नेपाली कांग्रेसको १४ औं महाधिवेशन : अब जिल्लामा कसरत

कता जाला बाँकेको नेतृत्व ?

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा, प्रदेश हुँदै क्षेत्रीय समितिको निर्वाचन सकिएपछि जिल्ला नेतृत्वका लागि कसरत सुरु भएको छ । शुक्रबार बाँकेका तीन वटै निर्वाचन क्षेत्रका मतदान कार्य सकिएपछि जिल्ला नेतृत्वको कसरत सुरु भएको हो ।

त्यसक्रममा पूर्व सभासद् बादशाह कुर्मीले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार जिल्लाका आफ्ना समर्थकहरु बीच पत्रकार सम्मेलन गरेका कुर्मीले आगामी नेतृत्वको दाबेदारी घोषणा गरेका हुन् । ‘संस्थापन प्यानलका साथीहरुसँग आवश्यक सरसल्लाह गरी मेरो नेतृत्वमा निर्वाचनमा जाने सहमति भएपछि उम्मेदवारी घोषणा गरेको हँु’, कुर्मीले पत्रकारहरुसँग भने, ‘हाम्रो प्यानलबाट अर्को सभापति उम्मेदवार हुँदैन ।’

बिहीबार भएको क्षेत्रीय निर्वाचनमा नक्की खाँलाई आफ्नो क्षेत्रबाट सर्वसम्मत निर्वाचित गरी आफ्नै प्यानललाई अन्य पदमा समेत ल्याउन सफल भएपछि शुक्रबार आएको मतपरिणाम लगत्तै कुर्मीले आफुलाई जिल्ला सभापतिका रुपमा प्रस्तुत गरेका हुन् । क्षेत्रीय सचिव निर्वाचित ज्ञान बहादुर ओलीको सहजीकरणमा भएको पत्रकार सम्मेलनमा कुर्मीले ‘टिम बनाउने र प्रतिबद्धता लगायतका योजनाहरु छिट्टै सार्वजनिक गर्ने’ बताए ।

जिल्लामा संस्थापन पक्षबाट कुर्मीले दाबेदारी गरेपछि संस्थापन इतरबाट नारायणप्रसाद गौडेलले प्यानलसहित उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन् । ‘क्षेत्रीय निर्वाचन सकियो, अब म छिट्टै तपाईहरु माझ उम्मेदवारी घोषणा गर्ने तयारीमा छु’, दैनिक नेपालगन्जसँग कुरा गर्दै काँग्रेस नेता गौडेलले भने । उनी क्षेत्र नं. १ मा आफु समर्थित प्यानलको बलियो जितले उत्साहित पनि छन् ।

प्रतिक्रिया

प्रतिक्रिया