मस्जिदमा नेतृत्व चुन्न निर्वाचन

इतिहासमै पहिलो पटक चुनावी प्रकृयाबाट मर्कजको पदाधिकारी चयन


झण्डै सय वर्षकै पुरानो इतिहास बोकेको फुलवारी मश्जिद (जामिया अरेबिया मिफ्ताहुल ऊलूम तथा देवबन्द मर्कज) मा पहिलो पटक चुनावी प्रकृया मार्फत पदाधिकारीहरुको चयन हुने भएको छ । मश्जिदका साथै २०३६ साल देखि मदरसा समेत संचालन मर्कजलाई विधिवत संचालन र व्यवस्थापनका बांके जिल्ला भरिका जमाती समूहका मतदाताहरुले मतदान गरेका हुन् ।


शनिवार भएको मतदानमा १०५२ जना मतदाता मध्ये ९६४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । यो समाचार तयार गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा मतगणना चलिरहेको थियो । आइतवार विहानसम्म मत परिणाम आइसक्ने समितिले जनाएको छ ।
निकै समय देखि विवादमा घेरिएको मर्कजलाई चुनावी प्रकृयाले टुंगो लगाएको हो । करिब ४२ वर्ष देखि एउटै परिवारका सदस्यले मर्कज र मदरसा संचालन गर्दै आइरहेको भन्दै सर्वसम्मत नेतृत्व चयनमा विवाद उत्पन्न भएको थियो ।


‘मदरसाको कुनै क्षेत्रमा कुनै खास प्रगति, विकास र आर्थिक हिसाब किताब पारदर्शी नदेखिएकाले निर्वाचनमार्फत नयाँ नेतृत्व आवश्यक देखियो,’ मतदानका लागि लाम लागेका मतदाताले दैनिक नेपालगन्जसँग भने ।
लामो समयदेखि मर्कजको नेतृत्वमा रहेका अध्यक्ष मोहम्मद अली अंसारी र नयाँ समितिका लागि पहल लिंदै आएका फैसल अंसारी बीच प्यानल तयार भएको हो । ‘सर्वसम्मतले नेतृत्व तय हुन नसक्दा लामो समेदेखि विवाद थियो,’ सम्बद्ध पक्षले भने, ‘दुबै पक्ष बीच उत्पन्न विवादसमाधान गर्न महिना दिन सम्म जिल्ला प्रशासन कार्यालय समेत धाउनु परेको थियो ।’


जिल्ला प्रशासनले दिएको निर्देशन अनुरुप अन्ततः निर्वाचन प्रणाली मार्फत अगाडि जानुपर्ने कुरामा दुबै पक्ष बीच सहमति भएको थियो ।
निर्वाचन प्रकृयामा नै जानु पर्ने कारण बारे नयाँ समितिका तर्फबाट अध्यक्ष पदका उम्मेदवार फैसल अन्सारीले चार दशक देखि एउटै परिवारको रजगज रहेकोले विधान अनुसार चुनावी प्रकृयाबाट पदाधिकारी चयन गर्ने व्यवस्था लागु गरिएको बताए । ‘अध्यक्ष जो बने पनि संस्था व्यवस्थित हुनु जरुरी छ,’ अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘मैले त्यसैको लागि आफु अगाडि सरेर सुरुआत मात्र गरिदिएको हँु ।’


विवाद समाधानका लागि सहजता साथ चुनावी प्रकयामा जान स्थानीय सर्वसाधारण, वडा कार्यालय र नगर प्रमुख डा. धवल शम्शेर राणा लगायत सबैले सहयो गरेको अन्सारीको भनाइ छ ।


मर्कजका निर्वाचन अधिकृत लोकेन्द्र बहादुर शाहीले धार्मिक स्थलको निर्वाचन प्रकृया बारे अनुभव बारे मतदाताहरु निकै उत्साहित देखिएको बताए । मर्कजको चुनाव शान्तिपूर्ण गराउन ३८ सुरक्षाकर्मी, दुबै पक्षका प्रतिनिधि र स्थानीय जनप्रतिनिधि समेत खटिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया