सरकार ड्राइभिङ लाइसेन्स कहिले पाइन्छ ?

जरिवाना तिर्दै चलाउँदै गर्दा बाँकेमै १० हजार बढी ‘क्यु’ मा

‘जरिवाना तिरेर मोटरसाइकल चलाइरहेको छु’, नेपालगन्जका राजेश अधिकारीले भने । अधिकारी राम्रो सँग मोटरसाइकल चलाउन जानेका छन् । ट्राफिक प्रहरीको चेकिङ्गमा परे जरिवाना तिरेर सवारी चलाउने उनी दुर्घटना भए भोग्नु पर्ने कानुनी सजायका बारेमा पनि जानकार छन् । ‘चलाउन जानेको डेढ बर्ष भयो, लामो प्रक्रियाका कारण अझै लाइसेन्स लिएको छैन’, उनले भने । लाइसेन्स नहुनेको साधन ट्राफिक प्रहरीले केहीबेर नियन्त्रणमा लिएपनि अन्तत जरिवाना लिएर छाड्ने गरेको छ ।

उनी मात्रै होइन धेरै यस्ता मोटरसाइकल तथा स्कुटर चालक छन् जसले चालक अनुमति पत्र नलिएर नै साधन चलाउँछन् । कतिपयले लाइसेन्स परीक्षा पास गरेर पनि लाइसेन्स पाएका छैनन् । हजारौंले फर्म भर्न पाएका छैनन् त भरेकाको बायोमेट्रिक, लिखित र ट्रायलको पालो नै आएको छ । कतिपय लाइसेन्सकै पर्खाईमा सवारीसाधन किनेर चढ्ने रहर पूरा गर्न पाएका छैनन् ।

‘लाइसेन्स लिनका लागि चाप बढ्दो छ’, यातायात व्यवस्था कार्यालय नेपालगन्जका अधिकृत केशव घिमिरे भन्छन् । त्यसैले पनि होला यातायात व्यवस्था कार्यालयले कार्तिक ८ गते पूर्व सूचना विना नै लाइसेन्सका लागि अनलाइन फाराम खोलिदियो । तर, अत्याधिक लगइन भएकै कारण दुई दिनमै साइटमा समस्या आयो र बन्द भयो ।

चालक अनुमति पत्र (लाइसेन्स) फाराम अनलाइन भर्ने गरिन्छ । गत बैशाख दोस्रो सातादेखि बन्द रहेको अनलाइन फाराम कार्तिक ८ गते खुलाइयो । तर, ६ महिनापछि आवेदन खुलेकाले चाप बढेपछि समस्या आयो र पुनः बन्द गरियो । त्यसपछि पनि अनलाइन फाराम अवरुद्ध भएको थियो । अहिले पुनः सुचारु छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले कार्तिक ८ गते अनलाइन फाराम खुला गरेलगत्तै ९ लाख जनाले एकैचोटी सिस्टममा फारम भर्न प्रयास गर्दा समस्या आएको बताएका थिए । उनले सूचना निकाल्दा झन् चाप बढ्ने भएकाले पूर्व सूचना विना अनलाइन फाराम खोल्दा समेत समस्या आएको जानकारी दिए ।

कोरोनाका कारण दुई आ.व.मा लाइसेन्सका सबै प्रक्रियाहरु अवरुद्ध नै रहे । लाइसेन्स परीक्षा पास गरेकाले पनि अझै स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । स्मार्ट लाइसेन्सलाई समय लाग्ने भएपछि लाइसेन्स परीक्षा पास गर्नेलाई अहिले एक बर्षका लागि अस्थायी लाइसेन्स दिने गरिएको छ । ‘चालक अनुमति पत्र लिनका लागि परीक्षा पास भएपछि एक बर्षका लागि अस्थायी चालक अनुमति पत्र दिने गरेका छौं’, यातायात व्यवस्था कार्यालय नेपालगन्जका अधिकृत घिमिरे भन्छन् ।

कोभिडका कारण डेढ वर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । २०७६ चैतदेखि सरकारले जारी गरेको लकडाउनका कारण परीक्षा स्थगित गरिएकामा झन्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो । त्यसपछि पनि केही समयमै कोरोनाको दोस्रो लहरका कारण वैशाख १६ गतेदेखि पुनः सेवा स्थगित भयो । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले संक्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र सम्बन्धी सेवा खुलाएको थिएन ।

विभागका अनुसार, फारम भरेर बसेका नयाँ लाइसेन्स लिने प्रक्रियामा रहनेहरुको संख्या अझै साढे ३ लाख बढी रहेको छ । लाइसेन्स परीक्षा पास गरेर स्मार्ट लाइसेन्स कुर्नेको संख्या ७ लाख रहेको छ । गत बर्ष भदौमा स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरिएको थियो । कोभिडका कारण कार्ड खरिद गर्न नसकेको बताएपनि अन्य क्षेत्र सुचारु हुँदा समेत विभागले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको हो । स्मार्ट लाइसेन्स वितरणका लागि कम्तिमा दुई महिना लाग्ने विभागले बताएको छ ।

बाँकेमा मात्रै लकडाउन अवधीका लाइसेन्सका प्रक्रिया कुरेका १० हजार भन्दा बढी रहेको अनुमान छ । बैशाखको लकडाउनका कारण फराम भरेर छुटेकाहरुको केहीको थप प्रक्रिया यसअघि नै सुरु गरिएको थियो । अहिले पनि बायोमेट्रिकको काम भैरहेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका अधिकृत घिमिरे बताउँछन् ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जले आगामी मंसिर ५ गतेदेखि ट्रायल सुरु गर्ने जानकारी दिएको छ । यसअघि फाराम भरेर लिखित परीक्षा पास गरेका करिब ५ हजारको ट्रायल गरिने र पुराना तथा कार्तिक ८ गतेपछि फर्म भरेकाहरुका क्रमैसँग सबै लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै जाने अधिकृत घिमिरे बताउँछन् । अहिले परीक्षा पास गर्नेहरुले अस्थायी लाइसेन्स तत्कालै पाएपनि स्मार्टका लागि भने बैशाखसम्म नै कुर्नु पर्ने देखिन्छ ।

अब फारम भर्नेहरुले विभागको नयाँ मापदण्ड अनुसार लिखित र ट्रायल दिन पाउने छन् । सबैले स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया