‘मौलिकता’ नै देश जोड्ने सुत्र

पछिल्लो चारपाँच दशकमा नेपालमा प्रयोगवाद निकै हावी रहेको छ । देश जोड्ने सुत्र खोज्दै कहिले एउटै भाषा एउटै भेष, कहिले एशियाली मापदण्ड, कहिले भारतीय ‘विस्तारवाद’, कहिले जातीय समानता, कहिले छूवाछूतको अन्त्य, कहिले आरक्षण, कहिले क्षेत्रियता, कहिले अल्पसंख्यक तुष्टिकरण र बहुसंख्यकको अपमान र गालीगलौच, कहिले विकास र समृद्धिका खोक्रा गफ, कहिले नेपाललाई स्वीटजरलैण्ड, सिंगापुर बनाउने कुरा, कहिले समृद्ध नेपाल र सुखी नेपालीका नारा र अहिले नयाँ चलेको नेपाललाई न्यूयोर्क बनाउने कुरा । यी सबैकुरा नेपालमा भएका कुनै न कुनै रुपका प्रयोगवाद नै हुन । यी सबैकुराको बखानबाजी गर्दैगर्दा नेपाललाई वास्तविक नेपाल बनाउने, नेपालको आफ्नो ज्ञान परम्परालाई सम्मान गर्ने, नेपाली अस्मितालाई सर्वोपरि राख्ने, नेपालको इतिहासप्रति गौरव गर्ने, नेपालको मौलिक धार्मिकता, सँस्कृति भाषा सभ्यता र नेपालको मौलिकतालाई संरक्षण गर्ने काम कहिल्यै भएन । ख्वाँके बुद्धिजिवी र ट्वाँके राजनीतिकले आजसम्म जम्माजम्मी सिकाएको र प्रयोग गरेको नै नेपालको मौलिकतालाई सत्तोसराप गर्दै अरुका गतार्थ भैसकेका कुराहरुको नेपालमा प्रयोग मात्रै हो ।

नेपालको साँस्कृतिक बिरासत, राजनीतिक अवस्था र आर्थिक अवस्थासँग कहिँ कतैपनि तादम्यता गर्नै नमिल्ःने कुराहरु यहाँ कुनैपनि हिसाबले प्रयोग गरिनु हुँदैन । पश्चिमतिरकोे भौगोलिक अवस्था, चलिरहेको द्धन्द, अन्तहीन हत्या र हिंसाको श्रंखलाहरु, राजनीतिमा चर्चको नियन्त्रण, राज्यसञ्चालनमा धार्मिक अतिवादको अकाट्य मुल्लावाद आदीबाट उब्जेको नीति नैतिकता र अवस्था नेपाल रहेको पनि छैन । नेपालमा त्यस्तो कुनैपनि अवस्था नहुँदा नहुँदै पनि पश्चिमी र मध्ये एशियाली मुलुकतिर त्यहाँको अवस्थालाई समाल्न प्रयोग गरिएका बिधि र पद्धतिलाई नेपालमा पटकपटक प्रयोग गर्न खोजियो आज पर्यन्त कुनै न कुनै रुपमा राजनीतिक पार्टीहरु नै खडा गराएर त्यहाँ गतार्थ भैसकेकार काम नलाग्ने भैसकेका प्रयोगवादी सिद्धान्तहरुलाई नेपालमा प्रयोग गरिँदै छ । त्यो त त्यस्तो प्रयोग हो जसको नेपाल र नेपालीत्वसँग यहाँको अवस्थासँग कोशौंकोशसम्म न कुनै साइनो छ न सरोकार नै तैपनि नेपालको हितमा छ भन्ने भ्रम छर्न ठूलो लगानी गरियो र गरिँँदै छ । यसो गर्नेहरुको नीतिमा र प्रयोगमा न नेपाल कहिँ देखिन्छ न नेपालीत्व कहिँ भेटिन्छ । यो समस्त प्रयोगमा देश जोड्ने न सुत्र नै छैन न त आधार नै छ ।

पश्चिमाका भूमिमा कुनै कारणले अल्पकापलिन सफल देखिएका माक्र्सवाद, लेनिनवाद, सर्वहाराअधिनायकवाद, लालसलामवाद, सर्वसत्तावाद, फासीवाद, विस्तारवाद, दलाल पूँजीवाद, सामन्तवाद, आत्मसर्मपणवाद, अवसरवादका प्रयोगहरु जतिसुकै आत्मसमिक्षा र आत्मआलोचना गर्दा पनि नेपालमा टिकिरहन सकेनन् । यसको कारण हो यी कुराहरु उत्पत्ति कै ठाउँबाट तिरस्कृत भैसकेका छन् । यिनै गतार्थ र अस्वीकृत भएका पदावली र त्यसलाई मलजल गर्ने सिद्धान्तले नेपालको जुनकायापलटको सपना बिछाएको थियो या देश जोड्ने भ्रम थियो त्यो सब टटिसकेको छ । त्यसले न कायापलट गर्यो न देशलाई जोडेर राख्न सक्यो । बरु यसले देशभित्र र बाहिर सधैं बिग्रह मात्रै ल्यायो । सधैं देशभित्रका सहृदयतापूर्ण बसेको समाजमा कित्ताकाट र घृणवादको जरा झन भन्दा झन बलियोसित गाड्यो ।
नेपाललाई सधैं पश्चिमाहरुले आफ्नो प्रयोगशाला बनाइरहे । नेपाल नै किन सधैं प्रयोगशालाको रुपमा परिरह्यो त ? भन्ने बारेमा अबको चिन्तन हुन जरुरी छ । नेपालको बारेमा वास्तविक चिन्तन गर्नेहरुले यसबिषयमा कति चिन्तनमनन् गरे गरेनन् त्यसले नै अब पनि फेरि नेपाल कसैको प्रयोगशाला बनिरहने कि नबन्ने भन्ने तयगर्नेछ । आफ्नो मौलिकता, आफ्ना पूर्खाले पुस्ताहस्तान्तरण गरेको ज्ञानपरम्परा, आफ्नो गौरवपूर्ण इतिहास, यो देशको मूल र कुलधर्म सँस्कृति भाषा र सभ्यतामा गर्व गर्दै यसलाई स्थितिगत्यात्मक प्रगति गर्दै जानुपर्छ । विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध सहित सहृदय अर्थतन्त्र, मौलिक र देशलाई आवश्यक शिक्षा पद्धतिको मार्गमा जानुपर्छ । कसैको प्रयोगवादमा अब अल्झिनु फेरि पनि नेपालीत्वको चीरहरण नै हुनेछ ।

एउटा समय थियो सोभियत रुसले संसारभरि कम्यूनिज्म र क्रान्तिको भ्रान्ति निर्यात गर्दथ्यो । नेपालमा आजको शासनसत्तामा रहेकाहरु मध्ये धेरैजना त्यहिँबाट निर्यात गरिएको वादको आर्दशबाट शिक्षित भएकाहरुछन् । आजपनि उनीहरुका लागि त्यो आर्दश नेपाल र नेपाली अस्मिता, नेपाली मौलिकता र नेपालको आवश्यकता भन्दा प्रिय छ । नेपालको भूगोल, यहाँ रहेको सबैको सँस्कृतिलाई सहजै अङिगकार गरिदिने बानी, यहाँको विविधतायुक्त समाज, विभिन्न कालखण्डमा विश्वभरिबाट आयातित सँस्कृति, नेपाल अविकसित हो विकास भनेको भौतिकवाद हो भन्ने प्रबृति, नेपाली समाजमा रहेको जातिय एवं समाजिक विभेद र यसमा आगो लगाउन खुला छुट पाएका विदेशी संघसंस्थाहरुको क्रियाकलाप, आदीका कारण नेपालमा हरेक किसिमका प्रयोगहरु हुने गरेका हुन् ।

नेपाली समाज पश्चिमाहरुको जस्तो संर्कीण र मध्यएशियालीहरु झै अतिवादी समाज न हिजो थियो न आज छ । यहाँ यूरोपियनहरुको जस्तो जातिय र नश्लीय सफायाका कामपनि कहिल्यै कुनै जातजातिबाट भएका छैनन् । यहाँको समाजमा धेरै पैसा मठमन्दिरमा लगाउनेले मरेपछि स्वर्गजान पाउनेछ भनेर यूरोपियनका पादरीहरुले झैं कुनै पुजारीले सर्टिफिकेट पनि बाँडेनन् । एकल धार्मिक र एकल साँस्कृतिक अतिवाद पनि कहिल्यै लादिएन । सधैं इमान्दारिता र स्वकर्मको प्रतिफलले नै आफ्नो जीवन रहँदा आफ्नो र नरहँदा आफ्ना सन्ततिको भविष्य सुनिश्चित हुने हो भन्ने मान्यता रहेको हाम्रो समाज हो । यो नै हाम्रो मौलिकता र हाम्रो अमूल्य सम्पत्ति हो । यो हाम्रो सम्पत्ति नमासेसम्म कहिँ कसैले पनि आफ्नो संकीर्णता र अतिवादको सफल प्रयोग गर्न सक्दैन्थ्यो यसैले गर्दा उनीहरु बिभिन्न प्रलोभन आदीको माध्यमबाट यहाँ नेपालीलाई नै प्रयोग गरेर समाजिक कित्ताकाट, घृणावादको अभियान चलाए र आजपर्यन्त पनि उनीहरुको यो अभियान जारी रहेको छ । यो नेपालमा भएको सबैभन्दा खतरनाक प्रयोग हो ।

यसक्षेत्रमा लगभग तीन दशक पहिलाबाट शुरु भएको अतिउपभोक्तावाद, बहुराष्टी«यतावाद, खुलाअर्थतन्त्रको नाममा नेपालजस्ता साना पूँजीबजार भएका देशहरुमा मानिसहरुको जीवन पद्धतिलाई आवश्यकता के कति हो भन्ने सीमाबाट बाहिर लगिदियो । अतिउपभोक्तावादले व्यक्तिको वास्तविक आवश्यकतालाई बिर्साइ दियो भने विकासको परिभाषालाई लगेर उपभोक्तावादसँग जोडीदियो । आफ्नो पोटलीमा हेरेर आवश्यकताको प्राथमिकीकरण गर्ने भन्दा पनि ‘ऋण खोजेर घिउ खाने’ भन्ने नेपाली उखान झैं काम गर्न थालियो । छिमेकीसँग प्रतिष्पर्धा गर्न कै लागि इमान्दारिता र पौरखले भ्याएन भने अर्कालाई जे जसरी हुन्छ फेरिमा पारेर पैसा कमाउन थालियो । पछि त कमाइएला नि भनेर वा नियतमै खोट राखेर अन्यत्र श्रोतबाट पैसाको व्यवस्था गर्न थालियो । यी प्रबृतिले अतिउभोक्तावादलाई झनै मलजल गर्यो । धेरै परिवारहरु घरबारबीहिनतामा पुग्न थाले । गाउँ, कृषिकर्म, उत्पादन कार्यबाट मानिसहरु बिमुख हुँदै गए । दिवालीय बन्नेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भयो । परिवारहरु उपभोक्तावादका शिकार हुँदै गए र बिख्रिँदै जानथाले । अधिकार र स्वतन्त्रताको नाममा र अतिउपभोक्तावादको शिकार भएर पतिपत्नीका सम्बन्धविच्छेदहरु हुन थाले । छोराछोरीहरुमा आफ्ना पूर्खाप्रति, आफ्ना आमाबा प्रति अनादर बढ्दै गयो । परिवार र पारिवारिक सन्तुष्टि भन्ने शब्द नै लोपोन्मुख हुन थाल्यो । नैतिकता, इमानइज्जत, राजनीति, शासनप्रशासन सबै गएर पैसा र उपभोक्तावादमा गएर ठोकियो । यहिँबाट भ्रष्टाचार, अनैतिकता, समाजिक बिखण्डन, व्यक्तिगत स्वार्थपरकता मौलायो ।

नेपालमा प्रयोगवादलाई हतियार बनाउनेहरुका लागि यो भन्दा उर्वर अवस्था अरु हुने कुरै भएन । नेपाललाई आधार बनाएर अन्य मुलुकलाई लक्षित गर्ने अवसर देखेकाहरुका लागि पनि यो उत्तम अवसर थियो । बिलासिता र उपभोक्तावादको शिकार भएका मानिसहरुको इमान पैसामा किनबेच गर्न सहज भयो । यसलाई स्वार्थको गौंडो कुरेर बसेकाहरुले मज्जैले प्रयोग गरे । नेपालको मूल र कुलधर्मसँस्कृति माथि आक्रमण गर्ने उपयुक्त अवसर पनि यहि भयो । समाजमा कित्ताकाट, घृणावाद र जातियता क्षेत्रियताको खैलाबैला मचाउन पनि यो ठूलो साधन बन्यो । इतिहासदेखि नै सहृदयतापूर्ण बसेको यो देशको समाज तोडेपछि कालान्तरमा यो देश नै तोड्न पनि सकिने सुत्र मिल्यो ।
नेपालमा यतिबिध्न हुँदा पनि देश जोड्ने सुत्र भने कसैले खोज्नै चाहेन ।राज्यसञ्चालकहरु नै जानी वा नजानी यस्तै प्रबृतिका संरक्षक भैदिए ।
बेसायर खाएको मानोको कहिल्यै सह (बरकत) हुँदैन । यो सत्य हो । आजभोली यो उखान झनबढि चरितार्थ भएको छ । अर्काको बैसाखीमा गन्तव्यमा पुगिँदैन । आफ्नोलाई गालीगलौच गरेर विदेशीको बफादार बनेर पनि कहिल्यै नैतिकवान, चरित्रवान र इमान्दार भइँदैन । आफ्नो मूल कुलधर्मसँस्कृति, भाषा सभ्यता र आफ्नो मौलिकता बीना देश जोडिँदैन । यो कुरा अब नेपाली राजनीतिक दल, राज्य सञ्चालकहरुले बुझ्नै पर्छ । देश जोड्ने सुत्र भनेको नै आफ्नो मौलिकता हो । स्थितिगत्यात्मक प्रगतिवाद हो । सहृदयतावाद हो । आ आफ्नो मूल र कुलधर्मसँस्कृति भाषा र सभ्यता हो । हरेक जनजन देखि शासकहरुमा धर्मछाडा प्रबृति होइन धर्मको विवेक चाहिएको हो । यहिँबाट देश जोड्ने सुत्रपात हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया