
अदालतमा मुद्दा, जिल्ला प्रशासन कार्यालय अगाडि नियमित प्रदर्शनपछि अधिकारकर्मी र पीडित परिवारको न्यायका लागि भन्दै काठमाडौंसम्मको पैदल यात्रा, अधिकारकर्मी रुबी खानको आमरण अनशन पछि बनेको गृह मन्त्रालयको छानबिन समिति, अदालतमा दायर मुद्दाका अभियोगी पक्राउ र थुना लगायतको घटना विवरण पछि अधिकारकर्मीको टोली पुनः न्यायका लागि जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिन पुगेको छ ।
छानबिन समितिको प्रतिवेदन कार्यान्वयन, मुख्य अभियुक्त बादशाह कुर्मी पक्राउ, निर्मलालाई न्याय लगायत विषय उठाउँदै शनिबारदेखि प्रशासनको गेट अगाडि धर्ना दिन थालिएको हो ।
घटनाका मुख्य अभियुक्त कुर्मी आफु निर्दोष रहेको बताउँछन् भने प्रहरीले उनलाई तत्काल पक्राउ गर्नुपर्ने मनासिव कारण नरहेको बताउँछ । तर, अधिकारकर्मी रुबी खान सहितको टोली उनलाई तत्काल पक्राउ गर्नुपर्ने, थप अनुसन्धान गरिनु पर्ने बताउँदै आएको छ । अधिकारकर्मीको टोली प्रहरी अनुसन्धानबाट सन्तुष्ट छैन, प्रहरी कसैको दबाबमा भन्दा पनि कानुन अनुसार काम गरिरहेको बताउँछ ।
तपाईंसँग जोडिएको निर्मला कुर्मी प्रकरण के हो ?
यसमा दुई वटा कुरा छ । कुँवर बब्बन सिंह मेरो प्रतिद्वन्द्वी हुन् त्यो सबैलाई थाहा छ । कुँवर बब्बन सिंहले २०७४ सालमा मलाई सहयोग गरे त्यस वापत मैले उहाँलाई नेपाली काँग्रेसमा प्रवेश गराएँ । प्रवेश गराएपछि कुँवर बब्बन सिंह र रुबी खान, मो. शेर बागवान बीच झगडा भयो । दुवै पक्षलाई अभद्र व्यवहार लाग्यो । दुवै पक्षलाई अभद्र व्यवहारको आरोप लागेपछि मैले मिलौं भन्ने प्रस्ताव गरेँ । त्यसपछि म सिंहको पक्षको लागेको उहाँहरुलाई लाग्यो । एउटा मुद्दा कँुवर बब्बन सिंह दाईको नाममा २५ लाख रुपैयाँ मेरो पैसा लिए, जग्गा अंशवण्डा गरे हाम्रो पैसा दिएनन् भनेर हाले । यो गत साल असोजको कुरा हो ।
मैले भनें मुद्दा किन हाल्नु भयो, तपाईको कागज हो भने सिधा अदालत जाँदा हुन्छ । २०६९ सालको कागज छ, अब मरेको मान्छेको कागज हो भने जसले धन खान्छ उसले ऋण पनि खानुपर्छ भनें । त्यो मुद्दामा मैले प्रमाण सहित उच्च अदालत जान भनेको थिएँ । त्यो मुद्दा अहिले स्टेमा छ । मैले उनीहरुको पक्षमा बोलेन र अर्को पक्षमा बोलेँ भनेर म माथि निर्मलाको विषयलाई लिएर मुद्दा हालिदिएका हुन् ।
निर्मला कुर्मीसँग तपाईं चाहिं कसरी जोडिनु भयो, यो समस्या कहाँबाट आयो ?
२०६६ सालमा म संविधानसभामा हुँदा निर्मलाका दुई छोरा मरिसकेपछि काठमाडौंबाट आएको हो । निर्मलाको श्रीमान् पहिले नै बितिसके, छोरा पनि रहेनन्, जग्गा जमिन निर्मलाको छोरा र श्रीमान्को नाममा थियो । निर्मलाले दुवै छोरालाई अस्पतालमा उपचार गराए पनि मरेको बताइन् । एक्ली महिला, पढेलेखेको पनि छैन, उसको नाममा जग्गा पनि छैन । भोलि नामसारी गरेर हिनामिना हुन्छ भनेर मैले उनको लालपुर्जा र नागरिकता मागँे संरक्षण गर्नुपर्छ भनेर । निर्मला मेरो छिमेकी, मेरो जातिको मात्रै नभएर म पूर्व गाविस अध्यक्ष र संविधानसभा सदस्य पनि भएकाले उनको जग्गा, संरक्षण गर्नका लागि मागेका थिएँ लालपुर्जा । निर्मलाले जिम्मेवार व्यक्ति भएकाले मलाई नै राखिदिनुस् भनेर लालपुर्जा दिएकी थिइन्, मैले राखिदिएको हो ।
त्यसको ५/६ महिनापछि उनीहरुले बादशाह कुर्मीले लालपुर्जा खोस्यो, जबर्जस्ती लियो, सम्पत्ति खानका लागि लियो भनेर उनीहरुले भने । मैले सम्पत्ति कसरी खान्थेें । उनीहरुले मलाई कुँवर बब्बन सिंह वाला मुद्दामा नलाग्न र पछाडि हट्न भने, भन्न लगाए नत्र मुद्दा हालिदिन्छु भनेर ।
मैले २०६६ सालमा लालपुर्जा र नागरिकता सिडियो कार्यालयमा जिम्मा लगाइसकेको थिएँ । त्यो बेला पनि जुलुस, नारा गरेका थिए । २०६९ सालमा जग्गा नामसारी भएको छ । लालपुर्जा र नागरिकता प्रशासनमा बुझाइसकेपछि निर्मला म कहाँ आउने वा मैले खोज्ने केही पनि भएन ।
२०६६ साल पछि मेरो नाममा न कतै उजुरी छ, मैले एक धुर जग्गा पनि लिएको छैन । केही गरेको छैन । २०६६ सालको फोटो देखाएर अहिले मुद्दा हालेका छन्, प्रमाण केही पनि छैन ।
तपाईले सरेन्डर गर्ने र तारेखमा छुट्ने कुरा के हो ?
प्रहरी आफैले अनुसन्धान गरेको छ । प्रहरीमा मैले आफै गएर सबै प्रमाण र आधार भनेपछि प्रहरी आफैले अनुसन्धान गरेको छ । प्रहरी आफै निर्मलाको घरमा पुगेका छन्, त्यहाँ हेरेका छन् । निर्मलाको घर जग्गा २०७० सालमै लिलाम भएर गएको हो । महिला यहाँ बस्दै बस्दैनथिन् । २०७५ सालमा मैले कहाँबाट अपरहण गरें त, यहाँ नै नबस्ने मान्छेलाई ? २०७१ सालमा महिला छैन भनेर उनको घरदैलोमा टाँस नै भएको थियो ।
यो सब पूर्वाग्रहले भएको हो । त्यसका दुई कारण छन् म विरुद्ध लाग्नुमा । पहिलो म पार्टीको जिल्ला सभापति लड्न लागेको छु । २०४२ सालदेखि अहिलेसम्म म लगातार पदमै छु । मैले कहीँ कतै बदमासी गरेको भए म माथि धेरै उजुर बाजुर पर्ने थियो नि !
उनीहरु फरक पार्टीका मान्छे, तपाई सभापति हुन त किन रोक्छन् र ? बरु काँगे्रस भित्रैबाट खेल्न सक्छ र कसैले ?
हुनसक्छ । आन्तरिक पनि प्रतिद्वन्द्व त हो नि । अहिले पार्टीहरुको दशा हेरिराख्नु भएको छ नि !
सरकार तपाईहरुकै पार्टी नेतृत्वमा छ । गृह मन्त्रालय तपाईहरुकै पार्टीको हातमा छ । गृहकै निर्देशनमा बनेको समितिले दिएको प्रतिवेदनले बादशाह कुर्मी लगायतलाई समात्नु भनेको के हो त ?
समितिले के भनेको हो भने १ जना हाजिर भएर आफ्नो हकमा बयान गरिसक्नु भएको छ, जो मान्छे छैनन् त्यहाँ (बाँकी ७ जना)लाई पनि कानुनी दायरामा ल्याउनु भनेको हो । पक्राउ गर्नु भनेको होइन । अनुसन्धान गर्ने त प्रहरीले हो । समितिले निर्देशन दिने कुरा हुन्छ र ?
अनुसन्धान गर्ने एउटा निकाय छ, न्याय गर्ने अदालत छ, त्यति हुँदा पनि सडकमा नारा लगाउँदा, त्यस विरुद्ध राज्य बोल्नु पर्दैन र ? तपाईकै पार्टीको सरकार छ अहिले । तपाईंमाथि अन्याय भयो भन्ने लागेको भए त राज्यले एक्सन लिदों हो नि !
हामी आफैं लोकतन्त्रको लडाई लडेका छौं । कसैलाई रोक्दा आफ्नै सरकार भएकाले मान्छेले कुरा राख्न नपाउने भन्ने लाञ्छना लाग्दछ । हामी लोकतान्त्रिक मान्छे र पार्टी पनि हो नि । यसकारण हामीले पक्राउ गराउने, अनैतिक रुपमा दुःख दिने भन्ने त छैन । उनीहरुले आफ्ना कुरा राख्न पाए ।
यसरी त यो घटना कहिलेसम्म जाने ? समिति बन्यो अनुसन्धान गर्यो, अब फेरि त्यो अनुसन्धान प्रतिवेदन अनुसार कारवाही गर भनेर धर्ना सुरु भयो ! समाधान बिन्दु के हो ?
तपाई आफैं आएर वा सारा मिडिया ल्याएर, या पुलिस, प्रशासन ल्याएर उनीहरुले जहाँ घटना भएको भनेका छन् त्यहीँ आएर बुझ्नुस्, सोध्दा हुन्छ । म कुनै किसिमको दोषी हो भने कारवाही हुनुपर्दछ । दोषी होइन भने सम्बन्धित मान्छेलाई कारवाही हुनुपर्दछ । मेरो विचारमा समाधान यही हो ।
निर्मला कुर्मीको मृत्यु घटना र सम्पत्ति प्रकरण, कत्तिको रहस्यमय हो ?
२०६६ सालमा उनीहरुले आफ्नो जिम्मा लिएर सेफ सेल्टरमा राखेका छन् । आफै जग्गा नामसारी गराएका छन् । आफै दुई तिन वटा तमसुकबाट पैसा पनि बुझेका छन् । जग्गा उनीहरुले नै रोक्का गराएका छन् । मैले केही गरेको छु ? पुर्जा बुझाईसकेपछि मैले कही कतै केही गरेको छैन । अनि यिनीहरुको छानबिन कतै नहुने, २०६६ सालपछि म कतै इन्भल्ब छु भन्ने अनि मलाई भन्नुस् हजुरले ।
तर, २०६६–२०६९ सालमा जग्गा नामसारी भयो । २०६९ मा तीन लाखको तमसुकबाट उनको घरजग्गामा जुवेदा इद्रिसीले मुद्दा दियो । २०७० मा फैसला भएको छ । २०७१ सालमा …. मुचुल्का भएर लिलामी भएछ । २०७२ सालमा जुवेदाले २०४६ सालमा नापी भएर लालपुर्जा नभएकाले लालपुर्जा बनाएको छ । २०७३ सालमा घर जग्गा बिक्री गरेको छ । अनि मैले कहाँबाट बिक्री गरेको हो ।
छानबिन समिति नै पूर्वग्रही देखिएको हो त ?
त्यसमा पनि मो. शेर बागवान आफै छन् त । समितिले त्यति मात्रै भनेको छ, मुद्दा दर्ता भैसकेको त्यसकारणले प्रक्रियामा ल्याउनु भनेर ।
एउटा नागरिकको सुरक्षाको सवाल, सम्पत्तिको सुरक्षाको सवालमा राज्य त चुकेको हो नि त ?
चुकेको हो भने कृष्णचन्द्र घिमिरे चुकेको हो । उसैले निर्णय गरेर नामसारी गराएको हो । २०६९ सालमा नामसारी भैसकेपछि रुबी खान, मो. शेर बागवान यही गाउँमा बस्छन्, जुन गाउँमा म बस्छु । २०६९ सालमा जग्गा बिक्री भएपछि, २०७० मा लिलाम गरेर लिएपछि, २०७७ सालसम्म के हेरेर बसे त यिनी ?
त्यसो भए राज्य चुकेको हो ?
राज्य चुकेको होइन । यिनीहरुले झुठा कुरा गरेका हुन् । सारा झुठा कुरा गरेर मलाई राजनीतिक रुपबाट वञ्चित गराउने षडयन्त्र हो । यो घटना शुन्य हो, शुन्यलाई ताड बनाइएको हो ।
निर्मलाको ज्यान त स्वभाविक मृत्यु भनियो रे ? तर, त्यत्रो सम्पत्ति ३ लाखको त होइन नि !
मैले सम्पत्ति लिएको हो ? राज्य सम्पत्ति चुक्यो कि चुकेन मलाई थाहा भएन । अहिले सम्पत्तिको कुरा उठाउँदा जुवेदा इद्रिसी माथि मुद्दा हालेका छैनन् । रमेश थापा र पार्वती विष्ट माथि मुद्दा हालेका छन् । अर्को मेरो २०६६ सालको फोटो देखाएर मुद्दा हालेका छन् ।
उर्मिला कनोजिया कुँवर बब्बन सिंहको अभद्र व्यवहार मुद्दामा साक्षी बसेको छ, उसलाई पनि मुद्दा हालिदिएको छ । कुँवर बब्बन सँग झगडा भएको कारणले म टिममा कुँवर बब्बन सिंह र दुई छोरालाई मुद्दा हालिदिएछ, यो कहाँको सत्यता हो ?
सबै घटना क्रमले देखिएको छ, मेरो चरित्र हत्या गर्ने, मलाई कतै न कतैबाट आक्षेप लगाएर आफुहरुले लुट्ने खाने भन्ने उनीहरुको नियत हो । एउटा संस्था खोल्दैमा कसैको चरित्र हत्या गर्न पाइन्छ ?
तपाईंका विपक्षीलाई सहयोग पुग्ने गरि छानविन समिति र प्रहरी अनुसन्धान अगाडी बढेको हो त ? केही होइन भनिरहँदा मानिस त समातिएका छन्, तपाईलाई पक्राउ गर्न दबाब छ !
घटनामा अभियुक्त बनाइएका कसैलाई प्रहरीले समातेको होइन । आफै गएर हाजिर भएका हुन् । मुद्दा दर्ता गरिसकेपछि त्यसको प्रक्रिया पुरा गर्नैपर्छ । सबैले मान्नु पर्छ, हामी लोकतान्त्रिक मान्छे हो । त्यसकारण अनुसन्धान भैरहेको छ, त्यसमा दोषी देखिए कारवाही हुन्छ, नत्र हुँदैन, सफाई पाउँछ । मलाई पक्राउ गर भन्ने दबाब पूर्वाग्रही कुरा हो ।