नेपालगन्जमा धार्मिक आस्थाको केन्द्र हडियाबाबामा आगामी मंसिर ५ गतेदेखि ५ दिने धार्मिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष हडियाबाबा धार्मिक मेला लाग्ने गर्दछ ।
नेपालगन्ज–६ रामनगरमा करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर सहित गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हिडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो । तर, विभिन्न मेला बाहेक दर्शनार्थी कम नै हुने गर्दछन् । मन्दिर संरक्षणका लागि लगाइएको पर्खाल तथा आवश्यक प्रचारप्रसार नहुँदा नियमित पुजाआजा गर्न जानेको संख्या कम रहेको छ ।

हडियाबाबा आश्रम सीमित चन्दादाता र मन्दिरको आन्तरिक आयबाट चलिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उनी विभिन्न सामाजिक संघ, संस्थामा पनि क्रियाशिल छन् । ‘हडियाबाबा प्रति मेरो बुबा निकै आस्था थियो, उहाँको आशिर्वादले नै म सफल छु’, आश्रमको नेतृत्व लिएको बारे धारणा राख्दै अध्यक्ष वैश्यले भने ।
‘मन्दिर शान्त, सफा र सुन्दर छ, यहाँ गौशाला, हनुमान मन्दिर, त्रैम्बकेश्वर महादेव मन्दिर, लक्ष्मीनारायण (रामजानकी) मन्दिर, सत्संग हल, पार्क रहेको छ’, आश्रम व्यवस्थापन समितिका सदस्य माधव राम बर्माले भने ।
आश्रम परिसरमा रहेको मन्दिरमा टाढाबाट आउने दर्शनार्थीलाई निशुल्क भोजनको समेत व्यवस्था गर्दै आएको पुजारी बताउँछन् । ‘यो आस्थाको केन्द्र हो, धार्मिक पर्यटनको सम्भावना पनि रहेको छ, तर यसको अझै प्रवद्र्धन आवश्यक रहेको छ’, व्यवस्थापन समितिका सदस्य बर्माले भने ।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष वैश्यले आगामी मंसिर ५ गते हुने धार्मिक मेलाका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिएका छन् । ‘विगत जस्तै भव्य रुपमा मेलाको आयोजना हुनेछ, हजारौं दर्शनार्थी, भक्तजन, बाबाहरु मेलामा आउनु हुनेछ’, आइतबार विहान मन्दिर परिसरमा भेटिएका अध्यक्ष वैश्यले मेला तयारीकै लागि नियमित आश्रम आउने गरेको जानकारी दिंदै भने ।
अध्यक्ष वैश्यले मेलाका लागि धु्रव कुमार कुमालको मूल संयोजकत्वमा आयोजक समिति बनाएको जानकारी दिए । भण्डारी उपसमितिको जिम्मेवारी तेजराम बर्मा, साधुसन्त सेवा उपसमितिको संयोजकमा मदन शर्मा लगायतलाई जिम्मेवारी दिइएको छ ।

मेलामा करिब १० लाख बढी खर्चको अनुमान छ । तर, यो एकिन खर्च भने नभएको अध्यक्ष वैश्य बताउँछन् । ‘नगद सहयोग भन्दा पनि मेलाका बेला कसैले कुनै दिन खानाको, कसैले ध्वनिका लागि दाउराको, कसैले साधुसन्तलाई कम्बलको जिम्मेवारी लिने गर्नुभएको छ’, अध्यक्ष वैश्यले भने ।
आश्रममा निर्माण कार्य पनि जारी छ । मेलामा आउने भक्तजनका लागि अस्थायी भन्सा, लक्ष्मीनारायण मन्दिरमा विवाह मण्डप र यज्ञशालाका लागि ५ लाख रुपैयाँ नेपालगन्ज वडा नं. ६ ले उपलब्ध गराएको आश्रम व्यवस्थापन समितिका सदस्य बर्माले जानकारी दिए । उनले ५ लाख थप सौन्र्दयीकरणका लागि वडा नं. ६ ले बजेट विनियोजन गरेको जानकारी दिए । सहरी विकासबाट प्राप्त ३० लाखबाट बनेको भवन अन्तिममा रहेको छ भने गुम्बदका लागि प्रदेश सांसद कोषबाट १० लाख रुपैयाँ उपलब्ध भएको छ । प्रदेश सांसदकै बजेटबाट आश्रम परिसरमा १० लाखमा इट्टा सोयलिङको काम भैसकेको छ । गुम्बद र इट्टा सोयलिङका लागि वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले उपलब्ध गराएका हुन् ।
आश्रमका लागि अम्बिका प्रसाद यादवले जग्गा उपलब्ध गराएका थिए । सोही आश्रममा हडियाबाबाले समाधि लिएका थिए ।

((