
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले
नेकपा एमाले मेचीदेखि महाकालीसम्मका, तराईदेखि हिमालसम्मका सम्पूर्ण जनताको साझा पार्टी हो । नेकपा एमाले एउटा प्रादेशिक संगठन होइन, राष्ट्रिय पार्टी हो । नेकपा एमाले जातीय संगठन होइन, सम्पूर्ण जनताको हित गर्ने राजनीतिक पार्टी हो । यसको उद्देश्य वास्तवमा भन्ने हो भने कसैलाई पराजित गर्ने हुँदै होइन, देश बनाउन उद्देश्य हो ।

देश बनाउने उद्देश्यमा जो तगारो बन्छन् त्यसलाई किनारा गर्ने हो । अहिले देश बनाउन नदिने को हुन् भनेर भनिरहनु पर्दैन होला । गठबन्धन भनेर नेकपा एमाले एक्लैका विरुद्ध पाँच गठनबन्धन पाँच तिरबाट झम्टिएका छन् । नेकपा एमालेका विरुद्ध खनिएका खनिएै छन्, तर, नेकपा एमालेमा जनता प्रवेश गरिरहनु भएको छ । जनताको आकर्षण, जनताको समर्थन, जनादेश एमालेतिर छ । अब नेकपा एमालेको आफ्नै सुदृढ आफ्नै बहुमत हुन्छ । अहिलेसम्म बहुमत थिएन जोडजाम गर्नुपर्ने अवस्था थियो ।
नेकपा एमालेले आफ्नो देशको जमिन एक इन्च पनि तलमाथि पर्न दिंदैन । यही पार्टी राष्ट्रिय हितहरुको रक्षा गर्ने पार्टी हो । नेकपा एमाले राष्ट्रियताको सन्दर्भमा मात्रै होइन, अहिलेका कुरामा मात्रै होइन हिजोको राष्ट्रिय गौरव र स्वाभिमानलाई समेत अझ अगाडि बढाउने, अझ माथि उठाउने पार्टी हो भनेर हाम्रा साथीहरुले बुझ्नु भएको छ, आम जनसमुदायले बुझ्नु भएको छ ।
लोकतान्त्रका लागि संघर्ष गरेको, जेलनेल खटेको, संघर्षको मैदानमा उत्रिएको, संघर्षलाई व्यवहारिक रुपमा नेतृत्व गर्दै आएको पार्टी नेकपा एमाले हो । यसैलाई बुझेर नै साथीहरु पार्टी प्रवेश गर्नुभएको छ । सम्पूर्ण जनता अधिकारसम्पन्न बनाउने, सबैमा अवसर समान रुपमा पुर्याउने उद्देश्य बोकेको पार्टी एमाले हो ।
नेकपा एमाले मधेसी, मुस्लिम विरोधी पार्टी हो भनेर नारा लगाइयो । पहाड तिर पनि अर्को नारा लगाइयो । आदिबासी, दलित बीच गरेर उनीहरु विरोधी पार्टी भनेर भ्रम फैलाउन खोजियो ।
पहिले पहिले, ६० बर्ष माथिकालाई एमालेको सरकार बन्यो भने गोली हानेर मारिन्छ भनियो । कम्प्युनष्टको सरकार बन्यो भने बच्चा खोसेर लगिदिन्छ भनियो । किसान कहाँ पुगेर तिम्रा ट्याक्टर कम्प्युनिष्ट सरकारले लगिदिन्छ भनियो । उद्योगी, व्यवसायी कहाँ पुगेर कम्प्युनिष्ट सरकार आयो भने तिम्रा सम्पत्ति राष्ट्रियकरण गरेर लगिदिन्छ भन्ने हल्ला चलाइयो ।
यस्तै हल्लाका भरमा, नेकपा एमाले विरुद्ध भ्रम फैलाएर सुरु सुरुमा केही ठाउँ बनाउने प्रयास गरे । अब त्यो जमाना समाप्त भयो । अब नेकपा एमाले विरुद्धको भ्रम कसैले चलाउन सक्दैन । किनभने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नेकपा एमालेले सुरु गर्यो । २०५१ सालमा महिनाको १ सय रुपैयाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले दैनिक १ सय ३३ पुगेको छ । महिनामा चार हजार पाउँछन् ज्येष्ठ नागरिकले । त्यसैले शारीरिक अशक्तता, अन्धोपन, अपाङ्गता लगायत सबैको सरकारले व्यवस्थापन गरेको थियो ।
हामीले नारा दियौं नेपालमा कोही भोकले मर्दैन, मर्न दिंदैनौं । हामीले सामाजिक सुरक्षालाई औपचारिक रुपमा मात्रै नभई अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गर्यौं । विरोधीहरु आत्तिए । ज्येष्ठ नागरिकलाई १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बिमा गर्यौं । विरोधीहरु फेरि आत्तिए ।
हामीले चीन तिरबाट बाटो खोल्यौ, अब कसैले हाम्रा विरुद्ध नाकाबन्दी गर्ने, हामी भोकै मर्ने स्थिति अब बन्दैन । हामीले आफ्नो जमिन समावेश गरेर नक्सा छाप्यौं । त्यो नक्सालाई संविधानमा संशोधन गरेर हाम्रो निशान छापमा सामेल गर्यौं । अब हामी भूमि फिर्ता लिने अभियानमा लागिरहेका छौं ।
तराईमा दुई दशकदेखि हुलाकी राजमार्गको कुरा चलेको मात्रै थियो, काम भएको थिएन, पहिलो पटक म प्रधानमन्त्री हुँदा हामी आफै बनाउँछौं हुलाकी राजमार्ग भनेर सुरु गर्यौं । अहिले हुलाकी राजमार्गमा सयौं पुलहरु बनेका छन्, हुलाकी राजमार्ग पक्की बनेको छ । तराईको विकास कल्ले गर्यो, तराईलाई कस्ले हेर्यो । नेकपा एमालेको सरकार बन्यो उत्तरतिर बाटो खोलियो, हुलाकी राजमार्ग बनाइयो, अरु धेरै काम गर्यौं ।
यसपल्ट हामीले तिव्रता दिएका छौं, तराईको सिंचाईका लागि । हामीले भेरी बबई डाइभर्सनलाई तिव्रता दिएर सुरुङको बाटो खोलेर सक्यौं । अरु काम अगाडि जाँदैछ । हामीले १ लाख ८५ हजार विगाह जग्गा बारा, महोत्तरी, रौतहट, धनुषा जिल्लाहरुमा सिंचाई गर्नका लागि सुनकोशी सिचाई ड्राइभर्सन शिलान्यास गर्यौं । काम हुँदैछ ।
तराईका जिल्ला डुबानमा पर्ने गर्दथे । मैले भारतसँग डुबान खोल्नका लागि वार्ता गरेर अगाडि बढे । लक्ष्मणपुर बाँध लगायतका यहाँको डुबान समाधानमा लागियो । सिक्टा भत्काएर पानी नआउने बनाइएको थियो । तपाईहरुलाई थाहा छ, सिक्टाबाट सिंचाई सुरु भएको छ ।
हाम्रा कामहरुले एमाले विरुद्धका भ्रम हटाएका छौं । पहाडका टुप्पा टुप्पामा खानेपानी पुर्याएका छौं । ढाँड भाँचिने गरी खोलाबाट पानी ल्याउनु पर्ने स्थिति केहीकेही ठाउँमा बाँकी भए बेग्लै कुरा हो, त्यो स्थिति हामीले अन्त गरेका छौं ।
खानेपानीको व्यवस्था गरेका छौं । ९२ प्रतिशत जनता कहाँ हामीले खानेपानी पुर्याएका छौं । ८ प्रतिशत मात्रै अब बाँकी छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले हिजो भनेको कुरा सम्झिएँ, आफ्नै देशमा बिजुली खपत गर्नका लागि बिजुलीको चुल्हो बाल्ने गरौं, विद्युतीय गाडि चलाउने बानी बसालौं भनेर त्यही अभियान त हिजो हामीले सुरु गरेका थियौं । बिजुलीका गाडी चलाउने अभियान, विद्युत तुरुन्त उत्पादन गर्ने अभियान, २०ं बर्षसम्म यो देशमा लोडसेडिङ अन्त्य हुँदैन भनेर भन्ने मान्छेहरु, लोडसेडिङ हामीले अन्त्य गरौं, अनि त्यसमा नाक ठड्याउनेहरु आज के भन्न थालेका छन् भने विजुलीको चुल्हो बाल्थ थालौं, नेपालमै विजुलीको खपत गरौं ।
तपाईहरुले थाहा पाउनु भएको छ, देख्न सक्नु हुन्छ विकासको रफ्तार । जहाँ तपाई हुनुहुन्छ त्यो ठाउँबाट विकास देख्न सक्नुहुन्छ । हामीले विकासको अभियान देशव्यापी चलायौं । मदन भण्डारी राजमार्ग सुरु गरेर अब सक्न अलिकति बाँकी छ । हुलाकी राजमार्गको निकुञ्ज र आरक्षका कारणले खन्न बाँकी रहेका बाहेक सबै ठाउँमा बनिसकेको छ ।
सूचना, सञ्चारको क्षेत्रमा फोरजी सेवा होस् वा अरु सेवा, शिक्षा होस् वा स्वास्थ्यका क्षेत्र, बाटोघाटोको क्षेत्र धेरै काम गरेका छौं । हामीले साढे ४ सय भन्दा बढी पुलहरु निर्माण गरेका छौं । कालोपत्रे सडक बनेका छन् । तुइनहरु बिस्थापित भएका छन् । जुन विकास २० बर्षमा हुँदैनथ्यो, कोभिड हुँदाहुँदै पनि हामीले ३ बर्षमा गर्यौं । यस क्षेत्रमा तपाईहरुले देख्नुभएको छ, अरुको नेतृत्वको प्रादेशिक सरकार र हाम्रो नेतृत्वको प्रादेशिक सरकार । त्यही भएर अरु आत्तिए ।
लुम्बिनी र सगरमाथा मात्रै होइन विकास देखाएर पनि नेपालले आफ्नो परिचय बनाउन थालेको छ । समृद्ध नेपाल, सुखि नेपालीको आकांक्षा हामीले तय गरेका छौं । त्यसका लागि एमालेको विचारमा एकताबद्ध हुनुपर्दछ । तब मात्र हामीले लक्ष्य हासिल गर्न सक्दछौं ।
विपी कोइरालाको काँग्रेस कहाँ छ, गणेशमानको काँग्रेस कहाँ छ, कृष्ण प्रसाद श्रेष्ठको काँग्रेस कहाँ छ ? प्रचण्ड पथमा गैसकेको छ । प्रचण्डले जे अह्रायो त्यही । कस्ता, कस्ता मन्त्री बनाएका छन् हेर्नुस् । काँग्रेसलाई एउटा प्रधानमन्त्रीको कुर्सी भए भयो । अहिले चार बैशाखी टेकेर हिड्छ काँग्रेस ।

नेकपा एमालेलेलाई हराउछु भन्छ, हामीलाई एक्लै त नचिताए हुन्छ मैले भनिसकेको छु । सुन्नुभएको छ तपाईहरुले हाम्रो चुनावसम्म नै यो गठबन्धन कायम रहन्छ भनेर । गठबन्धन विना चुनावमा आउनु भयो भने त उहाँहरुको जमानत जफत हुन्छ । एमालेसँग तपाईहरु मिलेर आएको ठिक छ, मिलेरै आउनुस् । कसैसँग दम छ । पुरानो नेपाली काँग्रेसलाई म सोध्न चाहन्छु, एमालेसँग लड्ने हिम्मत छ कहीँ । दम छ एमालेसँग एक्लै लड्ने काँग्रेस सँग ? काँग्रेस हिजोको काँग्रेस होइन अब बुढो भयो । अब काँग्रेस कहाँ पुग्ने हो थाहा छैन ।
कम्प्युनिष्टका नाममा नेकपा माओवादी भनेर माओवादीका कार्यकर्ताले ज्यान दिएको होइन ? कति युवाहरुले ज्यान दिए ? भयो के त भन्दा नेताका भाइभतिजा, नेताका भाइ बुहारी, नेताका ज्वाईजेठान सक्रिय भए, शरीरमा गोली लागेको गोली शरीरमै भएका, अंगभंग भएका अंगभंग नै छन् । टाउकोको मूल्य तोकेको होइन शेर बहादुर देउवाले ? उही देउवाका पछाडि पंखा हम्किन पुगे ।
देशको स्वाभिमानका साथ, विचारको स्वाभिमानका साथ अगाडि बढ्ने हो भने आउनुस् नेकपा एमालेमा प्रवेश गर्नुस्, बस्नुस्, देश बनाउने काम गर्नुस् । काँग्रेसका साथीहरुलाई पनि भन्न चाहन्छु, काँग्रेसमा के देखेर बस्नु भएको छ । म उहाँहरुलाई पनि आग्रह गर्न चाहन्छु, नेकपा एमालेमा आउनुस् देश बनाउनुस् ।
मधेसवादी दल भनिएका पार्टीका कार्यकर्ताहरुलाई पनि म भन्न चाहन्छु, हुलाकी राजमार्ग बनाउन एमाले चाहियो, टनेल थुनेर कोशी, गण्डकी र भेरीका पानी तराई झार्न एमाले चाहियो । तराईका खेत सिचाई गर्न एमाले चाहियो । तराईमा प्रविधि ल्याउन एमाले चाहियो । एमाले सरकारको पालामा यहाँ जमिनको एक्सरे गरिएको छ र कुन ठाउँमा पानी लाग्छ, लाग्दैन, के कमी छ, के बढी छ सरकारले रेकर्ड राखेको छ । तपाईले आफ्नो मोबाइलबाट त्यो पाउन सक्नुहुन्छ । नागरिक एप अगाडि बढाइएको छ । मेरो कित्ता भनेर छुट्याइएको छ ।
देश बनाउनका लागि हामी एकजुट भएर मात्रै बनाउन सक्छौं । त्यही एकजुटता कायम गरौं र अगाडि बढौं । (नेपालगन्जमा बुधवार पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले गरेको सम्बोधन अंश)
नेपालगन्जमा नेकपा एमाले अध्यक्ष केपी ओली, कार्यकर्ता बढाउँदै एमाले