
व्यापारी बिग्रिएको र फर्सी कुहिएकोपछि मात्रै थाहा हुन्छ । बुढो सिंहको अवस्था घाँस त खाँदैन, मुखमा आइपुगेका झिंगा र मुसो भने छोडदैन् । जिन्दगीका उत्तरार्धमा जल्लाद र कसाही पनि पेशाको मागको कर्म भनेर मनसुख हुन्छन् भने हत्याराहरु पश्चातापमा । हरेक कर्मी र कुकर्मीसंग आप्mनो औचित्य सावित गर्ने तर्क हुन्छन् । बलात्कारीसंग पनि आप्mनो कुकृत्यलाई सुकृत्य सोचेन भने उस्को शारीरिक अंगले साथ दिदैन । समाज र कानुनले दण्ड दिने हरेक काम गर्न पहिला मानसिक तयार हुनु पर्छ ।
निर्मम समीक्षा गरेर आत्माआलोचित हुन र सत्यसंग टकराउन मान्छेलाई फलामको च्यूरा चपाएझै हुन्छ । त्यसैले आत्म बृतान्त सबै लेख्दैनन्, लेखेपनि अंशमा मात्रै । पाल्सी कुरा लेखिएको पुस्तक त्यो आत्म बृतान्त कदापी हुँदैन । आफुलाई चिन्ने पहिलो र अन्तिम व्यक्तिआफैँ हुईन्छ । खोल र जलप कसरी लगाएको हुन्छ भन्ने नांगो सत्य स्वयंलाई मात्र थाहा हुन्छ । त्यसैले कतिपय मानिस सपनामै हृदयघात भएर जीवन लिला समाप्त पार्छन् ।
नेपालमा ठूलो आँधीबेहरीको संकेत २०४८ मै आएको थियो । यथास्थिति र अग्रगमनको टकराहट बुझन आग्रहले नभै समाज विकासको नाडी पक्रिएर मात्रै सकिन्छ । सत्ता अहंकारले मात्तिंदा त्यस्ता आँधीबेहरीको छनक शक्तिशालीले पाउन सक्दैनथे । थाहा नपाउनु नहुन हुँदैनथ्यो ।
म ज्वालामुखीको फेदी र क्रान्तिप्रवेश द्वारमा रहेर खुलारुपमा भूमिगत सक्रिय थिएँ । आवेग,आदर्श र साेंचले कुत्कुत्याएपछि संकटमा सुन्दरता खोजिन्छ । सापेक्षतामा ठूलै ब्यापारी हुनुका आफ्नै मर्म थिए । ब्यापार आफैँमा वैधानिक चोरी पेशा हो । नाफा र पैसा बाहेक ब्यापारमा अरु कुनै धर्म र नैतिकता हुदैन् । एउटा व्यापारी असल साझेदार त हुन सक्छ तर असल साथी बन्न भने सक्दैन । नाफानै आदर्शको सिद्दान्त हुने हुँदा त्यहाँ मित्रता, आफन्तपन, आदर्श र राजनीतिको कुनै अर्थ पनि रहँदैन । विश्वास आर्थिक कारोवारमा त हुन्छ नै तर घात र प्रतिघातको रेस्लिंगमा सहभागी भएरै सफलताका सिढीँ चढिन्छन् । हरेक सफतापछि विभत्स कथा छिपेका हुन्छन । नेपालियन द ग्रेट बन्न लाखौँ मानिसको हत्या भएको थियो । हजारौ सैनिकको चिहानमा एउटा माहन सेनापति जन्मिन्छ । इतिहास योद्धाको नभै सेनापतिका लेखिन्छन ।
मान्छेलाई सक्रिय पार्ने आन्तरिक शक्ति (डाइभिंग फोर्स) केहो । जीवनको सबभन्दा उच्च स्तरको सुख के हो ? सब भन्दा मज्जा मानिसलाई कुन बेला आँउछ ? हामीसंग पलपल सब भन्दा नजिक रहँने कुन तत्व हो ? प्रेम र वासनामा फरक के छन र रुप के,के हुन्छन् ? हाम्रा सोंच, सपना, कल्पना र चाहनाबारे संवाद खुला गर्न सक्छौ वा त्यस्ता पात्र भेटिन्छन ?
हाम्रा अवचेतन मनकुन बेलाभूमिकामा प्रस्ट देखा पर्छ ? सोच्दछ, दिमागले दुःख पाउँछ शरीरले । लेख त्यता केन्द्रित नहौँ । मेरो स्तम्भ हो –मेरा सहरका कथा । कहिलेकाहीँ लाग्छ कि र कस्लाइ लेख्ने ? लेखेर के हुन्छ ? मनका बह र कुण्ठा व्यक्त गर्न मात्रै लेखकलाई छुट हुन्छ ? माथीका भनाइ मेरा लेखका पृष्ठभूमि मात्र हुन । अब मूल लेखमा प्रवेश गर्छु ।
खुला रहेर सत्ता विरुद्धको सशस्त्र संघर्षको भूमिगत कार्यकर्ता हुनु दुई धारे तरवारमा यात्रा गर्नु हुन्थ्यो । विश्वास र अविस्वास सहयात्रामा थिए । हरेक विषय,व्यक्ति,अवस्था र समयमा शंका गर्नु, तर शंकाबादमा नफस्नु नै सुरक्षा कवच हुन्थे । अकल्पिनय धोका त आफन्तबाटै खानु प¥यो । धोका दिएर सफलता चुम्नु व्यापारमा कला भनिन्छ भने अन्ध विश्वासी भएर खाल्डोमा खस्नु स्वयका कमजोरी, अज्ञानता बन्छन् । मेरो कम्मरको खुकुरी कुन हुस्सुले थुत्यो भनेजस्तै पछि समयसंग विलौनाको कुनै अर्थ रहँदैन । समय शक्तिलाई सलाम ठोक्छ । गोली नभएको बन्दुक, रुप हराएकी युवती, सम्पत्ती खस्केको व्यापारी,पदहीन राजनीतिककर्मीलाई कसैले वास्ता गर्दैन ।
खस्कँदो व्यवसाय, आफन्तको धोकामा मर्माहत अवस्था, फैलँदो बिद्रोहको रापचाप, सत्ताको पश्चिमी केन्द्रको सुरक्षा दवावले एकैपटक तिनवटा आंतकको दवावमा थिएँ । तर, त्यसको प्रकटीकरणबाट जोगिँदामात्र सुरक्षित हुँईन्थ्यो । (१) खुला रहेर भूमिगत सक्रियताको कुनै बेला गिरफ्तार हुने अवस्था (२) एकैचोटी दुई मोर्चा अर्थात्, राजनीति र व्यापारमा सकृय हुन नसक्नु, साहुले घेर्नु र आसामी तर्कनु, ग्राहक भड्कनु (३) पार्टीका साथीहरु कसरी सुरक्षित हुन सक्या छ ? भनेर शंका गर्नुको आतंकबीचमा रहेको थिएँ । दवाव र तनावले हरेक साँझ रसपान र जाम टकराउनु नियति बनिरहेको थियो । आफैलाई लुकाएर सहज देखिनु आवस्यकता थियो ।
त्यसै बेला हरेक साँझ मेरो टेबुल छेउमै शाहीबाबा जस्ले मुन्द्रे कपालमा नैनासुतको टलक्क टल्कने सेतो कुर्ता सुरवालमा मगमग वास्नावाला अधेड व्यक्ति एक्लै चुस्सचुस्सको चुस्की लिइरहन्थे । उनको पृय रस अत्यन्तै महंगो हुन्थ्यो । स्न्याक्स पनि रवाफिलो । म भने पीडालाई गिलाससंग साटन पुग्थेँ र विजुलीपानीको बर्को ओढेर घर फर्कन्थे । आफनै भूमिकाले गर्दा सन्केको बेलापनि मौन रहँन परिस्थितिले सधैँ होसियार बनाइरहन्थ्यो । तर, उच्च कोटीको खानपान गर्ने मधुशालाको अपरिचित मित्र मेरो कौतहुलताको विषय बन्दै गए ।
धम्बोझी चोक पश्चिमको केन्द्र । नयाँ र पुरानो नेपालगन्जको साँध । नयाँ र नौला मान्छेको जमघट र २४ जिल्लाको साँस्कृतिक झल्को एकै थलोमा । हावाको गन्ध सुंघ्न वा उजाडिएको दुकानबाट उम्कन चोक मेरो बहाना बनिसक्या थियो । साहित्य र पत्रकारिताले मानसिक शान्ति र व्यस्तताले चोक शान्ति थलो बनेको थियो ।
मधुशालाका भिन्न टेवुलका चुस्कीवाला बारेको जिज्ञाशाले मलाई कौतुहलता दिन्थ्यो नै । त्यो दिन पनि उनलाई सफा आइरन लागेको सेता कुर्ता सुरुवाल, महंगो जुत्ता, मगमग वास्ना, घुँगरितो कपालले भिडबाट व्यक्तित्व प्रष्टै अलग छुटिएको थियो । उनी सरासर अघि बढे । भेटिएका परिचितलाई काजु किसमिस,बदाम दिन्थे । दुकानमा बसेर ५५५ चुरोट सल्काएर दुकानदारलाई पनि दिए । अझ कौतुहलता बढ्दै गयो । केही दिनदेखि छेउको टेबुलमा भ्याट ६९ फोर्ने, तन्काउने, यत्रो सानसंग हिडने मान्छे को र के होला भन्ने भयो ।
मस्जिदबाट अजानको माइक घन्कियो । उनी पनि पुष्पलाल चोकतिर लागे । पसलका परिचित साहुजीसंंग सोधँे को हुन् ? के गर्छन् ? । –उनी राइस मिलका मालिक रहेछन् । व्यबसाय बिग्रिएको छ । बंैकले लिलामीको ताकेता गरिरहेको रहेछ । साहुले घेर्दा रहेछन । सायद कारोवार सम्हाल्दै भएर त यस्तो मनमौजी भएका ।
अभाव र तनावमापनि यस्तो मस्तराम हुन सक्ने बिआरकेलाई देखेर अचम्म लाग्यो । आफुपनि त्यस्तै आफैँले रोग निम्त्याएका मनुवा । साँझपनि हाम्रो साविक थलोमै सोही अवस्थामा भेट भो । मनको खुलदुली रोक्न सकिन । औपचारकितापछि उनको बारे सोधेँ । यसपनि संसारमा सबै भन्दा ज्यादा झुट अदालत र सब भन्दा सत्यवादीहरु मयखानामा हुन्छन् । विआरके खुल्दै गए । टाढाबाट मेरो तिनपुस्ते सबै थाहा रहेछ ।
बिआरके –म पहाडबाट उच्च मनोबल र सपना बोकेर झरें । समयलाई सिकार गर्दै ब्यापार फस्टायो मात्रै हैन, दौड्यो पनि । ग्राहक, साहु र बंैकले पत्याए । बंैकमा राख्न भन्दामलाई सुरक्षित सोचेर गाउँलेले पैसा जम्मा गर्थे । मंसिरमा धान जम्मा गरेर बैशाख जेठमा भाउ कटाँउथे । मनोबल बढदै गयो, ब्यापार थपिँदै गयो …. तर समय र शक्ति सधै एकनास नहुँने । शत्रु र आगो सानु हुँदो रहेनछ । दुर्घटना कर्णाल फुकेर आँउदो रहेनछ । कुन बेलाआफन्त पराई भएको पत्तै नपाइने । आफ्नै विश्वास आत्मघाती कसरी बन्दो रहेछ, परिणाम आएपछि मात्र थाहा हुने’ …
उनले मधुसुरमा भनेकामात्र थिएनन् मन, मस्तिक र पेट खोलेर आफना बह पनि शान्त गरेका थिए । त्यो कथा ब्यथा उनको मात्र थिएन मेरै अवस्था र चित्रपनि थियो । हरेक चुस्कीसंग हामी आफ्नै व्यथा पिइरहेका थियौँ । कारण भिन्न भएपनि रोग एउटै थियो ।
–अनि तपाई यत्रो संकटमा हुनुहुन्छ तर पनि यति प्रफुल्ल कसरी देखिन सक्नु हुन्छ, ?
– हेर्नुस,…. जब तपाई आफना दुःख सबैलाई देखाउनुहुन्छ तब तपाईका साहुले घेर्नेछन्, आफन्त निरास हुनेछन् । दिनुपर्नेले तिर्नेछैन्, लिनेलाई तिर्छ भन्ने विश्वास हुनेछैन । खाइस्नी भन्दै शत्रु तिघ्रा ठटाँउदै खितखिताउने छन् । मित्रहरु दुःखी बन्नेछन । मेरा दुःख मैले विलौना गरेर हिँडदैमा मेरो आपतविपत टर्नेवाला छैन । तर, समाजमा खुशी देखिएर हिँड्दा समस्या टुंग्याउनभन्दा टंग्याएर समय घर्काउन सकिन्छ । त्यसबेलासम्म उपाय निक्लन्छन् । आशावादी हुनुपर्छ ।
विआरकेले आफ्ना कथा र मर्ममात्रै भनिरहेका थिएनन्, मलाई उपदेश पनिदिइरहेका थिएँ । जीवनजिउने कला सिकाई रहेका थिए । उनका अनुहारमा भावका सामुन्द्रिक छाल आउथ्यो, विलाउथ्यो ।
–र्हेनुस् समयलाई रत्याउन र शत्रुलाई हराउन, आफन्तलाई आत्मबल दिन आफ्ना दुख कसैलाई नदेखाएनुस्, मनका बह कसैसंग नखोल्नुस् । आखिर सत्पात्र नपाउँदा तपाई जे भन्नु हुन्छ अरुलाई रमिता र तमाशा बन्छ । दुश्मनलाई सही सल्लाह दिनुस्, शत्रुले दिएको गलत सल्लाह भनेर ऊ स्वयम् भड्खारोमा परेर चेत खुलेपछि तपाईको भरोसेमन्द मित्र र सहयोगी बन्न सक्छ ।
समय घर्कंदै गयो, हामो भेट भएन । उनी माओवादी थिएनन्, रहेनन् तर जनयुद्ध सकिएपछि उनको व्यवहार सप्रिएछ, समस्या सुल्टाएछन् । बिआरके मेरा एउटा असल गुरु र मधुशालाको त्यो दिन मेरो ठूलो दीक्षा ग्रहणको दिन बन्यो ।