आजबाट सञ्चालनमा आउँदै ‘वेष्टर्न मार्ट’


वेष्टर्न विजनेश गु्रपले नेपालगन्जमा पहिलो अत्याधुनिक सुविधा सहितको मलमा आज मंगलबारदेखि वेष्टर्न मार्ट सञ्चालनमा ल्याउने भएको छ । मार्टले उद्घाटनको अवसर पारेर आकर्षक छुटहरुसहित ग्राहकलाई निमन्त्रण गरेको जनाएको छ ।


वेस्र्टन मार्टका नाममा सञ्चालनमा ल्याउन लागिएको सुपर मार्केटमा सबै प्रकारका दैनिक उपभोग्य आवश्यकतादेखि मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम तयार भइसकेका छन् । ‘रेस्टुरेन्ट, कफी सप, फेसन सोरुम आदी समेत सञ्चालन तयारी रहेको बताइएको छ ।

मार्टको आज औपचारिक उद्घाटन गर्न लागिएको कम्पनीका अध्यक्ष सञ्जय थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाका अनुसार, नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले मार्टको समुद्घाटन गर्दैछन् । तयारी पुरा भएको थापाले जानकारी दिए ।


दशौं करोडको लागतमा तयार गरिएको वेष्टर्न मलमा सञ्चालित मार्ट (सुपर मार्केट) मा ५४ ले रोजगारी पाइसकेका छन् । झण्डै सय जनालाई रोजगारी दिनेगरी ‘वेष्टर्न मार्ट’ सञ्चालन गरिएको मार्टका अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए ।
‘यो नेपालगन्जवासीको आफ्नै मार्ट हो,’ अध्यक्ष लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय लगानीलाई स्थानीय स्तरमै उपयोग गर्ने मुख्य उद्देश्यका साथ वेष्टर्न विजनेश गु्रपले अत्याधुनिक मार्ट सञ्चालनमा ल्याएको हो ।’


मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, बीमा, वित्तीय संस्था, डिजाइनिङ हाउस, मिडिया हाउस तथा एउटा होटल सञ्चालनमा छ । मलमा मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन समेत राख्ने तयारी भैरहेको छ । ‘त्यसैबीच मार्टले मलमा थप रौनक दिनेछ,’ थापाले भने ।


‘यसका अलावा अन्तर्राष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष सञ्जय थापाले भने, ‘नेपालगन्जमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी स–साना स्टलका रुपमा कियोस्स स्टोर अन्यन्तै न्यून भाडादरमा उपलब्ध गराउने लक्ष्य यस मलले लिएको छ ।’


‘मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यवस्थित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिशेष ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइने छ,’ अध्यक्ष थापाले भने, ‘जसलाई हाल चलनमा रहेको सेल्फी प्वाइन्टका रुपमा पनि लिन सकिने छ ।’

मलमा मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन समेत राख्ने तयारी भैरहेको छ


कम्पनीका विजनेश कन्सल्टेन्ट शैलेस लोहनीले वेष्टर्न मलमा सञ्चालित मार्टले नेपालगन्जको नयाँ गन्तव्य थप गर्ने विश्वास व्यक्त गरे । ‘यो नेपालगन्जको परिचय स्थापित गर्ने पूर्वाधार हो,’ लोहनीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, मलको बाहिरी भागमा नेपालगन्जको स्थानीय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत रहने छन् ।

कोरोना कहरका कारण झण्डै दुई बर्ष ढिला सञ्चालनमा आउने लागेको वेष्र्टन मलले नेपालगन्जको बजार, व्यवसायलाई नयाँ स्वरुप दिन सहयोग गर्ने विश्वास विजनेश गु्रपका अध्यक्ष थापाको छ । ‘हामीले नोक्सानीमै रहेर पनि मलको अवधारणालाई प्रभावित हुन नदिने गरी योजना कार्यान्वयन गरिरहेका छौं’, नेपालगन्जका झण्डै ५० जना उद्यमी, व्यवसायी संगठित विजनेश गु्रपले आउने दिनमा विभिन्न थप योजना पनि अघि सारेको जानकारी दिंदै अध्यक्ष थापाले भने ।


वेष्टर्न मार्टका अध्यक्ष लामिछानेले नेपालगन्ज भित्रै मार्टको अर्को शाखा सञ्चालन तयारी समेत अगाडि बढाइसकिएको जानकारी दिएका छन् । ‘यस क्षेत्रमा कम्तिमा ६ वटा आउटलेट वेष्टर्न मार्टले सञ्चालनमा ल्याउने छ’, लोहनीले भने । अधिकाँश नेपालगन्जमै हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया