यस्तो छ, धारा सातौं नेपालगन्ज म्याराथनको टिसर्ट

    

धारा सातौं नेपालगन्ज म्याराथनको टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगन्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगन्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो ।


आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगन्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने जानकारी दिए । उनले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेको र यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।


टिसर्ट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिव भीम वलीले नेपालगन्ज म्याराथनले शहरलाई चिनाउने काम गरिरहेकाले सबै मिलेर यसलाई सफल बनाउनु पर्ने बताए । उनले म्याराथन केवल दौडमात्रै नभएर शहरको पहिचान गराउने, पर्यटक भित्र्याउने सशक्त माध्यम भएको बताए ।


टिसर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले नेपालगञ्ज म्याराथन उत्सव भएकाले सबैले मिलेर उत्सवमय बनाउनु पर्ने बताए । उनीहरुले नेपालगन्जलाई खेलकुदको शहरको रुपमा विकास गर्न म्याराथनले ठूलो भूमिका खेलिरहेको बताए ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, राखेपका सदस्य सुमित्रा चौधरी, जिल्ला खेलकुद विकास समिति, बाँकेका अध्यक्ष मोहित शाह, उपाध्यक्ष कृष्णा पाठक, शहरका प्रतिष्ठित व्यक्तित्वहरु सञ्जय थापा, डा.अवनिन्द्रदत्त मिश्र, शशी स्वाँर, विकास बज्राचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, तेजविक्रम शाह, सूर्यमणि अधिकारी, हेमन्त काफ्ले, म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ लगायतले टिसर्ट सार्वजनिक गरेका थिए ।


आयोजकका अनुसार, मंसीर ४ गते नेपालगन्जको वीपीचोकबाट शुरु हुने म्याराथनमा सात हजारलाई सहभागी गराउने तयारी भइरहेको छ । त्यसका लागि आन्तरिक तयारी तिब्र रुपमा भइरहेको छ भने सरोकारवालासँग छलफल र बैठकहरु भइरहेका छन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्ने कार्यक्रममा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहलगायतको उपस्थिति हुने भएको छ ।


नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया