लागुऔषध कारोबारले जरो गाडेको बाँकेमा सचेतना, प्रहरी कारवाही तिव्र पारिए पनि नियन्त्रणमा आउन सकेको छैन, झण्डै १६ ग्राम ब्राउन सुगर सहित समातिए रोका

जिल्लामा लागुऔषधको समस्याले विकराल रुप लिंदै गर्दा बाँकेमा प्रहरी कारवाही पनि सोही अनुरुप बढेको छ । लागुऔषधको कुलत विरुद्ध प्रहरीदेखि स्थानीय तहले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । कुलतमा फसेकालाई सुधार प्रहरी देखि सामाजिक संस्थाले सुधारात्मक, उपचारात्मक तथा पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सबै क्षेत्रको अथक प्रयासका बावजुट लागुऔषधको कारोबार अपेक्षित रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीको मुद्दाको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध सम्बन्धी पक्राउ र बरामदका घटना नियमित सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको छ । जसमा करिब दिन बिराएर लागुऔषध सहित मानिसको फोटा सार्वजनिक गरिएको हुन्छ ।
बाँकेमा सबैभन्दा बढी मुद्दा लागुऔषधको हुने गरेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आ.व. ०७५÷०७६ मा २ सय ४९, गत आ.व. ०७६÷०७७ मा १ सय ५६ मुद्दा दर्ता भएका छन् । आ.व. २०७७÷०७८ मा १ सय २६ मुद्दा दर्ता भएका छन् । दुई आ.व. कोरोनाका कारण पूर्ण रुपमा महिनौं लकडाउनको अवस्था र अन्तर्राष्ट्रिय नाका औपचारिक रुपमा डेढ बर्ष नखुल्दा पनि लागुऔषध सहित मानिस पक्राउ पर्ने क्रम भने रोकिएन ।
भारत सँग सीमा जोडिएका कारण पनि बाँकेमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढी रहेको पाइन्छ । प्रहरीले खुला सीमाना नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौति रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाका बाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
नेपालगन्ज नाका हुँदै लागु औषध अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम भित्रिने गरेको छ । औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयत्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रुपमा रहेको प्रहरी अधिकारी बताउँछन् ।
चालु आ.व.को साढे ३ महिनामा लागुऔषधका २५ वटा मुद्दा दर्ता भएका थिए । जसमा ४२ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको थियो । उक्त अवधीमा ९७ ग्राम ब्राउनसुगर, २ हजार १ सय २३ वटा नाइट्रोजेपाम ट्याबलेट, ३ किलो चरेस, २० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैबीच, बाँके प्रहरीले सोमबार नेपालगन्ज–१५ बाट काभ्रेपलानचोकका मान बहादुर रोकालाई १५ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, रोकालाई चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।