‘न्यायको भ्रुण हत्या हुनु हुँदैन’

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर बागचन्दले न्यायको भ्रुण हत्या नहुने गरि न्याय सम्पादन हुनु पर्नेमा जोड दिएका छन् । एडभोकेसी फोरम, नेपालगन्ज उपमहानगरपालिका, इन्सेक र बाँके युनेस्को क्लब लगायतको संघ सस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठतम न्यायाधीश डा. बागचन्दले मुद्दाको जाहेरी लेख्ने कानून ब्यवसायी, अपराध अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिल र मुद्दाको फैसला गर्ने न्यायाधीशले आफ्नो पदिय दायित्व अनुसारको काम गरे मात्र सहि न्यायसम्पादन हुने र पीडितले न्याय पाउने बताएका थिए ।

लैङ्गिक हिंसाको अवस्था, चुनौती तथा तथ्यांक विश्लेषण एंव भावि कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश डा. बागचन्दले मुद्दा लेखन, अपराध अनुसन्धान, अभियोजन र न्याय निरोपण गर्ने ठाउमा बसेका पदाधिकारीले इमान्दारीपूर्वक आफ्नो पदिय जिम्मेवार बहन नगर्दा न्यायको भ्रुण हत्या हुने बताएका थिए ।

अदालतसम्म मुद्दा पु¥याउनमा धेरैको भुमिका रहने भन्दै न्यायाधीश बागचन्दले ति निकायले राम्ररी काम नगर्दा प्रमाण तौलेर न्याय दिनु पर्ने भुमिकामा रहेका न्यायाधीशलाई मुद्दाको फायल हेरेर दिक्क लाग्ने गरेकोे अनुभव सुनाएका थिए । न्याय सम्पादनमा राजनैतिक दवाव आउने गरेको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठतम न्यायायीश डा. बागचन्दले न्यायको भ्रुण हत्या गर्नमा सवैको संलग्नता रहको देख्दा न्याय पारौ भन्ने सोच भएका न्यायाधीशलाई एकान्तमा गई बन्यासी बनौ कि भन्ने सोच आउने गरेको पीडा सुनाएका थिए । न्याय सम्पादनमा सवका सव गैर जिम्मेवार रहेको चर्चा गर्दै वरिष्ठतम न्यायाधीश डा बगचन्दले धेरैले जागिर खाने मात्रै काम गरेको, कतिपय न्यायाधीश समेतले सतही फैसला गर्ने गरेको भनाइ राखेका थिए ।

आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नहुने गरि अधिकारको प्रयोग गर्नु पर्नेमा जोड दिदै न्यायाधीश बागचन्दले उजुरी आएमा तत्काल सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । लैङ्गिक हिंसा विरुद्ध सबैले आ–आफ्नो ठाउँ बाट जुटनु पर्ने बताउँदै लैङ्गिक हिंसाको अन्त्य गर्नको लागि सर्व प्रथम सामाजिक सोचलाई परिवर्तन गर्न आवश्यक भएकोले आफु ठुलो र अरुलाई सानो भन्ने विवेद हटाएर अरुलाई गर्ने व्यवहारमा समानता ल्याय हिंसाको अन्त्य गर्न सकिने न्यायाधीश डा. बागचन्दले बताएका थिए ।


कार्यक्रममा एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले लैंगिक हिंशा कानूनी अपराध भएकाले यसको रोकथाममा सबै सरोकारवाला निकायले जिम्मेवारीपूर्ण भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिवक्त बसन्त गौतमले लैङ्गिक हिंसाको अवस्था, चुनौती र समाधानका उपायहरुको बारेमा कार्यपत्र प्रस्तुन गरेका थिए । यस क्रममा गत एक बर्षमा प्रहरी, सरकारी वकिल र बाँके जिल्ला अदालतमा दर्ता भएका लैंगिक हिंसाका घटनाको तथ्याङ्क प्रस्तुत गरेका थिए ।


राट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झङ्कर रावलले नागरिकले जिम्मेवारीता र जवाफदेहिता भन्ने कुरालाई बुझ्न आवश्यक भएको बताए । आफ्नो भुमिका भन्दा बाहिर गएर काम गरे समाजमा द्वन्द्व हुने बताउँदै न्यायपालिकामा विचाराधिन अवस्थामा रहेको मुद्दा बाहिर सार्वजनिक गर्न नहुने भनाई राखेका थिए ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले राज्यको निकायलाई नागरिकहरुले शंकाको दृष्टीकोणले हेर्ने गरेकोले राज्यलाई विश्वास गरेर काममा सहयोग गर्न आग्रह गरे । उनले मानव अधिकारकर्मीहरुले पनि यस्ता कार्यक्रममा लक्षीत वर्गलाई समेटेर अगाडी बढाउन आवश्यक रहेको बताए । उनले अबको दिनमा हिंसालाई रोकथाम गर्न मनोवैज्ञानिक रुपमा वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए ।

पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदिले अहिले फेसबुक, युटुव जस्ता न्यु मिडियाहरुले पिडितको गोप्यनियता भङ्ग गरेकोले यस्ता मिडियाको पछि नलाग्न आग्रह गरे । जथाभावि सोसल मिडियाको प्रयोगको कारण पुरै पत्रकारीतालाई नकारात्मक असर परेकोले सोसलमिडियाको सही प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो ।


जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधीवक्ता निशा कुसुम पौडेलले नागरिकलाई जुनसुकै किसिमको हिंसा भए न्यायको लागि सरकारी वकिल कार्यालयले वकालत गर्ने बताइन् । हालसम्म कानुनी दायरा बाहिर गएर काम नगरेकोले आगामि दिनमा पनि निष्पक्ष भएर पीडितको सहयोगमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेकी थिईन ।


जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर खेमबहादुर घर्ति मगरले अपराधको विषयलाई मानव अधिकारमा नजोड्न बताउँदै मानव अधिकारकर्मीहरूले घटनाको विषयमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।


नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख शोभा शाहले लैङ्गिक हिंसा विरुद्धको दिवसका बारेमा जानकारी दिदै यस्ता हिंसा रोकथाम गर्नको लागि सबै संघ सस्था संग समन्वय गरेर काम गरेको बताएकि थिइन् ।


इन्सेक नेपालगन्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले नागरिकले लैङ्गिक हिंसाको अन्त्य घरबाटै गर्नु पर्ने भएकोले सबै एकजुट भएर गाउँ ठाउँमा चेतनाको कार्यक्रम व्यापक रुपमा अगाडि बढाउन आवश्यक रहेको बताइन् । हिंसा रोक्नमा सबैले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने मल्लले बताएकी थिइन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी अधिकृत मञ्जु पाण्डेको संचालन र अधिकारकर्मी निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा म हिंसा गर्दिन, महिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भन्ने प्रतिबद्धता जनाउँदै व्यानरमा हस्ताक्षेर समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया