नेपालगन्जमा आचार्य, खजुरामा धिताल जानकीमा बर्मा, डुडुवामा खान, नरेैनापुरमा यादव, राप्तीसोनारीमा केसी निर्वाचित । कोहलपुर र बैजनाथमा भोलि टुंगो लगाइने

नेकपा (एमाले) को पालिका स्तरका कमिटीहरु अधिकाँश सर्वसम्मत बनाइएका छन् । बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत पालिका कमिटी निर्वाचित गरिएका हुन् । ‘बाँकी पनि सबै सर्वसम्मत गरिनेछन्, एमाले बाँकेका अध्यक्ष निरक गुरुङले दैनिक नेपालगन्जसँग भने, ‘अधिकत्तम छलफलबाट सर्वसम्मत गरिएका हुन् ।’
कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । ‘पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले भोलि (बुधवार) टुंगो लगाइने गरि अधिवेशन स्थगित गरिएको छ,’ एमाले नेता देवराज भारले दैनिक नेपालगन्जसँग भने, ‘यसपाली अधिकाँश युवाहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।’
कोहलपुरमा खिल प्रसाद भुसाल, नम प्रसाद शर्मा र कुल बहादुर भट्टराईले नेतृत्व दावी गरेका छन् । बैजनाथमा प्रेम सुवेदी र इन्द्र थापाले दावी गरेका छन् । ‘हामी सर्वसम्मतकै पक्षमा छौं,’ बैजनाथमा अधिवेशनका लागि खटिएका जिल्ला पार्टी सचिव रत्न खत्रीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्जमा दत्त प्रसाद आचार्यको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी बनाइएको छ । ‘कमिटीमा अधिकाँश युवा साथीहरु छन्,’ जिल्ला पार्टी अध्यक्ष गुरुङले भने । उनका अनुसार, उपाध्यक्षमा हाजी अब्दूल हकिम, सचिवमा मोहित शाह, उपसचिव दिग्वीजय ढुंगाना र उषा थापा भण्डारी लगायत छन् ।

खजुरामा गेहेन्द्र धिताल अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत दाहालको नेतृत्वमा ७५ सदस्यीय नेकपा एमाले खजुरा गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार, उपाध्यक्ष झगबहादुर पौडेल, सचिव देउमाया थापा तथा उपसचिवमा लल्लन यादव र साविर जोलाहा चुनिएका छन् ।
त्यसैगरि, डुडुवामा शकील खानको अध्यक्षतमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटि चयन भएको छ । उपाध्यक्षमा विष्णु भण्डारी, सचिव विनयराज त्रिपाठी तथा उपसचिव लल्लन प्र पाण्डे र ध्रुव कुमार चौधरी बर्मा छन् ।

नरैनापुरमा नेकपा एमालेको प्रथम नरैनापुर गाउँपालिका अधिबेसनबाट पन्चराम यादवको अध्यक्षतामा ५९ सदस्यीय कमिटी चयन भएको पत्रकार विनय दिक्षितले जानकारी दिएका छन् । उनका अनुसार, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिव सुनैना मिश्रा तथा उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चुनिएका छन् ।
जानकीमा बिसराम बर्माको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी बनेको छ । पार्टी इञ्चार्ज डिल्ली बिसीका अनुसार, रामरुप मौर्य उपाध्यक्ष, राजीतराम यादव सचिव तथा अशोक राना र यज्ञलक्ष्मी शाह उपसचिव चुनिएका छन् ।
त्यस्तै, राप्ती सोनारीमा मनोज केसीको नेतृत्वमा मदन ओली उपाध्यक्ष र सुधा चौधरी सचिव सहित सर्वसम्मत पालिका कमिटी निर्वाचित भएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा मंगलवारबाट अधिवेशन शुरु भएको हो । देशभरका पालिकामा एकसाथ शुरु भएको अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरे ।
बाँकेका आठ वटै पालिकामा अधिवेशन भएको छ । नेपालगन्जमा पार्टी केन्द्रीय सदस्य मोहम्मद हारुन, खजुरामा प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, कोहलपुरमा पार्टी नेता देवराज भार, जानकीमा प्रदेशसभा सदस्य बाबुराम गौतम लगायतका नेताले अधिवेशनलाई सम्बोधन गरेका छन् । यसअघि गत शनिबार वडा अधिवेशन सकेको एमालेले आज पालिकास्तरिय अधिवेशनसँगै विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन गरिएको हो ।