बाँकेको एउटा दुर्घटनाका दोषी र सवारीसाधनलाई समात्न प्रहरीले आइतबार राती निकै दौडधुप गर्नु पर्यो । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई कारले ठक्कर दियो । प्रहरीलाई दुर्घटनाको खबर पुग्यो । सामान्यतया दुर्घटना गर्ने सवारीसाधन आफै प्रहरीकोमा पुग्ने गरेका छन् । तर, हवल्दारपुरमा ठक्कर दिने सवारीसाधन भने न प्रहरीकोमा पुग्यो न त्यसको पत्तो नै लाग्यो ।
ठक्कर दिएको सवारीसाधन कार भएको प्रत्यक्षदर्शीले थाहा पाएपनि कार भएको थाहा पाएपछि प्रहरीले रातभर खोजीमा व्यस्त रह्यो । प्रहरीका सबै इकाइमा खबर गरिएपनि रातभर उक्त कार फेला पर्न सकेन । उक्त कार हवल्दारपुरबाट भाग्न सक्ने हाइवेको चारै नाकामा प्रहरीले निगरानी गरेपनि कार फेला परेन ।
प्रहरी रातभर कार खोज्नमा नै व्यस्त भयो । प्रहरीले उक्त कार राँझाको भित्रि बाटो हुँदै भागेको हुनसक्ने अनुमान गर्दै भित्रि बाटोमा खोज्दै गयो । कार भेटियो दुर्घटनाको १२ घण्टा पछि विहान ८ बजे राप्तीसोनारी गाउँपालिकामा ।
‘दोषी उम्कन नपाओस् भनेर रातभर खोजी गर्यौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक ऐन मल्लले भने, ‘विहान राप्तीसोनार–२ मा कार फेला पर्यो ।’ उनले कार फेला परेपनि त्यसका चालक भने फरार भएको बताए । ‘कार फेला पर्यो, अब दोषी उम्कन सक्दैन’, उनले भने ।
दुर्घटनामा ३२ बर्षीय विनोद अधिकारीको मृत्यु भएको छ । प्रहरीले अधिकारीलाई ठक्कर दिने बा ०१–०२५ च ८८–३९ नम्बरको कार नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।
बाँकेमा प्रत्येक बर्ष सवारी दुर्घटना बढ्दो रहेको छ । पछिल्ला दिन दैनिक जसो साना, ठूला दुर्घटना भैरहेको छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आ.व.मा ४ सय ४० वटा दुर्घटना भएका छन् । जसमा २ सय १० जनाले अकालमा ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार, आ.व. २०७५÷०७६ मा ९९ वटा दुर्घटनामा ६० जनाको ज्यान गयो भने १ सय ६१ जना घाइते भएका छन् । त्यस्तै, आ.व. २०७६÷०७७ मा १ सय ९१ वटा सवारी दुर्घटना भयो । जसमा ७३ जनाको ज्यान गयो भने २ सय ८० जना घाइते भए । २०७७÷०७८ मा १ सय ५० दुर्घटनामा ७७ को मृत्यु भयो भने २ सय ८ जना घाइते भए । आ.व. २०७६÷०७७ र २०७७÷०७८ मा लकडाउन भएको थियो । जसका कारण सवारी चलेका थिएनन् तर पनि दुर्घटनाबाट ज्यान जानेको संख्या अधिकत नै रहेको छ ।
चालु आ.व. २०७८÷०७९ को कात्तिकको पहिलो सातासम्म ४३ वटा दुर्घटना भएको छ । जसमा २१ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।