
नेपालीमा एउटा उखान छ ‘दौरा लाएर फाट्यो, कल्ली (फेर) हल्लिएर फाट्यो’ । यो उखानको अन्तर्य र मर्म कुनै कर्महीन मानिसप्रति लक्षित भएको कुरा मलाइ एक बृद्धले सुनाउनु भएको थियो । दौरा लाएर नै फाट्छ तर फेर भने हल्लिरहन्छ र त्यत्तिकै फाट्छ । फेरको महत्व भनेको पोशाकको सौन्दर्यका लागि हो र शारीरिक सुरक्षामा यसको कुनै भूमिका रहन्न । कर्महिन मानिसको जीवन पनि यसरी नै भूमिकाहीन भएर सकिन्छ ।
यो उखान नेपालको राजनीतिक परिदृश्यमा चरितार्थ हुन्छ । पंचायत ढाल्दा जनताले सुन सपना देखेर आफुलाई उत्सर्ग गरे यो खासै उपलब्धिमूक मान्ने अवस्था रहेन । सैद्धान्तिक रुपमा दलीय स्वतन्त्रता, प्रेस वा अकुण्ठित नागरिक स्वतन्त्रता तथा संबिधान सभाको चुनाव पछि प्राप्त गणतन्त्र ,संघियता र समावेशीतÞालाई उपलब्धि मानेर बस्नु नै यतिबेला नेपालीको नियति भएको छ । यी सबै उपलब्धी पनि संविधान, भाषण र दलका नेताहरुका लागि आत्ममुग्ध तुल्याउने बिषय मात्रमा सिमित हँुदै गए । यावत प्राप्तिहरु उपलब्धि त हुन् नै तर यत्तिमा चित्त बुझाएर बस्नु नै दशकौँ लामो वालिदानीको अन्तिम परिणति हो त ? के यस्ता प्रश्नहरु कुसमयमा उठेका छन् कि धैर्यता टुट्ने चरणमा प्रवेश गरेको हो ?
यस्ता प्रश्नहरुले सबभन्दा ज्यादा कम्युनिष्टहरुलाइ गिज्याई रहेको कुरा कम्युनिष्टहरुले नै बुझ्नु पर्ने हो । तर यो दिशाहिनतलाई पनि भयानक उपलब्धिको बखान गर्ने र देश र जनताको लागि सिन्को नभाच्ने शक्ति भनेको कम्यनिष्ट नै भएका छन् । यसमा पनि सबै भन्दा दोषी नेकपा (एमाले) नामको पार्टी नै देखिन्छ । यो कुरालाई आरोप अथवा एमाले बिरोधी अभिव्यक्ति मानिएला तर स्वयम् एमालेजनले हृदयबाट जनताको बहुदलीय जनवाद राम्रोसँग बुझ्ने र जनताको हृदय छाम्ने हो भने शायद एमालेमा लाग्नुको सत्यार्थबोध होला र जवजको ब्यबहारिक प्रयोजन थाहा होला ।
नेपालमा कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पूरा गरिसकेको छ । यसबीचका टुटफुट र विभाजनको फेहरिस्त निकै लामो छ । खास गरी माओवादी केन्द्र र एमालेबीचको एकता र विभाजन नै आलो सन्दर्भ हो । एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ’२१औ शताब्दीको जनवाद’ लाई महधिवेशनमा ब्यापक जनवादी बहससहित नया संस्लेषणमा पुग्ने सङ्कल्प गरिएको थियो । तर यी दुबैका सङ्कल्प निरर्थक हुन् पुगे । बहुदलीय प्रजातन्त्र वा लोकतन्त्र, संघीय गणतन्त्र र समावेशी आदि उपलब्धिलाई नै नौलो जनवादको कार्यभार पूरा भएको र एकता महाधिवेशन पछि समाजवादउन्मुख संक्रमणकालीन कार्यदिशा तयहुने बताइए पनि यी दुवै पार्टीका कार्यक्रमहरु कार्यक्रमका लागि र परिवर्तनप्रेमी जनता वा आशावादी कार्यकर्तालाई भ्रम दिने दस्तावेजमा मात्र सिमित हुदै गएका छन् ।दुवै पार्टीमा नीति, पद्दति र कार्यक्रमिक सिद्धान्त दौराको फेर झैँ हल्लनु र नेताको भाषणलाई शोभा दिनुमा मात्र सिमित भएका छन् ।
मूलत राजनीतिक कार्यक्रमको आन्तरिक सम्वन्ध जनताको आर्थिक सामाजिक अवस्थासँग जोडिएको हुन्छ र सत्ताले यस अनुरुपको नीति तथा कार्यक्रम तय गर्छ । नेपालमा कम्युनिष्टहरु पटक पटक सत्तामा बसेको तीसबर्ष नाघिसक्यो । तर आफ्नो राजनीतिक कार्यक्रम अनुरुपको कुनै नीति वा चरित्र स्थापित गर्न सकेका छैनन्।विदेश नीति र कर्मचारी प्रशासन पंचायती शैली र विधिमा नै परिचालित देखिन्छ ।नेकपा (एमालेको) २०४६ मा सम्पन्न चौथो महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले घोषित गरेको ‘प्रतिक्रियावादी शासकहरुले गरेका सबै गुप्त सन्धिहरु खुल्ला गर्ने र सन् १९५० को सन्धिलगायत असमान तथा अपमानपूर्ण सन्धि सम्झौताहरु रद्द गर्ने’ कुरा उनीहरुको दस्तावेजमा मात्र सिमित छ ।यस सवालमा अहिलेसम्म एमाले ‘चुँ’सम्म गर्न सकिरहेको छैन । एकपटक मनमोहनले यस सम्वन्धमा औपचारिक प्रस्ताव राखेका थिए तर यसले कुनै प्रभाव देखाउँन पाएन ।
केपी ओलीले जारी गरेको चुचे नक्साका सम्वन्धमा पनि कुनै प्रभावी कुटनैतिक पहल भएको छैन । यो पनि केपी ओलीको द्वैधार्थी राजनीतिक तुरूप हो भन्ने आशंका बढिरहेको छ । एउटा सानो भए पनि राम्रो कामको प्रभाव दीर्घकालसम्म परिरहन्छ । मनमोहनको त्यो सहासिक प्रयास र जेष्ठ नागरिक भत्ताको प्रभावको ब्याजमा एमालेको राजनीतिक गुजारा चलिरहेको छ, विचार र अचार शून्यतामा पनि पुरानै मालसिरी गएर आत्ममुग्धतामा रमाइरहेको देखिन्छ । नयाँ र बस्तुगत अवस्थामा आधारित कार्यक्रम ल्याउन सक्ने वैचारिक तागत निस्तेज भैसकेको छ ।
यसरी सरसरी हेर्दा नेपालका कम्युनिष्ट पार्टीहरु संसदीय भासमा उठ्ने नसक्ने गरी भासिएका छन् र यिनको राजनीतिक अन्तिम मकसद भनेको देश र जनताको लागि समतामूलक समाजवादउन्मुख कार्यक्रमको कार्यान्वयन होइन संसदीय राजनीतिमा वर्चस्व स्थापित गर्नु मात्र हो । यी कथित कम्युनिष्ट पार्टीहरुमा जनवादी केन्द्रीयताको पद्धति, संगठन बिधि र आचरणले के सिद्ध गर्छ भने मार्क्सवाद भन्ने चपाउने चिउरा हो र जमुक्ति भन्ने कुरा संसदीय जुवामा हानिने एउटा तुरूप मात्र हो ।
नेकपा (माओवादी) ले २०६५ मंसीरमा भक्तपुरको खरीपाटीमा सम्पन्न राष्ट्रिय भेलाबाट एउटा कम्युनिष्ट केन्द्र निर्माण गर्ने सन्दर्भमा एमालेलाई ‘वामपन्थी जनमत र निम्नपूजीवादी तब्काको एक उल्लेख्य हिस्सालाई प्रभावमा लिएर अत्यन्त अवसरवादी दक्षिणपन्थी समूह’ भनेर निर्णय गरेको थियो । तर कालान्तरमा सोही पार्टी स्वयम् चरम अवसरवाद र दक्षिणपन्थीहरुसँग सत्ता स्वार्थमा अंकमाल गर्न पुग्यो । कम्युनिस्ट पार्टीहरुमा मोहनविक्रमको मसाल पछि यति धेरै फुट र गुटले क्षतविक्षत हुनपुगेको पार्टी माओवादी नै हो।हुन् त एमालेमा पनि टुट र फुट नभएको होइन तर यसको संस्थापकीय बर्चस्वमा भने खासै असर देखिएन । यसको मूलभूत मनोबैज्ञानिक कारण भनेको चरम अवसरवादमा डुबेका लम्पट कार्यकर्ता र बहुदलीय जनवादलाइ गायत्री सम्झने प्रगतिवादी अग्रगमन चेत नभएका कार्यकर्ता नै हुन् ।
वर्तमान अवस्थाको कारकतत्व भनेको बैदेशिक शक्तिसँग सत्ता खातिरदारी गर्नु र विचारलाई दौरा बनाएर अचारलाई संसदीय तुरुपको रुपमा प्रयोग गर्नु नै हो । नेपालमा केही बर्षका लागि अग्रगमन, शान्ति, स्थायित्व र बिकासका द्वारहरु खुल्ने सम्भावना देखिदैन । यो पुस्ताले जुनप्रकारको संजाल बिछ्याएको छ यो च्यात्न र नयाँ परिवर्तनको ढोका खोल्न अझै समय लाग्ने देखिन्छ । अब आउने नयाँ संक्रमणको आँधिमा को कहाँ पुग्छ र इतिहासले कुनरुप लिन्छ भन्न सकिदैन । तर, एउटा कुरा के निश्चित छ भने वर्तमान कम्युनिष्ट आन्दोलनका खलनायक भने जनताले चिनिसकेका छन् र तिनले कदापि क्षमा पाउने छैनन् । रुमानीयाका शासक चाउ चेस्कुको पंक्तिमा को को उभिने हुन् भावी पुस्ताले त देख्ला नै ।