नेपाली काँग्रेस: आज पालिका निर्वाचन, चार सर्वसम्मत

तिब्र प्रतिस्पर्धामा नेपालगन्ज, कोहलपुर र राप्तीसोनारी


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा गाउँपालिका र नगरपालिका तहको निर्वाचनक्रममा आज मतदान हुँदैछ । खजुरा, डुडुवा, नरैनापुर र जानकीको नेतृत्व भने बुधवारनै सर्वसम्मत चयन भएको छ । यद्यपि, ती पालिकाका कतिपय पदमा भने मतदान हुने बताइएको छ । निर्वाचन समिति स्रोतका अनुसार, जानकीमा सभापति दयाराम यादव सहित अधिकांस पद सर्वसम्मत भए । तर, उपसभापतिका लागि आज मतदान हुँदैछ ।


नरैनापुरमा मेराज खाँ, खजुरामा रमेश सिजाली र डुडुवामा विजय यादव सर्वसम्मत भएका छन् । सभापति, उपसभापति २, सचिव २, सहसचिव २ लगायतका पदका लागि हुने निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा तिव्र प्रतिस्पर्धा देखिएको छ । दुवै पालिकामा प्यानल सहित उत्रिएका उम्मेदवारहरु प्रष्टसँग संस्थापन र संस्थापन इतर विभाजित छन् ।


नेपालगन्जमा संस्थापनका रुपमा प्रष्ट चिनिएका प्रशान्त विष्ट, विनोद रिजाल प्यानल लिएरै मैदानमा उत्रिएका छन् । संस्थापन इतर पहिचान बनाएकी उमा थापा मगर आफ्नो प्यानल लिएर मतदाता माझ पुगिन् । तीन प्यानल मैदानमा आएपछि प्रतिस्पर्धा दरिलो हुने विश्लेषण मतदाताको रहेको छ । यद्यपि, संस्थापन जुध्दाको फाइदा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख समेत रहेकी थापाले उठाउने बताइन्छ । तर, नगरमा झण्डै ८० प्रतिशत नतिजा संस्थापनका पक्षमा गएकाले आपसमै जुधेका विष्ट र रिजालले आकर्षित गर्ने मतमा थापाको नतिजा निर्भर देखिन्छ ।


थापाले विनोद न्यौपाने र जाकिर अलिलाई उपसभापतिको उम्मेदवार बनाएकी छन् । विष्टले धनराज बर्मा र मो. कमाल तथा रिजालले अतुल गुप्ता र शाहिललाई उपसभापति उम्मेदवार बनाएका छन् । ‘संस्थापन इतर भन्दा पनि म सबैको साझा उम्मेदवार हुँ’, पहिलो पटक पार्टीको नगर कार्यकारी पदमा महिला दाबेदारीको विषयलाई महत्वका साथ उठाएकी थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘मैले जित्दा महिला, जनजातिलाई पार्टीले कार्यकारी जिम्मेवारी दिएको सन्देश जान्छ ।’


दोस्रो कार्यकाल उपमहानगरपालिकाको नेतृत्व दाबी गरिरहेका विष्ट पार्टीलाई नेपालगन्जको उपलब्धी आफ्ना कारण आएकाले स्वभाविक दाबेदार भएको बताउँछन् । ‘नयाँ संरचनामा मेरो दोस्रो दाबेदारी हो’, विष्टले दैनिक नेपालगन्जसँग भने, ‘पार्टीलाई २३ वटै वडाको नेतृत्व र उपमहानगरपालिका आगामी निर्वाचनको कमाण्ड जित्न म आउन खोजेको हुँ ।’ कोइरालाको दबदबा रहँदा देउवाको विडो थामेका विष्ट उपमहानगरपालिका बन्नु अघि पनि पार्टीको नेपालगन्ज नगरको नेतृत्व सम्हालिसकेका छन् ।


तरुण दलका जिल्ला सचिव रिजाल नेतृत्वमा पुरानै अनुहार धेरैले मन नपराएकाले आफु अग्रसर भएको प्रतिक्रिया दिन्छन् । संस्थापनबाट विष्टले काम गर्न नसकेकाले आफु आउनु परेको धारणा राख्दै रिजालले दैनिक नेपालगन्जसँग भने, ‘एउटै व्यक्ति कहिलेसम्म एउटै पदमा बसिरहने ?’


कोहलपुर नगरपालिकामा वीरेन्द्र शाह र राजेन्द्र प्रसाद श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट श्रेष्ठ र संस्थापन इतरबाट शाह प्यानल सहित मत माग्न व्यस्त देखिए । ‘बाँकेकै सबैभन्दा बढी पार्टीको निर्वाचन कोहलपुरमा लागेको छ’, एक जिल्ला नेताले दैनिक नेपालगन्जसँग भने, ‘रातारात नतिजा कता पल्टिन्छ भन्न सक्ने स्थिति छैन ।’

कोहलपुर जस्तै राप्तीसोनारीमा पनि तुलाराम खत्री र भीम राना बीच प्रतिस्पर्धा रहेको छ । बैजनाथमा तीन जनाले दाबेदारी गरेपनि केशर खड्का र देव बहादुर केसी बीच प्रतिस्पर्धा रहेको सम्बद्ध पार्टी कार्यकर्ताको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया