प्रदेश खेलकुद परिषद् लुम्बिनी कार्यकारी समितिको दोस्रो बैठक सोमबार प्रदेश सरकारको शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा बसेको छ । प्रदेश खेलकुदका सदस्य सचिव भीम ओलीका अनुसार, विभिन्न महत्वपूर्ण निर्णय गरेको बैठकले मन्त्रालयसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

‘मन्त्रालयसँग परिषद्का लागि कर्मचारी माग गर्ने कुरा अगाडि बढाएका छौं’, सदस्य सचिव ओलीले बैठकको निर्णय जानकारी दिंदै भने, ‘परिषद्को खाता सञ्चालन गर्ने, जिल्लामा बजेट निकासा गर्न मन्त्रालयलाई अनुरोध गर्ने, आर्थिक बर्ष २०७८÷०७९ मा विनियोजित खेलकुद बजेट परिषद्मा पठाउन माग गर्ने निर्णय भएको छ ।’
खेलकुद परिषद्ले खेल गतिविधिका लागि आफुहरु सक्रिय हुनलाई गाह्रो भएको भन्दै कामका लागि सहज वातावरण बनाइदिन मन्त्रीसँग अनुरोध पनि पदाधिकारीहरुले गरेका छन् । ‘कार्यालय व्यवस्थापन गर्ने निर्णयसँगै कामका लागि सहज वातावरण बनाइदिन मन्त्रीज्यूसँग अनुरोध गरेका छौं’, सदस्य सचिव ओलीले दैनिक नेपालगन्जसँग भने ।