
म चन्द्रकला उप्रेती २०५२ सालदेखि २०६३ सालसम्म चलेको नेपालको सशस्त्र द्वन्द्वको क्रममा भएका गम्भीर मानवअधिकार उल्लघंनका घटनाको प्रत्यक्ष पीडा भोग्ने पीडित हुँ । मेरा पति भुपेन्द्रराज उपे्रतीलाई सुरक्षाकर्मीहरुद्वारा मिति २०६०/०८/२३ गते गैरकानूनी पक्राउ गरी थुनामा लिई यातना दिनुका साथै आजसम्म वहाँलाई बेपत्ता पारिएको बनाई राखिएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान गरी न्याय तथा उपचार पाउँ भनिे लामो समय देखि विभिन्न निकायहरुमा याचना गर्र्दै आए तर श्रीमानको अत्तो पत्तो लाग्न सकेको छैन ।
मिति २०६०/०८/२३ गते बाँके जिल्लाको नेपालगञ्जको धम्बोझी चोकमा गौरी बिनायक टेड्रर्स कन्र्सन नाम गरेको आफ्नै हार्डवेयर पसल अगाडीबाट मेरा पतिलाई पक्राउ गरियो । पसल अगाडी उभिई श्रेत्री थरका यातायत ब्यवशायीसंग कुराकानी गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुआई मेरा पति भुपेन्द्रराज उप्रेतीलाई जबरजस्ती नियन्त्रणमा लिएका थिए । नियन्त्रण लिए पश्चात सुरक्षाकर्मीहरुले मेरा पतिलाई केही समय नेपालगञ्जको विरेन्द्र चोकमा राखेको कुरा मेरो भाई नाताका तत्कालिन समयमा नेपालगञ्ज वडा नं. २ मा ब्यापार व्यवसाय गर्ने श्रीकृष्ण प्रसाईले समेत देखेका थिए । मेरा पतिले निज श्रीकृष्ण प्रसाईलाई आत्तिदै ‘मलाई आर्मीले पक्राउ गरेर लैजान लागेको छ, यो कुरा घरमा र मामा अच्युत प्रसाईलाई तुरुन्तै भनी दिनु’ भनेर भन्नु भएको समेत रहेछ । सुरक्षाकर्मीहरुले मेरा पतिले श्रीकृष्णसँग कुरा गरेको थाहाँ पाए पछि अरुसँग किन बोलिस भन्दै उहाँलाई हकारेको र निज श्रीकृष्ण प्रसाईलाई समेत सो ठाँउमा किन आएको भन्दै तुरुन्त गईहाल नत्र तलाई पनि गोली हानी उडाई दिन्छौ भन्दै बन्दुक तेर्साइ धम्क्याएका रहेछन् ।
घटनाको तीन चार दिन पछि मध्यपश्चिम पृतना हेडक्वाटर इमामनगर राँझा ब्यारेकमा खसी तथा मासु आपुर्ति गर्ने एकजना ठेकेदारसँग नेपालगन्ज स्थित मुस्लिम टोलमा भेट भयो । निज ठेकेदारले मलाई मेरा पति भुपेन्द्रराज उप्रेतीलाई राँझा ब्यारेकमा भेटेको कुरा सुनाउनु भयो । मेरा पतिले उनीसंग म एक दुई दिनमा घर आउँछु, पीर नगर्नु, बच्चाहरुको राम्रो हेरविचार गर्नु, घर खर्चको लागि चिनेका व्यक्तिहरुसँग सापटी लिनु, आएर तिरौला भनि मलाई भनीदिनु भनि सन्देश पठाउनु भएको रहेछ । त्यसैगरी निज पतिलाई पक्राउ गरिएको सत्रौँ दिनमा उहाँसँगै पक्राउ परेका निज सुनील क्षेत्री उक्त ब्यारेकबाट थुनामुक्त भै घर फर्किएको खबर तिनै आर्मि ब्यारेकमा मासु पु¥याउने ठेकेदारबाट पाएँ । यो कुरा थाहाँ पाउने बित्तिकै म निज क्षेत्री थरका ब्यक्तिको घरमा गए र उहाँको बारेमा सोधपुछ गरे । निजले मलाई आफु बाघको मुखबाट बाँचेर आउन सफल भएको बताउदै पति भुपेन्द्रराज उप्रेतीसँगै आफु तीन दिनसम्म उक्त ब्यारेकमा थुनामा बसेको र त्यसपछि भुपेन्द्र र आफुलाई सेनाले अलग अलग गरिदिएकाले त्यस पछिको अवस्थाका बारेमा थाहाँ नभएको बताएका थिए । उनले ब्यारेकका लागि मासु पु¥याउने ठेकेदार र तरकारीवालासँग खबर पठाउँदा समेत घर परिवारले ठुला मानिसहरुसँग भनसुन नगरेको, थुनामुक्त गराउने गम्भीर प्रयास नगरेको भन्दै पति केही आक्रोसित र सेनाले मार्छकी भनी डराएको अवस्थामा हुनुहुन्थ्यो भनि बताएका थिए । साथै उनले सेनाले मेरा पति भुपेन्द्रराज उप्रेतीलाई पनि कुटपिट गरेको कुरा बताएका थिए । यातना र सेनाको धम्कीका कारण उनि उक्त ब्यारेक भित्रका कुराहरुबारे खुलेर बोल्न सक्ने स्थितिमा देखिदैनथे ।
यसपछि मैले पतिको खोजी कार्य अझ बढाए । खोजतलास गर्ने क्रममा म पटक पटक उक्त ब्यारेकमा गएँ । तर ब्यारेककोे गेटमा डिउटीमा खटिएका नाम पद थाहाँ नभएका सुरक्षाकर्मीले तिम्रो श्रीमानलाई पक्राउ नै नगरेको बताउदै आईन्दा खोजतलास गर्न नआउनु भनि मलाई हकार्थे । घटना घटेको २२ दिनको दिन पतिको सोधखोजको लागी उक्त ब्यारेकमा जाँदा पनि गेटमा बसेका सेनाले तिम्रो पतिलाई पक्राउ नै गरिएको छैन भन्ने जवाफ दिए । मैले किन पक्राउ गर्नु भएको छैन, संगै पक्राउ परेका यहिबाट छुटे भने । ती कर्मचारीले यहाँ भित्र ल्याईसके पछि कसैलाई मारिन्न । कतै राखेको होला बुझेर खवर गरौला भनी जवाफ दिएका थिए । तर पछि पटक पटक उक्त ब्यारेकमा गएर र फोन मार्फत सोध्दा हामीलाई थाहा छैन भन्ने जवाफ दिए । घटनाका बारेमा प्रहरी प्रशासनतिर बुझ्न जाँदा त्यहाँका अधिकारीहरुले समेत माओवादी हराएकोमा केही फरक पर्दैन, आइन्दा खोज्न नआउनु भनी धम्की दिन्थे ।
मेरो पति नै हाम्रो परिवारको गाँस, बास, कपास र शिक्षा दिक्षा लगायतको सम्पूर्ण जिविकाको एकमात्र श्रोत हुनुहुन्थ्यो । उहाँलाई वेपत्ता पारिदिए पछि वहाँले सञ्चालन गर्दै आउनु भएको हार्डवेयरको पसल बन्द हुनुका साथै हाम्रो परिवारले विभिन्न आर्थिक समस्याहरुको सामना गर्नु परेको छ । बेपत्ता पतिको खोजी र न्यायका लागि प्रयास थालेको आज १८ बर्ष पुग्नै लाग्दा यस बिचमा हाम्रो सम्पूर्ण परिवारले आर्थिक, सामाजिक र मानसिक लगायत थुप्रै किसिमका पीडाहरु भोग्नु परेको छ ।
वेपत्ता पतिको खोजी गर्दै बिभिन्न संस्थामा निवदेन दिएँ । धेरै पटक प्रहरी प्रशासन धाएर उजुरी गरे । राष्ट्रिय मानवअधिकार आयोग गए । वेपत्तालाई देशको कानूनले अपराधिकरण नगरेको, अनुसन्धान र सजायका लागि समेत कानूनमा कुनै व्यवस्था नभएकाले संक्रमणकालीन न्याय अन्तर्गत अनुसन्धान हुने भनि बेपत्ता पाारिएका मेरा पतिको बारेमा राज्यको कुनै पनि निकाय एवं अधिकारीले प्रभावकारी अनुसन्धान गरी स्थिती सार्वजनिक गर्ने भुमिका निर्वाह गरेनन् । सबैले संक्रमणकालीन न्याय अन्तर्गत वेपत्ता सम्बन्धी आयोग स्थापना गरी त्यसै आयोगले अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउने र विशेष अदालतमा मुद्दाको कारवाही गर्ने भनि बताउदै आएको अवस्था रह्यो । संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने भनि हाल बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पारित गरी आयोग गठन गरे पनि यी आयोगहरुलाई शुरुदेखी नै निष्प्रभावी बनाइएको छ । सर्वोच्च अदालतबाट उक्त ऐनका कतिपय व्यवस्था बदर गर्दै ऐनमा संशोधन गर्नु भनि २०७१ सालमा आदेश जारी भएको छ । अदालतको उक्त आदेश लगायत सम्बन्धित अन्तर्राष्ट्रिय कानून तथा मुल्य मान्यता बमोजिम उक्त कानूनमा संसोधन भै आयोगहरुको गठन नगरिएकाले यी आयोगहरु निष्प्रभावकारी बनाइएका छन् । यसका अतिरिक्त बेपत्ता लगायतका द्वन्द्वकालीन मुद्दा हेर्ने विशेष अदालत अझै गठन भएको अवस्था समेत छैन् ।
मैले मेरो पतिको यथार्त स्थिति पत्ता लगाईदिन बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगमा उजुरी दर्ता गराएको ६ बर्ष व्यतित भैसक्दा समेत प्रभावकारी अनुसन्धान गरि बेपत्ताको यथार्थ अवस्थाको बारेमा मलाई जानकारी दिने, दोषीलाई कानूनी कारवाहीको सिफारिश गर्ने र न्याय तथा परिपुरण दिलाउन कुनै काम हुन सकेको छैन । यस्तो अवस्थामा निष्प्रभावी तथा अप्रभावकारी संक्रमणकालीन न्याय संरचनालाई देखाएर अनन्तकालसम्म पीडितको न्याय पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन । ढिलो न्याय दिनु भनेको न्यायको इन्कारी गरि हो । अधिकारकर्मी कानून ब्यवशायीको साथ सहयोगमा न्याय पाउने आसमा प्रहरीमा जाहरी दर्ता गर्न खोज दर्ता गरिएन । त्यस बिरुद्धमा सरकारी वकिलमा निवेदन दिए त्यहा पनि उजुरी दर्ता गरिएन । अहिले बाध्य भएर जाहेरी दर्ताको आदेश गरि पाउ भनेर उच्च अदालत नेपालगन्ज इजलासमा परमादेशको रिट निवेदन दर्ता गराएकी छु । आशा छ अदालतबाट पक्कै न्याय पाउने छु ।
बेपत्ता श्रीमानको लास र सासको अवस्था थाहा नपाउदा म लगायत धेरै बेपत्ता परिवाहरु न्याय पाउने नपाउने आशा र निराशाको दोसादमा रहेका छन् । सामाजिक लाल्छना सहनु परेको छ । एकल न दोकलको अन्योलतामा जिवन जिउन बाध्य हुनु परेको छ । हरेक दिन बेपत्ता पतिको सम्झनाले सताउने गरेको छ । साँझमा कुकुर भुकेको बेला होस वा टाढाबाट घरतर्फ कोही आईरहेको अवस्थामा पतिको सम्झना आइहाल्छ । बेपत्ता पारिएका श्रीमानको खोजखवरका लागी कहिले मानव अधिकारका कार्यालय त कहिले द्वन्द्व पीडितका आन्दोलनमा धाईरहदा न दिनको भोक छ न त रातको निन्द्रा नै । बेपत्ताको पतिको खोजीक लागी १८ बर्षदेखि संघर्षरत छु तर पनि बेपत्ता श्रीमान कहा के कस्तो अवस्थामा हुन हुन्छ भन्ने बारेमा घटनाको सत्य तथ्य थाहा पाउन सकेकी छैन । अव त श्रीमानको मर्दो जिउदोको कुनै खवर मरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।
मेरा पति भुपेन्द्रराज उप्रेतीलाई २०६० सालको मंसिर २३ गते सुरक्षाकर्मीले पक्राउ गरेर बेपत्ताको गरेको पनि १८ बर्ष पुरा भएछ । बेपत्ता पारिएका पति भुपेन्द्रराज उप्रेतीको अनुपस्थितिमा मैले कसरी १८ बर्ष कटाए, कसरी बालबच्चा हुर्काए सम्झना आङ्गै सिरिङ्ग भएर आउछ । कैयौ रात रुदै श्रीमानको सम्झनामा नसुती कटाए, कसरी पीडा सहदै आए सम्झेर आउँदा आफै कता कता हराएझै लाग्छ ।
कामना गर्छु मलाई जस्तो पीडा कसैले भोग्नु नपरोस । भबिश्यमा कसैले बेपत्ता हुन नपरोस । भो अव त अति भो हामी पीडितलाई कति रुवाउछौ सरकार ? अव त भनिदेउँ हाम्रा मान्छे कहाँ छन् ? भनीदेउ सत्य तथ्य । अव धेरै पीडा सहन गर्न सकिदैन सरकार । न्यायको अनुभुति दिलाउने काम गर सरकार । (लेखक न्यायका लागि द्वन्द्व पीडित समाज बाँके अध्यक्ष हुन् ।)