शुरु भयो एमालेको पालिका अधिवेशन

मुलुकभर नेकपा (एमाले) को पालिका स्तरका कमिटीको अधिवेशन शुरु भएको छ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा आज अधिवेशन शुरु भएको हो । देशभरका पालिकामा एकसाथ हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरेका छन् ।


बाँकेका आठ वटै पालिकामा अधिवेशन शुरु भएको छ । नेपालगन्जमा पार्टी केन्द्रीय सदस्य मोहम्मद हारुन, खजुरामा प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, कोहलपुरमा पार्टी नेता देवराज भार, जानकीमा प्रदेशसभा सदस्य बाबुराम गौतम लगायतका नेताले अधिवेशनलाई सम्बोधन गर्दैछन् । यसअघि गत शनिबार वडा अधिवेशन सकेको एमालेले आज पालिकास्तरिय अधिवेशनसँगै विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन गरिरहेको हो ।


एमालेको बाँकेमा सबैभन्दा बढी बैजनाथमा १ हजार २ सय र सबैभन्दा कम नरैनापुरमा ३ सय संगठित कार्यकर्ता छन् । नेपालगन्जमा ३ सयबढीले अधिवेशनमा प्रतिनिधित्व गरिरहेको एमालेले जनाएको छ ।


अध्यक्ष गुरुङले वडा अधिवेशनले जसरी देशभर सर्वसम्मत नेतृत्व चयन गर्यो त्यसरीनै बाँकेका सबै तहमा पालिका नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् । ‘त्यसका लागि जिल्ला तथा प्रदेश तहका नेताहरुको कार्यदलले काम गरिरहेकोछ,’ अध्यक्ष गुरुङले भने, ‘कहिंकतै सर्वसम्मतको वातावरण हुन नसके एमाले लोकतान्त्रिक पार्टी भएकाले मतदानको विधिबाट नेतृत्व चयन हुने गरि सबै तयारी भइसकेको छ ।’


पार्टी सम्बद्ध स्रोतका अनुसार, सबैजसो पालिकामा एकभन्दा बढी नेतृत्वका दाबेदार भएपनि पार्टी नेतृत्वले सर्वसम्मत विधिलाई प्राथमिकतामा राखेको छ । सबैभन्दा बढी दावेदार नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकामा छन् ।

नेपालगन्जमा आधा दर्जन आकांक्षी छन् । तर, २०६९ देखि नगर नेतृत्व गरिरहेका दत्त प्रसाद आचार्यलेनै कमाण्ड सम्हाल्ने वातावरण बनाउन पार्टी नेतृत्वले आवश्यक कसरत गरिरहेको छ । तर, कार्यकर्तास्तरमा विकल्पको माग भइरहेको छ । खजुरामा सहमति जुटिसकेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया