म्याराथन तयारीः सुरक्षा प्रमुखसँग परामर्श

धारा सातौं नेपालगन्ज म्याराथनको टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सुरक्षा सम्बन्धमा छलफल भएको छ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए ।


नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म म्याराथन हुने गर्दछ । आयोजकका अनुसार, म्याराथन हुँदा सडक एकतर्फ बन्द गरिने भएको छ । म्याराथन रुटमा ५० बढी ठाउँमा क्रसिङ रहेकाले त्यहाँ सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ ।


प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नरेन्द्र गिरी, जिल्ला ट्राफिक प्रमुख ऐनबहादुर मल्लको उपस्थितिमा भएको बैठकले म्याराथनलाई सुरक्षा निकायको तर्फबाट कुनै समस्या नआउने प्रतिबद्धता गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी खत्रीले सधैंजसरी यसपाली पनि म्याराथनमा सुरक्षा निकायबाट पूर्ण सहयोग रहने धारणा राखे । म्याराथन हुँदा ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिन्छ । आयोजकका अनुसार, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले नेपाली सेनाले एम्बुलेन्स र ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिदिने बताए ।


आयोजकका अनुसार, म्याराथनको मिति नजिकिदै जादा तयारी तिब्र पारिएको छ । खेलाडीको इन्ट्रीदेखि भेन्यु व्यवस्थापन, विभिन्न व्यक्तित्व र निकायसँग समन्वयका काम भइरहेको छ ।

सुरक्षा अधिकारीसँगको छलफलमा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले म्याराथनका विभिन्न पक्षका बारेमा प्रकाश पारेका थिए। छलफलमा रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ, लुम्बिनी प्रदेशका खेलकुद सदस्य सचिव भीम वलीको उपस्थिति रहेको थियो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्ने म्याराथनमा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहको उपस्थिति रहने भएको छ ।


सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र राज्यका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसीर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ । राष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कसरत भइरहेको छ । यसपालीको म्याराथनमा सात हजारलाई सहभागी गराउने आयोजकले बताएका छन् ।


नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया