि पुनः बाटो बनाउँदा अर्को समस्या सिर्जना हुने देखिन्छ । अव्यवस्थित बस्ती र घरहरु भुकम्पका दृष्टिले पनि निकै जोखिमपूर्ण हुन्छन् । तर, पुराना बनिसकेका घरहरु भत्काउन सक्ने अवस्था अहिले छैन । त्यसले भोलिका दिनमा भुकम्प आइहालेमा जनधनको ठूलो क्षति हुने औंल्याउँछन् स्थानीयबासिन्दा । ‘पुरानो घरको व्यवस्था सम्भव छैन अब’, उपमहानगरपालिकाका जनप्रतिनिधि भन्छन्, ‘अब बन्ने संरचना व्यवस्थित बनाउने प्रयासमा छौं ।’

नेपालगन्जमा अघिल्लो १० बर्षका तुलनामा घरधुरी र जनसंख्या दुवै बढेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया