पृष्ठभूमिः नेपालगन्जलाई आँफैमा कुनै परिचयको आवश्यकता त छैन तैपनि यस शहरको गरिमा बढाउने गरी नामको अगाडि पछाडि कैयन अलंकारहरु जोडिएका छन् । नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र त हो नै यसका अलावा लोभलाग्दो सदभावको शहरको रुपमा पनि चिनिन्छ । समग्र देशको राजनीति र आर्थिक क्षेत्रमा नेपालगन्जको योगदान उल्लेखनीय छ । देशलाई प्रधानमन्त्री दिइसकेको नेपालगन्जले राष्ट्रिय ढुकुटीमा समेत बर्षेनी उल्लेख्य योगदान दिइराखेको कुरा सबै सामु छर्लङ छ । परिचयका बिविध आयामहरु बिच नेपालगन्जलाई विश्वमाझ चिनाउने गरी एक बिलकुलै फरक ढंगबाट नेपालगन्जको पृथक परिचय बन्दैछ– नेपालगन्ज म्याराथन !

खेलकुदको एक बिधा पनि कुनै एक अमुक स्थान विशेषको सिंगो परिचय बन्नसक्छ भन्ने उत्कृष्ट उदाहरण बन्दै गरेको नेपालगन्ज म्याराथन वास्तव मै समस्त नेपालगन्जवासीको लागि गौरव गर्नुपर्ने खेल–उत्सव हो । यसको भव्यता; सफलता संगै अटुट निरन्तरतामा हातेमालो गर्नु हामी सबै नेपालगन्जियाहरुको परम कर्तव्य हो । फगत एउटा खेलले आफ्नो ठाउँको परिचय बदल्ने सामर्थ्य राख्छ भने हामीले आफ्नो सकारात्मक भूमिका निभाउन किन कजुस्याई गर्ने त?

मध्यः नेपालको मानचित्रमा नेपालगन्ज हरेक दृष्टिकोणले सधैं केन्द्रबिन्दुमा रहने गरेको तथ्य कसैसँग लुकेको छैन । अर्थ, राजनीति, सामाजिक सदभावमा अव्वल रही शिक्षा, स्वास्थ्य क्षेत्रमा नेपाली परिवेश र सुचकांक अनुसार राम्रै स्थानमा रहेको नेपालगन्जको आँफैमा गौरव गर्न सकिने पृष्ठभूमि त छदैछ । त्यस बाहेक पनि नेपालगन्जको महिमा गुणगान राष्ट्रिय र विश्वव्यापी रुपमा हुनेगरी एउटा नौलो र पृथक प्रयास नेपालगन्ज म्याराथनले गर्दैछ जुन आँफैमा हामी नेपालगन्जवासीको लागि गौरवको कुरा हो ।

कहालीलाग्दो द्वन्द्वको अवस्थालाई सदाका लागि अन्त्य गर्नेगरी भएको शान्ति–सम्झौतालाई मर्ममा राखी त्यसलाई चिर–स्मरणीय बनाउन २०७२ सालमा नेपालगन्ज पिस म्याराथनका रुपमा पहिलो संस्करण भएदेखि निरन्तर आयोजित नेपालगन्ज म्याराथन सातौं संस्करणमा पुगेको छ । सिमित दायरा र सिमित सहभागिता संगै सुरु भएको यो प्रतियोगिताको नाम आजको मितिमा राष्ट्रिय रुपमा पूर्ण ईज्जत साथ लिइन्छ । खेलकुदको आधिकारिक निकायले यसलाई बार्षिक क्यालेन्डरमा स्थान दिएको छ यो आँफैमा चानचुने कुरा होइन हरेक संस्करणको सभ्य र भव्य आयोजनाले नै यो सम्भव भएको तथ्यलाई नकार्न सकिदैन ।

यहाँसम्म पुगेको यो उपलब्धिलाई जिवन्त बनाईराख्न सबैको सामुहिक योगदान जरुरी छ । आयोजकले सबै क्षेत्रलाई समेटेर प्रतियोगिता प्रति सबैलाई सकारात्मक हुन उत्प्रेरित गर्न सक्नुपर्छ । कुनैपनि कार्यक्रम भव्यरुपमा सफल पार्न दरिलो आर्थिक पाटोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ तसर्थ स्थानीयस्तरका अझ धेरै व्यबसायीहरुलाई प्रतियोगिताको महत्व प्रस्ट्याइ त्यसबाट लिन सकिने फाइदा औंल्याएर हातेमालो गर्न प्रेरित गर्न आयोजक अग्रसर हुनुपर्छ ।

आयोजकको दुरदर्शी सोँच र प्रायोजकको अटुट साथले यसको भव्यता हरेक संस्करण पिच्छे चुलिदै गएको स्पस्ट देख्न सकिन्छ यो सहकार्यको उत्कृष्ट, अनुपम र अनुकरणिय उदाहरण हो। स्थानीयस्तरका व्याबसायिक प्रतिष्ठानहरुलाई खेलकुद सँग जोडने आयोजकको सत्प्रयास प्रशंशायोग्य छ । यसले खेलकुदलाई टेवा त पुग्ने नै छ साथमा व्यबसायिक प्रतिष्ठानहरुको पहुँच सर्वसाधारण उपभोक्ता सम्म पुग्ने निश्चित छ । ढुङ्गालाई माटोको भर माटोलाई ढुङ्गाको भर भने जस्तै यस्ता खाले द्विपक्षिय सहकार्यको अपरिहार्यता हरेक क्षेत्रमा आवश्यक छ । कोही छुटनु र टुटनु हुँदैन बरु सबै एक ढिक्का भएर जुटनु पर्छ यो कुरामा आयोजक एकदमै सजग र चनाखो हुनुपर्छ । केही रिक्तता र केही तिक्तताले समग्र कार्यक्रमलाई हानी हुनेछ ।

विगत देखी वर्तमान सम्म ब्राइट्ल्यान्ड कलेज, के. एल. दुगड समुह (धारा तोरिको तेल), आशीर्वाद पेन्ट्स, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ हस्पिटालिटी ग्रुप, शिखर प्लाई इन्डस्ट्री, फोन पे, सोल्टी होटेल लगायत थुप्रै स्थानीय प्रतिष्ठानहरु नेपालगन्ज म्याराथन सँग जोडिएका छन् । आगामी दिनहरुमा प्रतियोगिताको सभ्य र भव्य आयोजना सहित यसको दायरा फराकिलो बनाई सबैको आकर्षणको केन्द्र बनाउन अझ धेरै व्याबसायिक साझेदारहरुलाई जोडन आवश्यक छ ।

अन्त्यः संस्करण पिच्छे सकारात्मक परिमार्जन त भएकै छ तैपनि केही पक्षमा अझै सुधारको खाँचो प्रस्ट देखिन्छ। केही प्राविधिक समस्याहरु छन् । जसलाई तत्काल अन्तरराष्ट्रिय मापदण्ड अनुरुप ढाल्न अत्यन्त जरुरी छ । एउटा गम्भिर त्रुटी गएको संस्करण मै देखियो गतबर्षका विजेता धावकलाई राखेपका सदस्य–सचिव लगायत ओलम्पिक कमिटी कै पदाधिकारीहरुकै उपस्थितीमा टोकियो ओलम्पिकमा छनौट गरिने उदघोष गरियो जुन आँफैमा नेपालगन्ज म्याराथनको गरिमा बढाउने निर्णय थियो हामी सबै निकै उत्साहित थियौ तर अन्तिम समयमा गोपिचन्द्र पार्की ओलम्पिकमा दौडिन पाएनन जुन कुरा समग्र नेपाली खेलकुदको लागि लज्जास्पद र साह्रै दुःखदायी थियो ।

पछि सुन्न मा आयो– पार्कीको ओलम्पिकमा सहभागिता नहुनुमा उनी छनौट भएको नेपालगन्ज म्याराथनको रुटले अन्तरराष्ट्रिय ओलम्पिक कमिटीबाट आधिकारिक मान्यता नपाएको रहेछ । एउटा खेलाडीको तयारी र ओलम्पिक सपना भताभुंग त भयो नै अन्तरराष्ट्रिय मन्चमा नेपाली खेलकुद निकायको गैरजिम्मेवारिपन पनि छताछुल्ल भयो । स्पस्ट भन्नुपर्दा आधिकारिक निकायको लविङ र चासोको कमी अनि ओलम्पिकको कार्यक्रम तालिकालाई समयमै पछ्याउन नसक्दा यो परिणाम आएको कुरामा कुनै शंका छैन । विगतका कुरामा अल्झिनु भन्दा सुनौलो भविष्यलाई गोडमेल गर्नु राम्रो होला तसर्थ खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी लगायतका सबै निकाय गम्भीर भएर अब उपरान्त यस्ता गल्ती नदोहोरिने कुरामा प्रतिबद्द हुनुपर्छ । साथै नेपालगन्ज म्याराथनको रुटलाई तत्काल विश्व–व्यापी मान्यता दिलाउनु पर्छ यस्ता कुरामा आधिकारिक निकायले तत्काल आवश्यक कदम चाल्नुपर्छ ।

जाँदाजाँदै आयोजकलाई पनि केही सुझाव नदीई कलम रोक्न मन लागेन । यहाँहरुको यो सत्प्रयास अत्यन्त सह्रानिय छ । यसमा दुईमत छैन तरपनी सबैको सबैकुरा सधैं त्रुटिरहित हुन्छ भन्ने हुँदैन । गर्नेलाई राम्रै गरेको भान हुन्छ तरपनि केही स–साना कुराले के के नपुगे जस्तो लागिरहन्छ तिनै स–साना केही कुराहरुमा सुधारको अपेक्षा सहित बुंदागत सुझाबहरु दिँदै छु सकारात्मक रुपले ग्रहण गर्नुहोला ।

– हरेक संस्करणको सुरुवात मै अनुमानित खर्चको विबरण सहित प्रायोजकलाई विश्वासमा लिएर अघि बढ्ने ।
– हरेक संस्करणको समापन पछी आय–व्यय सार्वजनिक गर्ने पारदर्शिताले आयोजकको कद बढने छ ।
– आयोजकहरुमा एकता, सहकार्य, आपसी सदभाव चिर–स्थाई रही रहनुपर्छ।
– सकभर स्थानीय प्रतिष्ठानहरुलाई बढी भन्दा बढी समेट्ने प्रयास संगै कारणवश छुटेका पुर्व साझेदारहरुलाई प्रतियोगितासँग फेरि जोडने कोशिश सधैं रहि रहनुपर्छ ।

प्रतियोगिताको माध्यमबाट लामो दुरिको दौडप्रति युवाहरुमा रुची र लगाव सृजना गर्न सके दिर्घकालिन रुपमा एथलेटिक्सको बिकासमा टेवा पुग्नेछ र देशका लागि अन्तरर्राष्ट्रिय मन्चहरुमा पदकको आशा जाग्ने कुरामा कसैको विमती नहोला । प्रतियोगिताको सभ्य र भव्य निरन्तरताले पक्कैपनि अन्तरर्राष्ट्रिय मानचित्रमा नेपालगन्जको नाम पनि गौरवले उच्चारण गरिनेछ । नेपालगन्ज म्याराथनको सातौं संस्करणको एतिहासिक सफलताको शुभ–कामना !

प्रतिक्रिया

प्रतिक्रिया