तिहार पर्व र सु–सभ्य संस्कृति


तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सु–सभ्य सस्मृति र सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देश बाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सदभाव र मैत्रीको प्रतीकसमेत हो ।
तिहार पर्वमा यमपञ्चकको पाँच दिनलाई तिहार भनिन्छ । यम भनेको धर्म र धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन । पाँच दिनसम्म मनाइने तिहार पर्वमा काग, कुकुर, गोरु, गाई र मानिस सबैलाई पुजा गरिन्छ । यो हाम्रो संस्कृति बनेको छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा छ । यसरी बहिनी यमुनाको घरमा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भए । यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेटन आउनुपर्ने र दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस, दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै बहिनी यमुनाले मागेको बर दिए ।


हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई नेपाल लगायत बिश्वका थुप्रै देशमा धूमधाम साथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यही दिन भगवान धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्दछन भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु अर्थात गोवर्धन र भाइ पुजा गरिन्छ । तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्य रुपमा हर्षोउल्लासका साथ रमाइलो गरि मनाउने गरिन्छ ।


मानव समाज सभ्यताको क्रममा घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले आधुनिक युगमा आइपुगेको हो । त्यसबेला सूचना दिने लिने सहयोगीको काम काग थियो । काग रुखमा बसेर करायो भने समाचार ल्याएको भन्ने मान्यता पनि समाजमा थियो । काग काराएपछि सुवोल सुवोल, भन्ने प्रचलन पनि समाजमा थियो । जुन कारणले तिहारमा कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी पनि हो । काग सर्वभक्षी चरा हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने मान्यता छ । कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरु खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।


शिकारी युगमा शिकार खेल्नका लागि कुकुरको प्रयोग मानिसले गर्दथिए । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ । कुकुरलाई आज्ञाकारी जनावारको रुपमा मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी बन्दै आयो । यमपञ्चकको तिहारको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर, डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना दिएर पूजा गर्ने गर्दछौ ।


जंगंलमा शिकार खेलेर जनावरको मासुले पालिदै गरेका मानिस मानव बिकासको क्रममा पशुपालन गरेर बस्नथाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग आवस्यक सामान साटेर खानथाले । वस्तु विनिमयको युग त्यसरी सुरु भएको हो । कुनै बेला समाजमा खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो । त्यसबेला देखि गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि सगंसगै सुरु भयो । पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि मानिसहरु क्रमश कृषिकर्ममा लाग्न थाले । कृषिको लागि गोरु प्रयोग हुनथाल्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले ।


सास्कृतिक अध्ययन अनुसार तिहार भनेको सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । आदीम युगमा परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । मानिसहरु सभ्य हुदै आएपछि दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनु हुँदैन भन्न थालियो । भाईको पुजा र टिका सुसंस्कृत र सभ्य समाज निर्माण गर्ने प्रचलन पनि हो । कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा लेखिएको छ, यम र यमी भन्ने जुम्ल्याहा दाजु बहिनी थिए । एक दिन बहिनी यमीले दाई यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गरिन । बैवाहिक प्रस्तावले दाई यम विचलित भए । यमले बहिनीलाई भने–एउटै आमाबाट हामी जन्मेकाले हामी बीच बैवाहिक संम्वन्ध हुँदैन भनेर सम्झाउँन थाले । पछि यीनै कुरा ऋग्वेदमा यमुना र यमराजको कथामा परिणत भएको छ । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । वेदले मानव जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको हो ।


कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर र पवित्र बनाउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रुपमा पनि लिने गरिन्छ । हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताका रुप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्य धान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । तिहारमा दिपावलीको प्रशगं भगवान् रामचन्द्रसंग पनि जोडिएको छ । रामले लोककल्याणको लागी रावणा र असुरहरुको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेका थिए । अर्को प्रशगमा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको मानिन्छ ।


तिहारमा गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन गरिन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुराले सबैजनाको समर्थन पाए । त्यसै कारणले गोवर्धन पर्वतको पूजाको सुरुवात भएको हो । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले इन्द्र रिसाए । गोकुलमा असिना र पानीको वृष्ठी गराए । त्यसबेला कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिए । त्यसपछि इन्द्रले आफ्नो हार मानि कृष्ण समक्ष क्षमा मागे । यो शास्त्रीय कथा हो । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको मानिन्छ ।


संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मान दिएको मानिन्छ । गोवर्धन पूजाको दिन तिहार यम पञ्चकको चौथो दिनमा पर्दछ । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गरिन्छ । त्यसैदिन सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको सहयोग गर्ने गोरुको पनि पूजा गरिन्छ । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान गरिन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाई टिका पर्दछ । दिदीले भाईलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान, सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा, मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान, दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ ।


सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्यलाई सौर्य मण्डलको अधिपति मानिन्छ । सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइउने प्रचलन आएको हो । सुरुमा प्रकृतिमा सप्त रङगी भए पनि रङको रुपमा प्रयोगमा आएको थिएन । अहिले प्रयोग भएका रंग भने पछि आएका हुन् । त्यसबेला पहेंलो रंगको लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रंगका लागि दुवोबाट लेप बनाइन्थ्यो । त्यस्तै अन्य रंगको लागि काफल, र अन्य फूलहरु प्रयोग गरिन्थ्यो । यसरी गाउँघरका कुरा प्रयोग गरेर सप्तरंगी टीका लगाउने प्रचलन थियो ।


समग्रमा हेर्दा तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन । यो चाँडले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्जवलित हुन हामी सबैलाई प्रेरित गर्दछ । यसले आपसी मेलमिलाप, सदभभाव, स्नेह,प्रेम र प्रकृतिको पूजा सिकाउँछ । तर तिहार मनाउँदै गर्दा यसको मर्म बुझ्नु र जीवनमा त्यसको सन्देस र महत्वलाई अनुसरण गर्नु पर्दछ । तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रुपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र म्यानमारमा तिहार पर्व विभिन्न प्रकारले मनाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया