नेपालगंज वा नेपालगन्ज ?

मेरो थर चापागाईं ! स्कुलमा लेख्दा Chapagai लेखियो । SLC सम्म त्यहि कायम रह्यो । सोहि आधारमा आइएस्सी र स्नातक गरियो । कलेजमा पढ्दा एक जना प्रसाईं थरको साथी थियो। उसले पनि थरको स्पेलिङ Prasai मात्र लेख्थ्यो । विभिन्न ठाउँबाट प्राप्त हुने चिठी/कार्ड र कतै कुनै लिस्ट बन्दा मेरो थर Chapagain भएको पाउँथे भने उसको Prasain ! हामी कतिपय अवस्थामा कतै थर टिपाउँदा बिगारिदेलान् कि भनेर आफ्नो स्पेलिङ नै उच्चारण गर्ने गर्थ्यौं । उसलाई त था भएन, मलाई चैं बेलाबेलामा आफ्नो थरको स्पेलिङ गतल लेखेछु कि क्या हो भन्ने लागिरहन्थ्यो ।

पासपोर्ट बनाउने बेलामा सच्याउने मौका यहि हो भनेर थरको स्पेलिङको अन्त्यमा n थपें । तर कलेजको सर्टिफिकेटमा त n थिएन । पछि भिसा लगायत कुरामा निकै दुख पाएपछि मैले मेरो पासपोर्टको n झिक्ने निर्णय गरें । अनि फेरी एक पटक जिल्ला प्रशासनको चक्कर काटेर थरबाट n ‘एक्टोमी’ गराएँ। कताकता अशुद्ध लाग्ने त्यहि थर आज मेरो पहिचान हो ।

दोश्रो चरणको कोभिड सुरु भएपछि भेरी अस्पतालको PCR Lab को रिपोर्ट बिश्लेषण गर्न सुरु गरें।  अघिल्लो लहरमा अस्पतालले पोजेटिभ आएकाहरूको रिपोर्टबाट केहि व्यक्तिगत विवरण ‘एडिट’ गरेर फेसबुक पेज मार्फत सार्वजनिक गर्थ्यो। थोरै संख्यामा मात्र पोजेटिभ हुँदा यो स्कृनसट विधि पनि ठिकै थियो । तर बैशाख १ गते देखि नै ७५ भन्दा बेसी बिरामीको एकै दिनमा पोजेटिभ आउन थालेपछि त्यो अमिल्दो हुन थाल्यो । महामारीको ‘ट्रेन्ड’ को बारेमा पनि त्यसरी रिपोर्ट सार्वजनिक गर्दा कुनै निष्कर्ष ननिस्कने हुँदा विभिन्न आधारमा “समराइज” गरि सार्वजनिक गर्ने निर्णयमा म पुगें । ल्याबबाट आउने रिपोर्टहरू केलाउन थालेपछि मलाई तथ्याङ्कका विविध पक्षका बारेमा रस पस्दै गयो । जति घोत्लिदैं गयो तेति तेति हाम्रा कमजोरीहरू पनि देखा पर्दै गए। कसैले कहिल्यै नगर्नु भन्दा ढिलै भए पनि ति कमजोरीको गहनता सबैले बोध गर्नुपर्छ र सरोकारवाला निकायबाट यसको सम्बोधन गरिनुपर्छ भन्ने यो आलेखको उद्देश्य हो । 

कोभिडको व्यवस्थापन नेपालमा चुनौतिपूर्ण हुनुको धेरैमध्ये एउटा कारण हामीसँग भरपर्दो तथ्यांक नहुनु हो। कुन बिरामी कुन ठाउँको हो, त्यो उसको हालको बसोबास भएको ठाउँ हो वा उसको स्थायी वासस्थान हो, उ कतै गएको थियो वा जानेवाला छ ? यस्ता विवरणहरू हामीले मिहिन रुपमा लिनै बिर्सेका छौं। जब कुनै दिन त्यस दिन पहिचान भएका ४०० बिरामीहरूको जिल्ला र पालिका अनुसार ‘सर्ट’ गर्न थाल्थें, त्यसको भेरिएसन देखेर अचम्म लाग्थ्यो । एउटै पालिका हो, तर कसैले पालिकाको नाम के लेखेका छन्, कसैले के । जस्तो कि बर्दियाको बाँसगढी नगरपालिकाकै स्पेलिङ ८-१० शैलीमा लेखिएको हुनेरहेछ। बुझ्नलाई त अलिअलि वर्ण मिले पनि बुझिन्थ्यो, तर स्पेलिङमा एकरुपता नहुँदा डाटा सर्टिङ वा पिभोट टेबलको प्रयोग गरेर भेरिएबलहरूलाई एकिकृत गर्दा गडबड हुने गरेको पाइयो । ‘डाटा भ्यालिडेसन’ नगरि हुने म्यानुअल डाटा इन्ट्रिमा यो गल्ति बेसी हुने नै भयो । कोभिडको तथ्यांक लिनको लागि IMU को प्रयोग सुरु भएपछि यो क्रम केहि कम भए पनि  पूर्णरुपमा भने हटेन । कारण के रहेछ भने कोभिड सम्बन्धि तथ्यांक व्यवस्थापनको लागि IMU मात्र नभइ विभिन्न कार्यालयहरूले आआफ्नो सहजता अनुसार वभिन्न सफ्टवेयरहरू प्रयोग गरिरहेका छन्, र ति सफ्टवेयरमै जिल्ला र पालिकाको नामको स्पेलिङमा एकरुपता छैन।

