पहिलो पटक नेपालगन्जमा आयोजना हुन गैरहेको वेष्टर्न टुरिजम मार्टका लागि मूल आयोजक समिति गठन गरिएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा बसेको बैठकले नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा आयोजक मूल समिति गठन गरेको हो ।

बैठकले नगर प्रमुखको संयोजकत्वमा निर्देशन समिति र पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा आयोजना समन्वय समिति गठन गरेको नाट्टा नेपालगन्जले जनाएको छ ।
‘आयोजना तयारीका लागि आवश्यक कामहरु तत्काल सुरु गर्न बैठकले निर्देशित गरेको छ’, मञ्चका संयोजक श्रेष्ठले बैठक पछि दैनिक नेपालगन्जसँग भने, ‘टुरिजम मार्टलाई पश्चिम नेपालको पर्यटन प्रवद्र्धनका लागि कोशे ढुंगा साबित गर्ने चुनौति हामीसामु छ ।’
मूल आयोजक समितिका संयोजक सिग्देलले बैठक पछि नेपाल पर्यटन बोर्डसँग आवश्यक छलफल र नाट्टा केन्द्रसँग थप परामर्शका लागि काठमाडौं गएको जानकारी दिए । ‘म तयारीलाई तिव्रता दिने गरी बिहीबार नै काठमाडौं पुगेको छु’, नेपाल सरकारका विभिन्न अंगहरुको प्रत्यक्ष सहभागितामा हुने वेष्टर्न टुरिजम मार्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागि परेको जानकारी दिंदै मूल आयोजक समितिका संयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘पर्यटन बोर्ड, नाट्टा, पर्यटन मन्त्रालय लगायतसँग छलफल, समन्वय गरेर मार्टलाई ऐतिहासिक बनाउने कोसिस हुनेछ ।’
हान, होटल व्यवसायी महासंघ, अगुवा पर्यटन व्यवसायीहरु सहभागी बिहीबारको बैठकमा आयोजनालाई भव्यता दिनुका साथै नेपालगन्ज र आसपासका पर्यटकीय गन्तव्यहरुको पहिचानका लागि छलफल भएको थियो । ‘मार्ट आयोजनासँगै पर्यटकका लागि प्याकेजका लागि पनि हाम्रो प्राथमिकता हुनुपर्दछ’, ह्याप्पी वल्र्डका अध्यक्ष सञ्जय थापाले भने ।