नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका
लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको
छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका
प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिनुभएको हो । बिकास
निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले
आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण
कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले
बिकासको गति पछि धकेलिएको स्मरण गराउनु भयो ।
करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले
कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने
प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दै
मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई
सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न
लगाउनुपर्ने बताउनुभयो ।
त्यसक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायत
जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको
कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिने
काम भएको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने
प्रतिवद्दता जनाएका छन । यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका
कार्यालय प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । राष्ट्रिय युवा परिषदको
कार्यक्रममा सहभागी हुन बाँके पुग्नुभएका मन्त्री अथक आज काठमाण्डौं
फर्किनुभएको छ ।