बाँकेमा एक दशकमा ३७ हजार घर थपिएका छन् । वि.सं. २०६८ सालमा भएको जनगणना अनुसार बाँकेमा ९४ हजार ७ सय ७३ घरधुरी संख्या रहेको थियो । वि.सं. २०७८ को गणनामा उक्त संख्या १ लाख ३१ हजार २ सय ८३ पुगेको छ । पर्वका बेला गणना गरिएकाले केही घर छुटेकाले उक्त संख्यामा केही थप हुने जिल्ला गणना कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेमा प्रथम चरणमा घरधुरी र परिवार संख्या संकलनका लागि १ सय ४२ जना सुपरिवेक्षक खटाइएको थियो ।
गाउँमा भन्दा सहरमा घरधुरी संख्या र परिवार संख्या संकलन सुपरिवेक्षकका लागि चुनौतिपूर्ण रह्यो । पर्वका बेला भएकाले कतिपय घर बन्द भएकाले छुटेका घरधुरी संख्यालाई पुनः समेटिदा घरधुरी र परिवार संख्या बढ्ने जिल्ला जनगणना अधिकारी वेद प्रसाद ढकालले जानकारी दिएका छन् । सहरी क्षेत्रमा बहालमा बसेका व्यक्ति नभेटिने, घरधनीले सहयोग नगर्ने तथा घर बन्द गरेर बाहिर गएकाहरुको तथ्यांक संकलनमा समस्या भएको गणनामा खटिएका सुपरिवेक्षकले बताएका छन् ।
जिल्ला जनगणना कार्यालय बाँकेका अनुसार, बाँकेमा कुल परिवार संख्या १ लाख ३२ हजार ५ सय ५२ रहेको छ । जनगणनाको बिस्तृत विवरण दोस्रो चरण अर्थात् कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । जसका लागि बाँकेमा ५ सय ८२ जना गणक खटिने जिल्ला जनगणना अधिकारी ढकालले जानकारी दिएका छन् ।
जिल्ला जनगणना कार्यालय बाँकेका अनुसार, राप्ती सोनारी गाउँपालिकामा १७ हजार ९ सय ७२ घरधुरीमा १४ हजार ५ सय ५५ घर परिवार, कोहलपुर नगरपालिकामा २५ हजार ५ सय ७० घरधुरीमा २५ हजार ७ सय २० परिवार, बैजनाथ गाउँपालिकामा १८ हजार ४ सय १७ घरधुरीमा १६ हजार ४ सय ८५ परिवार, खजुरा गाउँपालिकामा १३ हजार ४ सय ४० घरधुरीमा १३ हजार ६ सय १७ घरपरिवार, जानकी गाउँपालिकामा ७ हजार ७ सय ९७ घरधुरीमा ९ हजार ५३ घरपरिवार, नेपालगन्जमा ३३ हजार ७१ घरधुरीमा ३६ हजार ८ सय ८० घरपरिवार, डुडुवा गाउँपालिकामा ८ हजार ३ सय ६० घरधुरीमा ७ हजार ९ सय ९३ घरपरिवार, नरैनापुरमा ६ हजार ६ सय ५६ घरधुरीमा ८ हजार २ सय ४९ घर परिवार रहेको तथ्यांक संकलन गरिएको छ ।
पहिलो चरणको सुपरिवेक्षकले गर्ने काम सकिएपछि अहिले दोस्रो चरणको गणनाका लागि गणकहरुलाई तालिम सञ्चालन भैरहेको छ । जिल्लामा गणनाका स्थानीय तहमा स्थानीय तह स्तरीय गणना कार्यालयहरु समेत सञ्चालनमा ल्याइएको छ । उक्त तालिम कार्तिक १६ गतेसम्म चल्नेछ ।
कार्तिक २५ देखि सुरु हुने दोस्रो चरणमा यसअघि सुपरिवेक्षकले तयार पारेको घरधुरी र त्यसमा बस्ने परिवार संख्याको विवरण लिएर गणकले परिवार सदस्य संख्या सहितको बिस्तृत विवरण संकलन गर्नेछन् । एउटा सुपरिवेक्षकले १ हजार देखि १ हजार ६ सयसम्मका गणकसँग समवन्य गर्नेछन् ।
जिल्ला जनगणना अधिकारी ढकालले विगत १ बर्षमा ६ महिना भन्दा बढी बसेका वा बस्ने मनसाय भएका व्यक्तिले सोही ठाउँमा आफ्नो गणना गराउन सक्ने जानकारी दिएका छन् । ‘मानिसहरु कामकाज, पेशा, व्यवसायको सिलसिलामा विभिन्न ठाउँमा बस्ने गर्दछन्’, जनगणना अधिकारी ढकालले भने, ‘त्यसैले कोही पनि नछुटुन् र कोही नदोहोरिउन् भन्नका लागि प्रत्येक नागरिक जिम्मेवार भएर जनगणनामा सहभागी हुनुपर्दछ ।’
वि.सं. २०६८ को जनगणनामा बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको थियो । जसमा पुरुषको संख्या २ लाख ४४ हजार २ सय ५५ र महिलाको संख्या २ लाख ४७ हजार ५८ थियो ।
१९६८ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले गराएको जनगणनालाई पहिलो आधिकारिक जनगणना मानिन्छ । त्यसपछि क्रमशः १०–१० वर्षमा जनगणना हुँदै आइरहेका छन् । यद्यपि राणाकालीन चारवटा गणनालाई सामान्य व्यक्ति गणनाका रूपमा लिइन्छ भने २००९÷२०११ सालमा सञ्चालन भएको जनगणनालाई वैज्ञानिक जनगणनाको सुरुवातको रूपमा लिइन्छ । आजसम्म आइपुग्दा नेपालले जनगणनाको ११ वटा अनुभव गरिसकेको छ ।
नेपालको संविधान, २०७२ अनुसार विभिन्न कार्य जस्तो– निर्वाचन क्षेत्र निर्धारण, अल्पसंख्यक समूहको पहिचान, नीतिहरू तर्जुमा गर्दा जनसंख्यालाई प्रत्यक्षरूपमा आधार मानिएको छ । यसका अतिरिक्त अन्य विषय जस्तै मौलिक हकको कार्यान्वयन, नीति कार्यान्वयन तथा तीनवटै तहका सरकारका अधिकार सूचीबमोजिम कार्यक्रम सञ्चालनमा जनगणनाबाट प्राप्त हुने तथ्यांकलाई प्रमुख आधारका रूपमा लिइनुपर्छ। तसर्थ जनगणनाबाट उत्पादित सामाजिक, आर्थिकलगायत अन्य विषयका तथ्यांकहरू विकासका लागि महत्वपूर्ण हुन्छन् ।
जनगणनामा घरपरिवारको सदस्यको विवरण, महिला, पुरुष, यौनिक तथा लैंगिक, अल्पसंख्यकको संख्यात्मक विवरण भरिने छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, घरपरिवारको सदस्यको बैंक खाता रहेको, नरहेको ऋणको अवस्था, व्यक्तिगत घरको संख्या, घरको प्रकार तथा साथै घरपरिवारले पालेको पशु तथा पंक्षीको संख्या समेत उतार्ने जनाएको छ । यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।