हुन त “बुझे भै गो नि” वाला स्वच्छन्द शैलीले पनि आजकाल प्रश्रय पाइरहेको हुन्छ । तर देशका पालिकाको स्पेलिङ नै गलत भेट्दा सुरुमा त ति सफ्टवेयर कम्पनीकै हेल्चक्र्याइँ होला जस्तो लागेको थियो। तर उनीहरूसँग सोध्दा सबैले आफूले नेपाल सरकारकै लिस्टलाई फलो गरेको भन्ने जवाफ हुन्थ्यो। कसैले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको, कसैले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयको, कसैले अर्थ मन्त्रालयको, कसैले निर्वाचन आयोग त कसैले केन्द्रिय तथ्यांक विभाग आदिको सुचीलाई आधार मान्दारहेछन्। सबैको स्पेलिङ समान भएको भए त कुनै दुविधा नै नहुने रहेछ, तर यहाँ मुख्य निकायहरूले नै आआफ्नो शैलीको स्पेलिङ प्रयोगमा ल्याएकोले समस्या रहेछ ।

बिडम्बना भन्नुपर्छ नेपाल सरकारले हालसम्म आफ्ना ७५३ पालिकाको आधिकारिक नाम र त्यसको अंग्रेजी हिज्जे सार्वजनिक गरेको भेटिन्न । हुन त संघीयताको खिचातानीमा कतिपय पालिकाको नाम र केन्द्र अझै पनि संशोधन हुँदैछन्, तर पनि राज्यले एक पटक त आफ्ना सबै पालिकाको नाम र वडा संख्या सबैको जानकारीको लागि आधिकारिक रुपमा सार्बजनिक गर्नुपर्ने हो । एकपटक यसरी राजपत्रमै प्रकाशित गर्दा कुन वैधानिक हो भन्नेमा कतै पनि अन्यौल हुने थिएन । राज्यले पनि आफ्नो मातहतका सबै निकाय, देश र बिदेशमा कतै प्रयुक्त हुँदा पनि आफ्ना ठाउँहरूको नाम र स्पेलिङमा एकरुपता ल्याउन सक्थ्यो । 

कतै त होला आधिकारिक निर्णय गरेर प्रयोगमा ल्याएको नामनामेशी भनेर निकै खोज्दा पनि भेटिएन। आसन्न राष्ट्रिय जनगणनालाई विचार गर्दा केन्द्रिय तथ्यांक विभागको विवरण पक्कै पनि अपडेटेट र शुद्ध होला भन्ने निर्क्यौलमा म पुगें। निकै प्रयासपछि त्यो सुची हात पर्यो । पहिलेको भन्दा यो विवरणमा धेरै कुरा त मिलाइएको रहेछ, तर कतिपय कुराहरू यसै मिलाउन पनि नमिल्ने भएर होला वा सहजै खुट्याउन नमिल्ने खालको भएर होला, ‘गलत लाग्ने जस्तो’ नै बोके जस्तो देखियो । 

सबै भन्दा ठूलो समस्या जनजातिको लवजबाट आएका नामहरूमा देखिन्छ । पूर्वका किराँत बहुल स्थानहरूको नाममा ‘ङ’ धेरै प्रयोग हुनेरहेछ । पाँचथरको हिलिहाङ्ग गाउँपालिकाको स्पेलिङ Hilihan देखिन्छ भने सोहि जिल्लाको अर्को पालिका फालेलुङ  को Falelung ! मसँग भएको विवरणमा हाल फालेलुङ कायम गरिएको नाम पहिले फालेलुङ्ग थियो भन्ने जनाउ छ । अन्तिममा ङ वर्ग आउने पालिकाको नाम n लेख्ने वा ng लेख्ने ? ङ्ग लेख्ने वा ङ मात्र लेख्ने ? यसमा एकरुपता ल्याउन पर्छ ।

बिचमा साँवा अक्षर भएको फाकफोकथुम को स्पेलिङ Fakfokathum राख्दा क हुन्छ वा का ? वर्णविन्यास अनुुुसार ‘क्ष’ क् + ष् वर्णको संयुक्त अक्षर हो र यसको स्पेलिङ Ksh हुनुपर्ने हो । तर बराहक्षेत्र गाउँपालिकालाई Barahachhetra भन्दा क्षेत्र  हुन्छ कि छेत्र ? 

संघियाताको कार्यान्वयन हुनुभन्दा पहिलाका हाम्रा निकायहरुका नाम धेरैजसो ‘माथि’बाट निर्देशित जस्ता थिए तर अहिले हाम्रा राजनीतिक संरचनाहरुका नाम स्थानीय धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, सम्पदा र इतिहासमा आधारित छन्। ती नामहरुको खास इतिहास विशेष अर्थ हुने गर्दछ । अत: ती स्थान वा संस्थाको नामलाई आफ्नो बुझाइको अर्थमा लेखिनु दुःखलाग्दो कुरा हो ।मगर भाषामा बाङ भनेको चौर वा खुला ठाउँ भन्ने हुन्छ । मगर बाहुल्य ठाउँमा बाङ्सँग जोडिएका धेरै नामहरु छन् । रोल्पाको थबाङ् पनि एउटा हो । बाङ् को शुद्ध अंग्रेजी हिज्जे ‘Bang’ हो ‘Wang’ होइन । मैले फेला पारेको स्थानीय निकायको सूचिमा थबाङ्को हिज्जे Thawang छ ।

सूर्योदय कि सुर्योदय, सहिद कि शहीद, बिदेह कि विदेह, बिन्दबासिनी कि बिन्दवासिनी वा विन्ध्यवासिनी ?  बेंसी कि बेसी वा बेँसी ? ख्वोला कि खोला, केदारस्युँ कि केदारस्यूँ, ब्यास कि ब्याँस, के.आई.सिंह कि के.आई.सिं, लम्कीचुहा कि लम्किचुहा कि लम्कि चुहा ? नेपालीमा लेख्दा नेचासल्यान लेख्ने तर अंग्रेजीमा विग्रह गरि Necha Salyan लेख्दा असंगति भएन ? पाँचखपन को अंग्रेजी Panchakhapan कसरी हुन सक्छ ? सवरन को Sabaran नै हो त ? ठोरी (सुवर्णपुर) गाउँपालिका लेखिएकोमा अंग्रेजी महलमा Thori Rural Municipality मात्र कसरी ? चाहे जे लेखियोस्, यसको शुद्ध र आधिकारिक यो हो भनेर राज्यबाट प्रमाणित कुनै दस्तावेज त चाहियो नि । 

नेपाली लेखनमै यति फरक भैरहेकोमा अझ अंग्रेजी हिज्जेमा लैजाँदा त झन केहि नयाँ नियम र परिभाषा नै बाँध्नु पर्ने जस्तो देखिन्छ । फ को स्पेलिङ f राख्ने कि Ph, व को b राख्ने वा v वा w ? शब्दको विचका अंग्रेजीमा consonant पछि a छ भने त्यसले नेपाली व्यञ्जनमा आकार लगाउने वा सावाँ राख्ने, आकारको लागि एउटा a को प्रयोग गर्ने वा दुइटा ? त्यसमा पनि एकरुपता ल्याउने प्रयास भए राम्रो। इन्टरनेटको बढ्दो प्रयोग र Transliteration सफ्टवेयरहरूको प्रयोग गरेर रोमनमा लेखेर नेपालीमा कन्भर्ट गरेर लेख्दा वर्णविन्यासका आधारभूत नियमहरू कुनै आधिकारिक निकायबाट प्रमाणित गरेर  सार्वजनिक हुँदा हाम्रै लेखाइ शुद्ध हुने थियो । S ले स हुन्छ भने, Sh ले श ! ष लेख्नु पर्यो भने कसरी लेख्ने त ? th बाट थ पनि हुन सक्छ, अनि ठ पनि, dh बाट ध पनि अनि ढ पनि ! यीनका निश्चित मानक बनाएर नयाँ पिठीलाई पढाउन ठाउँका नाम भन्दा राम्रो दृष्टान्त अरु नहोलान्।

खोज्दै जाने हो भने यस्ता असंगतिहरु धेरै नै छन् । यहाँ सबै ठाउँमा गल्ति लेखिएको छ  पनि म भन्दिन । गाउँपालिकाहरूले आफ्नो रुपमा सहि नै लेखिरहेका हुन सक्छन् तर केन्द्रको तथ्यांकमा उनीहरूको नाम गलत तरिकाले राखिएको पनि हुन सक्छ। यो कुनै व्याकरणिय खोचे थापाई मात्र होइन। विभिन्न श्रोतहरूले प्रयोग गर्ने यस्ता नाममा एकरुपता नहुँदा एउटा ‘सिस्टम’ ले जनेरेट गरेको डाटा अर्को सिस्टमले नबुझने समस्या बढ्दो छ। यसमा गल्ती कसले गर्यो भन्दा पनि यसतर्फ आजसम्म किन आँखा परेन भन्ने हो ?

सरकारी निकायहरूले सर्वसाधारणको निम्ति राखिदिने सुचनाको व्यवस्था हेर्यो भने भाउन्न भएर आउँछ । यस प्रकारका विवरणहरू प्रमाणिकरण गरेर रेफरेन्सको लागि pdf मा राखिदिए पनि अन्य प्रयोजनको निम्ति doc, excel वा csv मा राखिदिए त्यस क्षेत्रमा चाख भएका व्यक्तिहरूले पनि विभिन्न अपडेटहरू अद्यावधिक गर्थे होलान् । तर सुचना भनेको दस्तखतै भाको, छापै लाको मात्र मान्य हुन्छ भन्ने जसरी फोटो वा pdf मात्र राखिदिंदा विभिन्न स्तरका अपडेटबाट चुक्न पुग्छन् । 

भर्चुअल क्लास र भ्वाइस कमान्ड अपरेटेड ग्याजेट्हरूको प्रयोगले नयाँ पुस्ता लेखाइमा झन कम चासो दिन थालेका छन्। यस्तोमा उनीहरूमा शुद्ध लेखनको महत्वलाई जोड दिन पनि केहि त उदाहरण र मापदण्ड तय गरिदिनुपर्ने हो । 

नेपाली भाषाको बिकास हेर्ने हो भने पृथ्वी नाराणय शाहको पालाको दिव्योपदेशमा एउटा भाषाशैली देखिन्छ भने जंग बहादुरको पालामा बनेको मूलुकी ऐनमा त्यो भन्दा केहि फरक ।२०३०-३२ सालसम्मका गोरखापत्रका पुराना अंक हेर्दा पनि त्यो भाषा ऐले र पहिलेको भन्दा केहि फरक देखिन्छ । तर रोमनमा च्याट र स्टाटस लेख्ने नयाँ पुस्ताको शैली हेर्दा हामीले नयाँ पुस्तालाई केहि मार्गनिर्देश दिन सकेनौं भने हाम्रो नेपाली भाषाको पहिचान नै मासिंदै जाने खतरा देखिन्छ। 

अझै पनि केहि बिग्रिसकेको छ जस्तो लाग्दैन । यो दुविधा समाधानको निम्ति सरकारले केन्द्रमा एउटा विज्ञहरूको समुह गठन गरि विभिन्न मापदण्डको आधारमा हालका पालिकाहरूको नामको मस्यौदा पेश गर्न अऱ्हाउनसक्छ । त्यसपछि त्यो नामलाई अनुमोदनको लागि सम्बन्धित पालिकामा पठाउने र त्यहाँबाट सोको अनुमोदन भएर आएपछि मन्त्रिपरिषदबाट पास गराई राजपत्रमा प्रकाशित गर्न सकिन्छ । यसरी तयार भएको पालिका विवरण सबैको पहुँचको निम्ति सरकारी वेबसाइटहरूमा राख्न सकिन्छ। त्यसमा पालिका अनुसार वडाको संख्या पनि खुलाइदिए सुनमा सुगन्ध !

यदि सबै सरकारी निकायले जिल्लाको नामको हिज्जे र त्यसको संकेत नं, पालिकाको नामको हिज्जे र त्यसको संकेत प्रयोग गर्छन् तब GIS को प्रयोगबाट गरिने विभिन्न तथ्याङ्किय विश्लेषणहरू सहज र वस्तुपरक हुनसक्छन् । 

यो गर्न कुनै ठूलो योजनै बनाउन पर्ने वा दातै गुहार्न पर्ने पनि होइन होला । सहजिकरणको निम्ति प्रज्ञा प्रतिष्ठान, अध्ययन  केन्द्रहरू वा स्वतन्त्र प्राज्ञको सहयोग लिन सकिन्छ । हेर्दा यो कुरा खासै ठूलो लाग्दैन तर यसले यस क्षेत्रमा काम गर्ने धेरैको टाउको दुखाइ कम गर्नेछ। विभिन्न श्रोतबाट उत्पादन हुने डाटामा एकरुपता भइ महामारी लगायतका विश्लेषणमा सहयोग पुग्नेछ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नो औपचारिक र आधिकारिक नाम रहनेछ । यो नगरे पनि कुनै पहाडै त खस्नेछैन, तर पहिचान र तथ्याङ्कमा भने हामी कुहिरोको काग झै रुमल्लिइरहनेछौं।

प्रतिक्रिया

प्रतिक्रिया