स्वस्थ बच्चा जन्माउँदै संक्रमित महिला

समयमै उपचार सुरु गरेपछि पछिल्ला बर्षहरु एचआइभी संक्रमित गर्भवति महिलाहरुले स्वस्थ बच्चा जन्माउन थालेका छन् । एचआइभी संक्रमित महिलाबाट संक्रमित नै बच्चा जन्मन सम्भावना पनि रहन्छ । तर, समयमै चेकजाँच गराएर औषधी सेवन गर्दा स्वस्थ बच्चा जन्मिने गरेका हुन् ।

भेरी अस्पताल नेपालगन्जमा गत आ.व.मा १० जना एचआइभी संक्रमित गर्भवति सम्पर्कमा आए । उनीहरुका लागि तत्कालै आवश्यक औषधी सुरु गरियो । चिकित्सकको निगरानीमा रहेका उनीहरुमध्ये १ जनाको बच्चा खेर गयो भने ९ जनाले सन्तान जन्माए । ‘९ बच्चा मध्ये ६ जनामा एचआइभी पोजेटिभ नभएको पुष्टि भैसकेको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ’, भेरी अस्पताल नेपालगन्जका एचटिसी काउन्सिलर होमनाथ सुवेदीले भने । काउन्सिलर सुवेदीले समयमै गर्भवति महिलामा एचआइभी रहेको थाहा हुने हो भने स्वस्थ बच्चा जन्मिने सम्भावना धेरै रहेको बताउँछन् ।

औषधीको सहारामा २७ बालबालिका
भेरी अस्पताल नेपालगन्जबाट ५ सय २६ ले नियमित खान्छन् औषधी

भेरी अस्पताल नेपालगन्जबाट अहिले ५ सय २६ जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन् । अस्पतालको एआटी यूनिटका एचटिसी काउन्सिलर होमनाथ सुवेदीले एचआइभी संक्रमितलाई परामर्श, मापदण्ड अनुसार स्वास्थ्य परीक्षण र औषधी वितरण नियमित रहेको जानकारी दिएका छन् । ‘अहिले हाम्रो यूनिटबाट ५ सय २६ जना संक्रमितले नियमित औषधी सेवन गरिरहनु भएको छ’, उनले भने ।


अस्पतालमा औषधी सेवन गर्ने मध्येका २७ जना १५ बर्ष मूनिका बालबालिका रहेका छन् । जन्मदै उनीहरुमा एचआइभी संक्रमित उनीहरु अहिले औषधीको सहारामा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया