कुन राजनीतिक पृष्ठभूमिबाट एमाले बन्दै हो ?
मैले २०५३ देखि २०६३ सालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न पदमा बसेर काम गरेको छु । गाउँ इकाइ समितिको अध्यक्षको रुपमा दुई पटक काम गरे । क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यको रुपमा काम गरें ।
समयको माग अनुसार मधेस आन्दोलन लगायत विभिन्न आन्दोलन भएपछि जनताको माग राप्रपाबाट सम्बोधन हुन सक्दैन भनेर २०६३ सालमै फोरम लोकतान्त्रिकमा प्रवेश गरें । त्यो पार्टीमा जिल्ला सदस्य, केन्द्रीय सदस्य, पार्टीको केन्द्रीय लेखा समितिको सदस्य भएर काम गरें । त्यो पार्टीमा २०७४ सालसम्म काम गर्दै आएको थिएँ ।
फोरम काँग्रेसमा गएपछि आफ्नो सक्रियतालाई घटाएँ । हालसम्म तटस्थ भएर बन्दै आएको थिएँ । नेकपा एमाले प्रवेशको वाताबरण बन्यो ।

एमाले चाहिं किन रोज्नुभयो ?
फोरम लोकतान्त्रिक सिंगो पार्टी नै काँग्रेसमा प्रवेश गर्यो । काँग्रेस रोज्न सकिन्थ्यो । तर पनि मेरो आफ्नो विचारमा काँग्रेस भनेको पुरानो सिद्धान्तबाट चलेको पार्टी हो । २०१५, ०३६ र ०४८ को कुरा गरेर जनताको बीचमा गएको पार्टी हो । जुन कुरा जनता अहिले त्यति रुचाउन चाहँदैनन् । अर्को कुरा काँग्रेस अब सैद्धान्तिक रुपले बुढो पनि भैसकेको छ ।
त्यसकारण काँग्रेसले आमूल परिवर्तन नगर्दा, विचार परिवर्तन नगर्दासम्म यो देशमा काँग्रेसले केही पनि गर्न सक्दैन । आदीवासी, जनजाति, मुस्लिम मधेसीको पहिचाको सम्मान पनि गर्न सक्दैन । देशलाई पनि बनाउन सक्दैन काँग्रेसले भन्ने लागेर २०७४ मा फोरम लोकतान्त्रिक काँग्रेसमा प्रवेश गर्दा मैले प्रवेश गरिन । तटस्थ बसें ।

नेकपा एमालेका श्रद्धेय अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी ओली हुनुहुन्छ । उहाँमा पार्टी र देशलाई ठोस भिजन दिनसक्ने व्यक्ति भएका कारणले गर्दा मैले उहाँको भिजनबाट प्रभावित भएर एमाले पार्टीलाई मैले आफ्नो घरको रुपमा रोजेको हो ।

र, मलाई लाग्छ, यो देशमा सम्मानजनक तरिकाले आदिबासी, जनजाति, मुस्लिम, मधेसीलाई कोहीले पहिचान दिनसक्ने, उनीहरुको संरक्षण सम्बद्र्धन गर्न सक्छ भने त्यो नेकपा एमाले हो । किनभने अहिले एमाले सबैलाई अँगालेर हालको अवस्थामा अगाडि बढिरहेको छ ।
हुनत मधेसी, आदिबासी, जनजातिको पहिचानका लागि थुप्रै पार्टी छन् । तर, उनीहरुले मधेसी, आदिबासी, जनजाति, मुस्लिमलाई देखाएर भजाएर एउटा दलालको रुपमा मैले बुझेको छु । उनीहरुबाट केही हुन सक्दैन । काँग्रेसबारे भनिसकें, जहिले जालझेलको राजनीति गर्ने प्रचण्डबाट के अपेक्षा गर्ने, मधेसवादी भजाउने मात्र भए, माधव नेपालको कुरै नगरौं । त्यसकारण मैले नेकपा एमाले रोजेको हुँ ।
एमाले तथा यसका अध्यक्ष समृद्धिका संवाहक हुन् । र, उहाँबाट नै त्यसको संरक्षण र सम्बद्र्धन हुनसक्छ । नेपाल बुद्धभूमि हो । बुद्धभूमिको संरक्षण एमालेबाट हुनसक्छ, केपी ओलीबाट हुनसक्छ । अरु कसैबाट हुनसक्दैन । किनभने लिम्पियाधुरा, कालापानीको नक्साकंन एमालेले नै गरेको हो । तत्कालीन प्रधानमन्त्री ओलीले नै गरेको हो । अहिले जनगणना त्यहाँ गर्दा भारतलाई सोध्नुपर्दछ भनेर काँग्रेसका परराष्ट्रमन्त्रीले भनिराख्नु भएको छ । यस्तो भन्नेबाट देश चल्छ त ?

कुनै शर्तमा प्रवेश गर्नु भएको भन्ने पनि चर्चा छ नि ?
म नेकपा एमालेबाट प्रेरित भएर प्रवेश गर्न लागेको हुँ । अन्य विषय आन्तरिक कुरा हुन् । मैले कुनै पनि किसिमको सौदाबाजी गरेर जान लागेको होइन । पद भन्ने कुरा अवसरका कुरा हुन् । भोलि पार्टीले मूल्यांकन गरेर योग्य सम्झेर जिम्मेवारी दियो भने स्वीकार गर्छु । मलाई एमालेको मूलभूत सिद्धान्त, केपी ओलीको भिजन र काम गर्ने शैली मन परेर एमाले प्रवेश गर्न लागेको हुँ । उहाँ प्रधानमन्त्री हुँदा १८ घण्टा काम गर्ने उहाँको शैलीबाट पनि प्रभावित भएको हुँ ।

प्रतिक्रिया

प्रतिक्रिया