नेकपा एमाले दसौं महाधिवेशनः वरिष्ठ उपाध्यक्षसहित पाँच पदाधिकारी निर्विरोध

चितवनामा जारी नेकपा एमालेको दसौं महाधिवेशनमा पाँचजना पदाधिकारी निर्विरोध भएका छन् । उम्मेदवारी मनोनयन दर्ताको समय सीमामा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् ।
अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् । निर्विरोध भएको नतिजाबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । सूचीमा नपरेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिए भने घनश्यम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा भने घोषितबाहेक कसैले पनि उम्मेदवारी दिएनन् ।

त्यस्तै नेकपा एमालेको जारी दशौं महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । हिजो केपी शर्मा ओलीले प्रस्ताव गरेकाहरुले मात्रै मनोनय गर्दा गरेकाले उनीहरु निर्विरोध भएका हुन् ।

सूचीमा नपरेकाहरुले उम्मेदवारी दिएका छन् । ओलीले घोषणा गरेका पदाधिकारीहरुले पनि मनोनय दर्ता गराएका छन् । अध्यक्षमा ओली स्वयम्, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिएको थियो ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा आचार्यबाहेक टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालले पनि उम्मेदवारी दिएका छन् । उनीहरु ओलीले घोषणा गरेको सूचीमा पनि परेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया