बाँकेमा पहिलो चरणको खोप २ लाख २० हजार र पहिलो तथा दोस्रो चरणको खोप लगाउनेको संख्या १ लाख १५ हजार रहेको छ ।
बाँकेमा
कोरोना संक्रमण जोखिमका कराण कुनै बेला घरबाट बाहिर ननिस्कने गरी कडा प्रतिबन्ध लागेको कसैले सायदै बिर्सेला । २०७६ चैत्र पछि सुरु भएको पहिलो लहर नियन्त्रणमा आएपनि पुनः कोरोना संक्रमण फैलदैन नियन्त्रणमा आउँछ भन्ने धेरै थिए । तर, २०७८ बैशाखमा नेपालमा पनि पुनः कोरोनाको दोस्रो लहर देखियो । देशका विभिन्न स्थान लडाउन हुन बाध्य भयो । स्वास्थ्यकर्मीहरु अहिले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आएको बताउँछन् । तर, तेस्रो लहरको सम्भावना भने यसअघि नै व्यक्त गरेका थिए । खासगरी तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुले औंल्याएका थिए । नेपालमा अझै विज्ञहरुले औंल्याएको जोखिम भने देखिएको छ ।
नेपाल–भारतमा सीमा खुला रहेको छ । निर्वाध आवागमनका कारण भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा बढ्छ । अहिले भारतमा कोरोना संक्रमण न्यून रहेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको छ । शनिबारको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएको छन् । नेपालमा सोही अवधीमा जम्मा २ सय ९५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले नेपालमा कोरोना संक्रमण नियन्त्रण र सामान्य बन्दै गरेको विज्ञहरु बताउँछन् । तर, पहिलो लहरपछि दोस्रो लहर आएजस्तै तेस्रो लहरको सम्भावना भने नर्कादैनन् । कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउँदै गर्दा निषेधित सबै क्षेत्र स्वस्फूर्त सञ्चालनमा छन् । बिस्तारै उनीहरुको कारोबार पनि राम्रो हुँदै गएको छ । यातायात क्षेत्र होस् वा पर्यटन तथा हेल्थ क्लब र फन पार्क मानिसहरु पुग्ने क्रम बढ्दो छ । तर, बाह्य पर्यटकको भरमा रहेको पर्यटन व्यवसाय भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पछिल्लो पटक सञ्चालनमा आएको चलचित्र क्षेत्रले पनि उल्लेख्य दर्शक पाउन थालेको छ ।
कोरोना नियन्त्रणमा आउनुमा भाइरस कमजोर हुनु, लक्षण देखिएकाले मात्रै परीक्षण गराउनु र खोपको प्रभावकारिता बढ्नु रहेको स्वास्थ्यकर्मी औंल्याउँछन् । ‘अहिले कोरोना नियन्त्रणमा रहेको देखिन्छ’, जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह बताउँछन् ।
बाँकेमा मात्रै पहिलो चरणको खोप २ लाख २० हजार बढीले लगाएको जनस्वास्थ्य कार्यालयका प्रमुख शाह बताउँछन् । पहिलो र दोस्रो चरणको खोप लगाउनेको संख्या १ लाख १५ हजार रहेको छ । बाँकेमा कोरोना विरुद्धको कुनै न कुनै खोप नियमित रुपमा चलिरहेको छ । आज आइतबारबाट १२ बर्ष माथिका बालबालिका र दीर्घरोगीहरुका लागि फाइजरबायोएनटेक खोप लगाइँदैछ । भेरी अस्पताल नेपालगन्जमा मंसिर ४ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख शाह बताउँछन् ।
देशभर मंगलबार ३४ हजार ७१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मंगलबार लगाइएको खोपसँगै अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनाले पहिलो मात्रा र ७५ लाख ४१ हजार २६७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
यसैबीच शनिबार बाँकेका तीन वटा प्रयोगशालामा ६६ जनाको परीक्षण गर्दा ६ जना संक्रमित थपिए । जसमध्ये बाँकेका २ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २४३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
शनिबार थपिएकासँगै देशभर सक्रिय संक्रमित सात हजार २७८ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण दर १८.२ प्रतिशत पुगेको छ । पाँच सय बढी सङक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ । दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १० छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौँ, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।
दुई जिल्लामा शून्य
हुम्ला र मुगुमा संक्रमित संख्या शून्य रहेका छन् । पछिल्लो २४ घण्टामा ४७८ जनाले कोरोना भाइरसको संक्रमणमुक्त भई फर्किएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख ९७ हजार ९२६ जना रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।
शनिबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ४७१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन छ हजार ७५२, संस्थागत आइसोलेशनमा ५२६ जना, सघन उपचार कक्षमा १९३ र भेन्टिलेटरमा ५७ जना रहेका छन् ।