पंचायत ढल्नुमा आन्दोलन मात्र कारक थिएन

एकतीसबर्ष अगाडि निर्दलीय व्यबस्थाको विघटनपछि देशभरिका पंचहरुलाई संगठित र दलीय संस्कारमा परिवर्तन गर्दै वैकल्पिक सत्ताउन्मुख पार्टी बनाउने उद्देश्यले गठित राप्रपाभित्र सुरुमा नै दरबारले प्रवेश गर्यो र दुई टाउके जुम्ल्याहा भएर जन्म्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी नाम दिएर सूर्यबहादुर थापाको नेतृत्वमा गठन र घोषणाको सम्पूर्ण तयारी भए पछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा त्यही नामको अर्को पार्टी जन्म्यो, यो पनि मध्यरात ।

त्यसपछि घटनाक्रमहरु टुटफुटबाट नै गुज्रदै गए । राप्रपा कहिल्यै पनि सुसंगठित र एकताबद्ध हुन् सकेन । यसैबीच पंचहरूको एउटा सानो झुण्ड र कांग्रेसबाट पन्च भएका तर पुन कांग्रेस हुन् चाहेर पनि कांग्रेसबाट उपेक्षित भएकाहरु श्रीभद्र शर्मा र अनि रुद्रप्रसाद मिलेर दरबारको बिश्वास जित्नका लागि कीर्तिनिधिलाई अध्यक्ष बनाएर राष्ट्रिय जनता पार्टी गठन गरे ।


प्रथम आम निर्वाचनमा राप्रपा थापा समूहले सुदूर पश्चिमको कुनै जिल्लाबाट अकवरबहादुर सिंह नामका एकजनालाई मात्र विजय गराएर संसदमा प्रतिनिधित्व देखायो तर चन्द समूहले भने आफ्नो वर्चस्व स्थापित गर्न सकेन । तर एकताका अनेक प्रयत्न र विभाजका खेलहरु निरन्तर चलिरहे । राप्रपाको इतिहास भने पनि विगत यत्ति हो ।

थापा र चन्दको एकतापछि एकपटक एधार स्थानमा विजय प्राप्त गरे पनि त्यसको साख स्थापित गर्न सकेन । तर पनि पंचायती राजनीतिको लामो षडयन्त्रकारी राजनीतिक अनुभव भएकाहरुले एमाले र कांग्रेस दुवैलाई बिरालोले मूसा खेलाउदा झैँ खेलाएर चन्द र थाप दुबैले प्रधानमन्त्री पड्काए । यी सबै घटनाक्रममा दरवारको एउटा गुटको बलियो संलग्नता परोक्षतः देखिदै आएको थियो ।

राप्रपाभित्रको यो रडाको, पंचायती पद्धति र राजाको सक्रिय नेतृत्वको कालखंडदेखि कै वैरभावको परिणति हो । त्यतिबेला राजा वीरेन्द्रलाई प्रत्यक्ष परोक्ष दवाव दिएर सत्ता र शक्तिमा आफ्नो पकड खोज्ने ज्ञानेन्द्र र धीरेन्द्र शाहहरुलाई सूर्यबहादुर थापाले भूमिगत गिरोह भनेर दरवारपरस्तहरुलाई राजनीतिमा नयाँ शब्दावलीको भाष्य स्थापित गरे ।

यसैगरी कीर्तिनीधिलगायत केहीले थापा गुटलाई अन्तर्राष्ट्रिय तत्वको भरिया भनेर दुत्कार्ने गर्थे । पंचायती ब्यबस्था जोगाउने र फाल्ने सवालमा पनि २०४६ फागुनदेखि नै दरवार र पंचहरु दुबैतिर दुईधार देखियो र चर्को मतभेद भुसको आगो झैँ भित्रभित्रै फैलिएको थियो । यही अन्तरविरोधमा आन्दोलनकारीहरुको विनितमा बैदेशिक शक्तिले हात बढायो । यसैबीच अनुदारवादी पंचहरुका नाइके तुलसी गिरिको चासो एकाएक बढ्यो । तुलसी गिरीको चाहना पंचायतलाई अझ निरंकुश बनाएर चर्को दमनको नीति अख्तियार गर्नु नै थियो । तर यी सब प्रयत्न विफल भएर पंचायत ढल्यो ।

पंचायत ढल्नुमा आन्दोलन मात्र कारक थिएन, दरबारभित्रको अन्तरविरोध र अनेक शक्तिहरुको स्वार्थ विनिमय थियो । एउटा शक्ति केन्द्रको ठाउँमा बहुशक्ति केन्द्रको उदय र त्यसमा राजनीतिक पासा सहजरुपले पल्टने मार्गचित्र बनिसकेको थियो । त्यही मार्गचित्रमा अहिले पनि मुलुक गतिमान छ । त्यसैले अहिले राप्रपामा देखिएको खेल पनि दरबारको एउटा मृगमरीचिका नै हो ।

राष्ट्रवादी विद्यार्थी मण्डलको नाइके भएर फुटबल खेलाडीबाट राजनीतिक खेलाडी हुन् पुगेका कमल थापालाई हिजोका अनुदार पन्च र तिनका स्वामीले जुनढंगले उपयोग गराउन चाहेका थिए उनी त्यसरी भएनन् । कमल थापाले कांग्रेस, एमाले र माओवादीसँग समेत चतुर्याइपूर्वक आफ्नो मात्र फाइदाको काम गरिरहे र स्वामीको चाहनालाई पनि आफ्नो निहित स्वार्थमा प्रायोग गरे ।

अहिले राप्रपाको अधिवेशन र निर्वाचनमा उनको पराजयको कारण पनि यही हो । तर थापाबाट जुन ढंगको अभिव्यक्ति आइरहेको छ यसले उनको भित्री आक्रोशको लागि क्षणिक तुष्टी मात्र देला, उनलाई दीर्घकालीन राजनीतिक घाटा मात्र हुन् सक्छ । नेपालमा कुनै अनहोनी घटना भएन भने राजतन्त्र पुनस्र्थापनाको कुनै गुन्जायस छैन ।

हुन त राजतन्त्र फर्काउन अनेक खालका दाउपेच र अरु राजनीतिक दलले झैँ बिदेशी शक्तिसँग गुहार माग्ने काम नभएको होइन तथापि यसले आकार लिन सकेको छैन । राजतन्त्रको पक्षमा ब्यापक जनउभार ल्याउने र यसैमा टेकेर स्थापित गर्ने डिजाइन बनिरहेको अवस्थामा राप्रपाका पराजित नेता थापा र पूर्व राजा ज्ञानेन्द्र एवं हिमानी बीचको दन्तबझान्ले स्थितिलाई अर्कै मोडमा पुर्याउन सक्छ ।

अर्को एउटा मुख्य बिषय के छ भने कमल थापा राजनीतिक रुपले त्यति इमान्दार र विश्वासिला रहेनछन् भन्ने राप्रपाका आम कार्यकर्ता र हिजोका दरवारका भित्रियाहरूको बुझाइ छ । यसले पार्टी भित्रको उनको बाकी बर्चस्वलाई छिन्न दरवारियाहरुलाई केही समय त लाग्ला नै तर पनि कमल थापाका कारण पूर्व राजपरिवारको मृगतृष्णा पुरा गर्न संसदवादी दलहरुको हरियो झण्डा बेगर सम्भव छैन र यसको प्रयत्न पनि नजिकै आइरहेको अनुमान पनि गरिंदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया