
‘इन वारिसो से दोस्ती अच्छी नही है फराज,
कच्चा तेरा मकान है कुछ तो ख्याल कर’
– अहमद फराज ।

संसारमा सबै मान्छेहरु एक्ला एक्लै हुन् तर पनि समाज, भिडबाट एक्लिएको मान्छेले के, के गर्न सक्छ ?
खोल्ने बित्तिकै फेसबुकले तेरो दिमागमा के खेलिरहेको छ ? सोध्छ । उप नित्यस्तै हरेक दिन नयाँ प्रश्न तेस्र्याउन चुक्दैन् । परीक्षा लिइरहिएको बुझ्छु । भावना, सोंच, प्रतिवद्दता जाहेर गर्ने अवसर मात्रै पाँउदिन, सोंच अझ परिस्कृत गर्ने, तिखार्ने, अर्जाप्ने, पाइन लगाउने मौका पनि पाउँछु । राम्रै लाग्छ । झर्को नमानी जवाफ दिने कोशिस गर्छु । उसका गहकिला, दुरगामी प्रश्न, जिज्ञाशा र कौतुहलताले विषयलाई अथ्र्याउन जिम्मेवारै बनाउँछ ।
मेरो लेख्न, बोल्नका कारण अझै ज्युँदो छु भन्ने सन्देश दिनु हो । जिउँदो हुन जिउँदो देखिन पनि पर्दो रहेछ । मैले बिताएको जीवन बजार गएर बेच्ने ख्यालख्याल र ठट्टाका माल थिएन । यो मुर्खता, अमानवता विस्तारको समय हो । स्वभिमान र दास मानसिकताबीच भिडन्तको युग हो । दासहरुले महान सपना देख्नै सक्दैनन् ।
यस्ता बेला पात्र, प्रवृति, अवस्था र भूभागमा आउँने हेरफेरले समयको चित्र र चरित्रको प्रवक्ता बन्न लल्कार गर्छ । तानाशाह र डरपोकहरु भने सुरक्षित रहन भीड खोज्छन । उनीहरू सोच्ने, दार्शनिक, लेखक, कवि, कलाकारदेखि औधी डराउँछन । जस्ले सामान्य अवस्थामा जटिलतालाई ठट्टामा उडाँउछ, उसले संवेदनशील घडीमा बोलेको वा गरेको अपिललाई पनि भक्तजन बाहेक अरुले पत्याउँदैनन् । दासको अर्को नाम हो अन्धभक्त ।
आजको उसको प्रश्न भनौं कि यस्तो थियोः
संसारमा सबै मान्छेहरु एक्ला एक्लै हुन् तर पनि समाज, भिडबाट एक्लिएको मान्छेले के, के गर्न सक्छ ?
एउटा मान्छे भित्र एकैपटक धेरै मान्छे, धेरै चरित्र, धेरै सपना, धेरै सोंच हुन्छन् । मान्छेमा रहेका असिमित शक्तिलाई एउटा अंशमा पनि उसले उपयोग गर्न सकेको हुँदैन । समाजमा ति सबै पक्ष सक्रिय हुन्छन् । शक्तिमा कुन चरित्र हावी हुन्छ, त्यसै अनुसार समाजको चरित्र बनेको हुन्छ । समाजलाई हुकुममा हाकिन सधैं यथास्थितिमा राख्न शक्तिले चाहने हुँदा मान्छेलाई ऊ भीडमा फेर्न चाहन्छ ।
सोच्न नचाहने मान्छेको बथाननै भीड हो । जिज्ञासा, प्रश्न, कौतुहलता, सपना रित्तिएपछि ख्वामितलाई सपच्ने जिम्मेवारी सुम्पिएर आदेशमा हाकिने लस्करमा फेरिन्छन् । अनुहारमा एकै खाले भएर मात्रै हुँदैन । चिनी र नुन दुवै सेतारु त हुन्छन, स्वाद भने फरक । अनुहार, मिठा र आवेगात्मक शब्द देखेर, सुनेर धारणा बनाउन हुँदैन ।
आन्दोलन, आन्दोलन नरहेर संगठन विचारहीन भीड फेरिएपछि मिथक राजनीतिक संस्कृतिमा फेरिएर धर्मको रुप लिन्छ । मिथक इतिहास बन्दा रहेछन्, इतिहास मिथक बन्दो रहेछ । धर्म संस्कृतिको टेको पाँउदैनथ्यो भने निमेष भर टिक्न सक्दैनथ्यो । अन्धविश्वास र आवेगको ठाउँमा तर्क, विवेकले लिन्थ्यो ।
वैदिक साहित्यलाई एक असल विद्यार्थीलेझैँ अध्ययन गरेर जीवनमा फेर्थे । विज्ञानका ‘महानविद्वानहरू’ पनि अवैज्ञानिक बाटो समाउँदैनथे । बुद्ध, धन्वन्तरी, विश्वकर्मा, आर्यभट जस्ता अनेकौँ दार्शनिक र वैज्ञानिकलाई देउता बनाउदैनथे । कृतिम भय र आशक्तिले मान्छेलाई अदृष्य र काल्पनिक शक्तिको शरणस्थलीमा धकेल्दै भीडमा फेरिँदिंदो रहेछ ।
तपाईका प्रश्नले मलाई फेरि मान्छेलाई भीडको अंश बन्ने र नबन्नेहरुबारे अध्ययनका लागी हौँस्यायो । सनातनी र आवेगीहरु सहजै भीडको गिरफ्तारीमा पर्छन । केही मान्छे भने भीड पछाडि नलाग्दाको मूल्य चुकाउने गर्छन् । त्यस्ता मान्छेले जीवन दिएर, विद्रोह गरे, जेलमा कोचिए । जीवनका परिभाषा भीडले हैन्, मान्छेले दिन्छ ।
मान्छे बन्न मूल्य तिर्नुपर्छ । जिज्ञासा राख्न थालेपछि विश्वास फेरिँदै जान्छन् । सामाजिक सिद्धान्तकार गुस्ताभले ‘बोनले इन द क्राउडः ए स्टडी अफ द पपुलर माइन्ड’ भन्ने पुस्तकमा युगान्तकारी सामाजिक टिप्पणी प्रस्तुत गर्दै आफ्नो युगको राजनीतिक साेंचमा ऐतिहासिक अन्तरदृष्टि दिन्छ भन्छन् ।
भीडबाट उछिट्टिएर कोही मान्छे पो बनेकी भनेर शक्ति हिसाब किताब लगाइरहन्छ । भीड जाँच्ने अनौँठा उपायमा आमसभाका उपस्थिति, कस्ले कस्लाई मत दियो ? सामाजिक संजालमा पछ्याउने संख्या हेरिन्छ । भेडी गोठालाहरू भेडा हराएको पत्ता पाउन हरेक तेस्रो दिन गल्छेडोमा बथान पु¥याएर एकएक गरेर गन्छन् ।
अगुवाको भेडाहरु यसरी विश्वास गर्छन की मूल भेडो पहराबाट हाम फाल्दा आफू पनि हाम फालेर ज्यान दिँदै अगुवा भक्त दरिन्छन् । भेडा तर्क, जिज्ञासा र आशंका भन्दा अगुवाको परमभक्त र विश्वासिला हुन्छन् । भेडा संस्कृति स्वीकार्न मान्छेलाई अत्यन्तै कठिन भएपनि भीडमा फेरिएपछि ऊ सहज, सरल हुन्छ र सुरक्षित ठान्छ ।
आफ्नो व्यवहार निर्देशित गर्न भीड मनोविज्ञानको सिद्धान्त अनुकुल प्रविधिको प्रयोग गरिन्छ । अभ्यासमा धर्म, राजनीति र व्यवसायका लागी प्रभाव बढाउन कलाको प्रायेग गरिन्छ । आतंक र लोभ अचूक हतियार बन्छन् । तब व्यक्ति, नीति, वा उत्पादनको हित अनुसारको सहज बनाइन्छ । प्रचारतन्त्रले वातावरण तयार गरेर लक्षमा पुग्ने योजना हुन्छ । व्यवसाय, विचार वा समूहसँग जनताको सम्बन्ध प्रभाव पार्न घटना सिर्जना गर्न वा आकार दिने निरन्तर प्रयास भीडतन्त्रको केन्द्रीय उद्देश्य हुन्छ ।
भीड तयार गर्न सर्वसाधारणलाई आवेगमय बनाउन अनिवार्य भएकाले राजनीतिक प्रदर्शन, धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रममा भेला गराएर प्रभाव पार्दै अपील गरिन्छन् । कृतिम भय स्रिजना गरेर नक्कली शत्रु तयार गरेपछि मात्र मान्छे झार उम्रेको दिमाग हल्लाउँदै विवेकहीन भीडमा खुरुक्क लुरुक्क परेर भीडमा सामेल हुन्छ । मैले यसबारे लामो लेख ‘मनोयुद्धमा’ लेखेको छु ।
वर्चश्वशाली तप्का कहिलेकहीँ विकसित शक्ति सन्तुलनको दवावका कारण नयाँ विचार र अवस्था स्वीकार्न वाध्य हुन्छ तर तुषको मौका ढुकिरहेको पनि हुन्छ । सामान्यजनले सामाजिक हलचल र उथलपुथल देख्न सकिराखेका हुँदैनन् । प्रतिरोध किन्न सक्ने सोंच र कला सत्ताका मूख्य औजार बन्छन् । महत्वकांक्षा र श्रेष्ठताका भोक सधै हतारमा हुन्छ ।
स्वतन्त्रताको बली सहजै दिएर ऊ भिडको अंशमा फेरिन सक्छ ।
मेरो आदर्शको पार्टी, पार्टी नरहेपछि चार दशकको संगठित जीवन त्यागीँ । संगठित शक्ति र भीड फरक हो । एकपटक बजारमा अंगुर किन्न थाल्दा झुप्पा अंगुरको मोलएकसयपचास थियो, झुप्पाबाट झरेका गेडा भने ३५ रुपियाका ।
–किन भाउ यति फरक ?
–व्यापारीः बाबुजी, हरेकचिजको मूल्य र महत्व झुप्पामा रहिन्जेल मात्रै हुन्छ, दाना कसले किन्ने हो र ? कसैले पनि दाना किन्दैन । दाना नटुटोस् भनेर हामी होसियार हुन्छौँ । छरिएका दाना त बेलुका रक्सी पार्नेले लैजाने हुन,नत्र त फाल्नु पर्छ । अंगुर खाने हैसियतकाले दाना कहिल्यै किन्दैनन, झुप्पै खोज्छन् ।
–अंगुर व्यापारीका कुराले संगठित जीवन र भीडको मनोभावबारे ठूलो शिक्षा दिइरहेको थियो । कतिपय भावना नमिल्दा पनि मानिसहरु सामाजिक सम्बन्धका कारण संगठित रहन चाहन्छन् । भीडमा मान्छे वा पशु सुरक्षित साेंच्छ । तर, केही मानिसको चेतनास्तर र विचारप्रति प्रतिबद्धता र सत्यका बुझाईले भने एक्लै पनि यात्राका जोखिम उठाउछन् ।
भिन्न सोंच, व्यक्ति र भूमिकालाई नपचाउने कारणले भीडका कथा कहिल्यै लेखिँदैन । रित्तो हुनु सकिनु होइन । पात झरेर रित्तिएका रुखमा पनि समय आए पछि पालुवा लाग्ने गर्छन् । मान्छेलाई भीडमा फेर्न चाहाने शक्तिको श्रेष्ठतावोध अहंकार बन्छ । कुम्भको दम्भ भएको शक्ति तार्किकताको सबभन्दा ठूलो शत्रु हो । एक्लो हिड्दा उठाउनुपर्ने जोखिमका कारण अधिकांस मान्छे बोल्ने खतरा मोल्न नचाहेर मौन बस्ने गर्छन । भीडबाट लतारिएका जनता जब गलत अडानबाट हाकिन्छन् तब उनलाई सच्याउन औधी कठिन हुन्छ ।
–सामाजिक, राजनीतिक वा निजी जीवनमा म जतिसंग हार्दिक भइ, नजिक भइ, माया, प्रेम र सम्मान लिए्,दिए, विश्वस्त भइ तिनलाई मैले नाङ्गै चिने, उनीहरूले पनि मलाई । आपसमा दिल, दिमाग र भूमिका नाङगो छाम्यौँ ।
हिम्मत, औकात, सक्कली वा नक्कली कुरा बुझ्दै गयौँ । गुण र वैगुन चिने, उनीहरूले पनि । त्यो चिन्नु, जान्नु र बुझ्नु नै हाम्राबीच सम्बन्धका तगारा बने । तर, फरक के रह्यो भने अधिंकासले कति उपयोगी हुनसक्छु सोंचे, मैले पनि उनीहरू कति मेरा टेका, भित्ता र छत होलान सोचिरहेँ ।
आज मेरा छाँयासम्म उनीहरु देख्न चाहँदैनन् म भने उनीहरूको सदा भलो होस् कुनै बेला फेरि आवश्यक पर्यो भने निसंकोच आउ, मेरा हात समाउ भन्छु । समान सोंच, सहयात्रा, समान संवेदनशीलता, समान सपना र समान लक्ष भइन्जेलमात्रै मित्रता हुन सक्छन् । यात्रा रहेछ,जिन्दगी । घुम्टीमा मित्र र विमित्र थपिंदै जान्छन्, छुटिँदै जान्छन् । कृतिम जिन्दगी बोझ हुन्छ । फेरिनुनै प्रकृतिको शाश्वत नियम हो ।
फेरिएका सबल पक्षले जीवनका सुखानुभूति बाँड्छन् भने फेरिएका खराब पक्षले नै त जीन्दगी सबैभन्दा पृथक ढ्ङ्गले बुझ्न प्रेरणा दिन्छ ।
उम्दा कविताको म गम्भीर पाठक हुँ । भीडबाट अलगिएको मेरो पृय कविले एकपटक भन्योः–एउटा मरिसक्यो, अर्को जन्मेकै छैन भन्दै जिउँदो कबिता छोडेर गयो ।
म जिउँदै सुतेको थिएँ, ऊ मरेर पनि जाग्राम रहेछ । भन्योः हे मित्र,..तँ बाँचेर बाचँेको छस् कि लास भएर ? । झल्यास् भईं । कविजी, अनि मरेको कविको एउटा जिउँदो कबिता । भीडबाट अलग्गिएको एउटा यायावरको सपना सामु थिए । के तपाई सपनीमा देखिएका मान्छे र मान्छेजस्ता भीडको चित्र कोर्न वा कविता लेख्न सक्नुहुन्छ ?