नेपाल व्यवसायिक बाख्रा पालक व्यवसायी महासंघ बाँकेमा तुल बहादुर कंडेलको नेतृत्व
उत्पादनको तुलनामा माग निकै भएपनि बाँकेका बाख्रा पालक कृषकहरु लगानीको अभावमा रहेको गुनासो गरेका छन् । बाख्रा पालक व्यवसायीहरुको संगठन, नेपाल व्यवसायिक बाख्रा पालक महासंघको जिल्ला अधिवेशनमा अगुवा कृषकहरुले भौतिक पूर्वाधारका लागि लगानी नहुँदा अपेक्षित उत्पादन दिन नसकिएको बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरुले भौतिक पूर्वाधारमा लगानी गर्दैनन्’, नेपाल व्यवसायिक बाख्रा पालक व्यवसायी महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष तुल बहादुर कंडेलले भने, ‘बाख्रा पालनका लागि पूर्वाधार पहिलो सर्त हो ।’ लगानी अभावबारे प्रष्ट पार्दै बाँकेका अगुवा कृषक कंडेलले पूर्वाधारमा लगानी गर्दागर्दै अपेक्षित उत्पादनका लागि किसान कमजोर भैसक्ने धारणा राखे ।
कंडेलको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको नेपाल व्यवसायिक बाख्रा पालन महासंघले जिल्लाका ३ सय ५० व्यवसायिक बाख्रा पालक किसानका लागि सहजीकरण गर्ने जनाएको छ । ‘भौतिक संरचनालाई अनुदान नदिने हो भने किसानहरुले बाख्रा पालनमा अपेक्षित उत्पादन दिन सक्दैनन्’, किसानहरुको समस्या बारे दैनिक नेपालगन्जसँग अध्यक्ष कंडेलले भने, ‘त्यसका लागि हामीले लबिङ्ग गर्न खोजिरहेका छौं ।’
महासंघका केन्द्रीय सदस्य प्रेम प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटनमा किसानहरुले माग अनुसारको उत्पादन दिन नसकेको गुनासो गरेका थिए । ‘२५ लाखदेखि ३ करोडसम्म लगानी गरेको किसान जिल्लामा छन्’, अध्यक्ष कंडेलले बाँकेको अवस्थाबारे जानकारी दिंदै भने, ‘व्यवसायिक बाख्रा पालक किसानहरुमा लगानीको अनुपात उत्पादकत्व नहुँदा पनि निराशा भने छैन ।’ उनको भनाइ थियो, ‘बजारको प्रशस्त सम्भावना रहेकाले लगानी अभावको मात्रै सम्बोधन गर्न सके व्यवसायिक सम्भावना उज्यालो छ ।’
प्रथम जिल्ला अधिवेशनले कंडेलको अध्यक्षतामा विनोद कुमार थापा उपाध्यक्ष, महेन्द्र केसी सचिव, सुजिता मानन्धर सहसचिव र तुलसिंह रानाक्षेत्री कोषाध्यक्ष रहेको १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष कंडेलका अनुसार, कार्यसमितिमा विजय ओली, लक्ष्मीकुमारी विष्ट, बुंदे बुढाथोकी, कुल बहादुर भण्डारी, तुलानाथ योगी, रेशम हमाल, सन्ध्या शाही, चन्द्र राना, दुर्गा पौडेल, दिलसरा बस्नेत लगायत
छन् ।