आजबाट राप्रपाको महाधिवेशन

नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा महामन्त्रीको उम्मेदवार बन्दै, केन्द्रीय सदस्यमा ओमप्रकाश आजादको दावी


राप्रपाको महाधिवेशन आज बुधबारबाट सुरु हुँदैछ । त्यसका लागि देशभर छानिएका प्रतिनिधि महाधिवेशनस्थल पुगेका छन् । महाधिवेशनले आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले आकांक्षीहरु प्रतिनिधि आफ्नो पक्षमा पार्ने कसरतमा रहेका छन् ।


नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले यसअघि नै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी राजेन्द्र लिङदेनको नेतृत्वको प्यानलबाट निर्वाचनमा जाँदैछन् । अर्को तर्फ कमल थापाको नेतृत्वमा बनेको टिममा सम्भवत भुवन पाठक डा. राणाको प्रतिस्पर्धी हुनेछन् ।


नेपालगन्जबाट ओम प्रकाश आजादले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राप्रपामा प्रतिनिधि, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरी ४५ सय महाधिवेशन प्रतिनिधि हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिएका छन् ।

राप्रपा पार्टी कार्यालय चाबहिलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताए । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृंखला नदोहोरियोस् भन्ने मेरो चाहना हो’, अध्यक्ष राणाले भने, ‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।

प्रतिक्रिया

प्रतिक्रिया