
नेपाली पत्रकारहरुको छाता संस्था, नेपाल पत्रकार महासंघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्मालिसकेका पत्रकार पोषण केसी अब पूर्णकालीन राजनीतिमा प्रवेश गरेका छन् । रेडियो नेपालमा लामो समय कार्यरत केसी न्यूनतम पारिश्रमिक निर्धारण समितिको समेत नेतृत्व गरिसकेर अब दलीय राजनीतिमा प्रवेश गरेका हुन् ।
‘हाम्रो क्षेत्रका जनताका लागि पूर्णकालीन सेवा गर्ने उद्देश्यले राजनीतिमा लाग्ने निर्णय गरे’, क्षेत्रीय सभापति पदमा उम्मेदवारी गरेका केसीले दैनिक नेपालगन्जसँग भने । उनलाई काँग्रेस नेता तथा पूर्व सांसद ज्ञानु केसी, जिल्ला सचिव तप्त पौडेल, पूर्व क्षेत्रीय सभापतिहरु नारायण सिग्देल, नरबहादुर मल्ल, कृष्ण पौडेल, नारायणप्रसाद गौडेल, महासमिति सदस्य हुर्मत न्यौपाने, मीना सिग्देल साथ दिएको बताएका छन् ।

महाधिवेशन प्रतिनिधि तथा युवा नेता पूर्ण आचार्य, क्षेत्रीय सचिव डिल्ली गिरी लगायतका नेताहरु पनि युवा नेता केसी प्यानलको पक्षमा उभिएका छन् । उनीहरुले कोठे गतिविधिमा रमाउने अतिवादी सोच र पार्टीलाई कब्जा गर्ने अधिनायकवादका विरुद्ध केसी प्यानलको पक्षमा उभिएको स्पष्ट पारेका छन् ।
को हुन् पोषण केसी ?
नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले बाँके क्षेत्र नम्बर १ को संघीय निर्वाचन क्षेत्रको सभापति पदका लागि उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट पाइला अघि सारेका केसीले दुई दशकको सक्रिय पत्रकारितालाई विट मार्दै पूर्णकालीन राजनीतिक यात्राको सुभारम्भ गरेको छोटो समयमै नेपाली कांग्रेस क्षेत्र नम्बर १ मा सुदृढ र संगठिन कांग्रेस बनाउने अभियानसहित क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् ।

उसो त उनी विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होम्मिए । बहुदल पुनःस्थापना लगत्तै विद्यार्थी राजनीतिलाई सक्रियतापूर्वक अगाडि बढाएका केसी २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । अध्ययन, राजनीतिसँगै उनले पत्रकारितालाई पनि अगाडि बढाउने अवसर प्राप्त गरे ।
पढ्नमा तेज, वाककला, नेतृत्व वहन गर्न सक्ने क्षमता पोषण केसीका बाल्यकालदेखिकै गुण हुन् । छरछिमेक–गाउँघरमा कसैलाई अफ्ठयारो पर्दा अग्रसर भएर खटिने उनको बाल्यकालकै स्वभाव हो । बाँकेको तत्कालिन खासकुश्मा गाविस हाल राप्तीसोनारी गाउँपालिका १ लौकीमा २०३२ सालमा जन्मिएका केसीले यिनै बाल्यकालका गुणलाई आफ्नो उमेर बढ्दै जाँदा क्षमतामा प्रस्फुटन गर्दै गए ।
गाउँघरमै सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सुरु भयो । विकट ठाउँमा जन्मिएका केसीलाई विकटका नागरिकहरुले भोग्नु परेका दुःखकष्ट, समस्या लगायतका बारेमा राम्रोसँग जानकारी थियो । यी समस्या समाधानको विकल्प उनले पत्रकारिता र राजनीतिबाट मात्रै देखेका थिए । १४ वर्षकै कलिलो उमेरमा उनको मानसपटलमा यो छाप परिसकेको थियो ।
त्यसैले त उनी २०४६ सालको बहुदलीय व्यवस्था विरुद्ध अग्रसर हुन थाले । उनी विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होम्मिए । बहुदल पुनःस्थापना लगत्तै विद्यार्थी राजनीतिलाई सक्रियतापूर्वक अगाडि बढाएका केसी २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । अध्ययन, राजनीतिसँगै उनले पत्रकारितालाई पनि अगाडि बढाउने अवसर प्राप्त गरे ।
२०४८ सालमै उनी पत्रकारितामा होम्मिएका थिए । रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारबाट पत्रकारिता प्रारम्भ गरेका केसी २०५२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् भए । २०५८ सालमा उनी महासंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महासंघको महासचिव बनेर नेतृत्वदायी भूमिका निभाए ।
२०६८ सालमा भने उनी नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य बनेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे । २०६९ र २०७१ मा पत्रकार महासंघको अध्यक्षका प्रत्यासी केसीले २०७२ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । एमए, एमफिल पूरा गरी पिएचडी गर्दै गरेका केसी राजनीतिक दलका नेताहरुसँग सिधै पहुँच राख्ने मध्ये कमैमा पर्छन् । पूर्व प्रधानमन्त्री तथा पूर्व पार्टी सभापति स्वर्गीय सुशील कोइरालासंग नजिक भएर उनले पार्टीमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् ।
कार्यकर्ताको सुखदुःखमा अहोरात्र खटिने भएकाले केसीलाई सबैले रुचाउने गरेका छन् । पढेलेखेको, सबैलाई समेटेर लैजान सक्ने क्षमता भएको, केन्द्रीय राजनीतिमा सिधा पहुँच भएकाले पनि पार्टीलाई चलायमान गराउनेदेखि समग्र जिल्लाको विकासमा समेत प्रभाव पार्न सक्ने खुवी र क्षमता केसीमा रहेका कांग्रेसका नेता कार्यकर्ता बताउँछन् ।
पत्रकारिताका माध्यमबाट दुई दशक बढी समय देश र समाजको सेवा गरेका केसी अब राजनीतिका माध्यमबाट समाज बदल्ने संकल्पका साथ राजनीतिमा होमिएको बताउँछन् । समय सापेक्ष समाज निर्माण गर्दै समाजका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृढ अठोटका साथ आफू राजनीतिमा लागेको उनी भन्छन् । समतामूलक समाज निर्माणको अभियानलाई राजनीतिक मोर्चाबाट सम्बोधन गर्न सकिने यथार्थ बोध गर्दै पूर्णकालीन राजनीतिक यात्रा थालेको उनको भनाई छ ।
कांग्रेसको संगठनलाई सदृढ बनाउँदै चलायमान र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको केसी बताउँछन् । कांग्रेसलाइ अझ सबल र सक्षम बनाउन राजनीतिमा होमिएको केसीको भनाई छ । अग्रजलाई सम्मान गर्दै अनुजलाई प्रोत्साहन गर्ने उनले बताए । सबै अट्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो प्रयास रहने उनी बताउँछन् । क्षेत्रीय पार्टी कार्यालय बनाउने उनको अठोट छ ।