औचित्य पुष्टि हुन नसकेको भन्दै बाहिरबाट प्रश्न उठाइएको हो ।
नेपाल कम्प्युनिष्ट पार्टीका नाममा तत्कालीन माओवादीबाट अलग भएको नेत्र विक्रम चन्द (विप्लव)ले गरेको ‘विद्रोह’ले औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरिएको छ । मंगलबार नेपालगन्जमा विप्लव सम्बद्ध नेकपाले आठौं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भने, ‘राजनीतिक दलहरुको बीचमा नेकपाले आफुलाई भिन्नै र आकर्षित गर्न सकेन ।’

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य आइपी खरेलले विप्लवले माओवादीबाट अलग हुनुको कुनै विशेष अर्थ दिन नसकेको टिप्पणी गरे । उनले माओवादीहरु एक ढिक्का भएर ‘क्रान्तिका सपना’ पूरा गराउन लाग्नुपर्ने आवश्यकतालाई अझै पनि नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
‘दुई बर्षमा समाधान गर्ने गरी निकास खोज्छु भनेर विप्लवले भनेको हिजै हो जस्तो लाग्छ’, माओवादी नेता खरेलले विप्लवका युवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, ‘आठ बर्ष भएछ, खोई त के भयो ?’ उनले नेकपासँग लागेका युवा कार्यकर्ताहरुका आशा भरोसालाई मर्न नदिन कम्युनिष्टहरु एक ढिक्का हुनुपर्ने धारणा राखे । उनको जोड थियो, ‘त्यसको नेतृत्व मोहन वैद्य (किरण) वा मोहनविक्रम सिंहले गरुन् ।’

दुई बर्षमा समाधान गर्ने गरी निकास खोज्छु भनेर विप्लवले भनेको हिजै हो जस्तो लाग्छ, आठ बर्ष भएछ, खोई त के भयो ?’
कार्यक्रममा राजनीतिक विश्लेषक, वाम बुद्धिजीवि नरेन्द्रजंग पिटरले विश्वका मजदुरहरु एक हौं भन्ने कम्युनिष्ट नारालाई धराशयी पार्दै नेपाली कम्युनिष्टहरुले मजदुरहरुलाई टुक्राटुक्रा पार्ने काम मात्रै गरेको टिप्पणी गरे ।
‘नेकपा निर्माणको औचित्य पुष्टि नै गर्न सक्नुभएन’, सरकारसँग वार्ता टोलीका सदस्य समेत रहेका नेकपाका केन्द्रीय सदस्य दिपक चलाउने तिर हेर्दै लेखक पिटरले भने, ‘तपाईहरुले देशभक्त राष्ट्रवादी शक्तिहरु भनेर संगठित गर्न खोजिरहेको शक्ति को हो ?’ उनले सम्पूर्ण कम्युनिष्ट आन्दोलनको समीक्षा आवश्यक भएको धारणा राख्दै भने, ‘यो बेला कम्तिमा माओवादी पार्टी टुक्राटुक्रा पार्नु र नेकपा गठन गर्नुको औचित्यका लागि पनि तपाईहरुले निर्मम समिक्षा गर्नु जरुरी रहेको छ ।’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका बाँके जिल्ला अध्यक्ष भीम देवकोटाले राजनीतिक दृष्टिकोण भन्दा छलछामको राजनीति मौलाएपछि आफुले दशबर्ष अघि माओवादी छाडेको दृष्टान्त राखे । कम्युनिष्ट आन्दोलनको एकतामा जोड दिएका उनले आफ्नो पार्टी त्यसका लागि बाधक नबन्ने सन्देश दिन खोजेका थिए ।
नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य खड्ग बहादुर डाँगीले एमाले र माओवादीको एकतापछि ५० बर्ष कम्युनिष्ट शासन रहला भन्ने आशा गरेका जनतालाई छलछामको राजनीतिले निराश बनाएको बताए । ‘एमाले बाहेकका कम्युनिष्टहरु एक ढिक्का भएर जानु पर्छ’, डाँगीको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गर्दै नेकपा बाँकेका इन्चार्ज अनिलले सरकारसँगका तीन बुंदे सम्झौता कार्यान्वयनमा उदासिनता देखिएको टिप्पणी गरेका थिए । प्रमुख वक्ता पार्टी केन्द्रीय सदस्य दिपकले कार्यक्रममा उठेका विभिन्न प्रश्न र टिप्पणीहरुमा केन्द्रित रहेर धारणा राखेका थिए ।
लामो समय प्रतिबन्धित अवस्थामा रहेको विप्लव नेतृत्वको नेकपा अघिल्लो सरकारसँग वार्ता गरी समझदारीमा आएपछि विभिन्न बहस, छलफल र औपचारिक आन्दोलनका कार्यक्रममा सहभागी हुँदै आएको छ ।
त्यसक्रममा आठौं पुनर्गठन दिवसलाई विभिन्न राजनीतिक दल, प्रशासनिक निकायका अधिकारीहरु, नागरिक समाजका प्रतिनिधि बीच मंगलबार ‘चियापान’ आयोजना गरिएको हो । कार्यक्रममा भने राजनीतिक रुपमा सहभागिता जनाइएपनि प्रशासनिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थिएन ।