सीमित दरबन्दी रहेको ट्राफिक प्रहरीलाई बाँकेमा काम गर्न निकै चुनौतिपूर्ण रहेको छ । जिल्लामा ट्राफिकको दरबन्दी जम्मा २८ मात्रै छ । काजमा आएका समेत हाल ६२ जना प्रहरी कार्यरत् छन् । जिल्लाका विभिन्न ठाउँमा इकाइमा ट्राफिक प्रहरी कार्यालय र बिट छन् । तर, तिनमा पर्याप्त जनशक्ति अपुग छ ।
ट्राफिक प्रहरीले आफ्नो नियमित बाहेक दुर्घटना हुँदा फिल्डमा खटिनेदेखि भिआइपीको सवारीमा सडकमा ट्राफिक प्रहरी व्यवस्थापनका लागि उभिनु पर्दछ । बढ्दो सहरीकरण र यातायातका साधन बढेपनि सोही अनुरुप ट्राफिक प्रहरीको न दरबन्दी बढेको छ, न स्रोत र साधननै पर्याप्त रहेको छ । बाँकेमा ट्राफिकले नेपालगन्ज, कोहलपुर र खजुराको सहरी क्षेत्रका साथै लामो राजमार्ग हेर्नुपर्ने जिम्मेवारी रहेको छ ।
‘उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी ट्राफिकको व्यवस्थापन गरिरहेका छौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक ऐन बहादुर मल्लले भने, ‘हाल जिल्लाको आवश्यकता हेर्ने हो भने १ सय ५० बढी ट्राफिक प्रहरी आवश्यक देखिन्छ, सोही अनुसारको स्र्रोत साधन हुनुपर्दछ, तर उपलब्ध छैन ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्रोत साधनको अभावमा पेट्रोलिङ गर्न समेत समस्या रहेको बताए ।
बाँकेमा गत महिना बाँकेमा ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेका मल्लले आइतबार पत्रकारसँग भेट्दै जिल्लामा ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासँग भेटेर सुझाव लिइरहेको बताएका थिए । उनले सबैको समन्वय, सहकार्य र सहयोगले मात्रै जिल्लामा ट्राफिकको पूर्ण रुपमा व्यवस्थापन गर्न सकिने बताए । ‘नियम पालना गराउने बाहेकका धेरै काममा हामीलाई सरोकारवालाले साथ दिए मात्र सफल हुन्छ’, उनले भने ।
मल्लले बाँकेमा इरिक्साको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताए । ‘ट्राफिक प्रहरीले मात्रै इ रिक्साको व्यवस्थापन गर्न सक्दैन, त्यसका लागि मापदण्ड र कानुन आवश्यक छ’, त्यसैले मल्लले नेपालगन्ज र कोहलपुरका स्थानीय तहसँग त्यसका लागि आवश्यक कानुन छिटो बनाएर राजपत्रमा प्रकाशन गर्न अनुरोध गरेको बताए । ‘स्पष्ट मापदण्ड नहुँदा निकै समस्या छ, इरिक्सा व्यवस्थापन’, उनले भने, ‘कानुन बन्ने क्रममा रहेको पाइएको छु, स्थानीय तहसँग छिटो कानुन ल्याउन आग्रह गरेको छु ।’
सहरलाई आवश्यकता भन्दा बढी इरिक्सा सञ्चालन हुँदा नेपालगन्जको ट्राफिक अस्तव्यस्त छ । चालक लाइसेन्स समेत नमागिने हुँदा उमेर नपुगेका, सिक्दै नसिकेकाले समेत इरिक्सा सडकमा दौडाउने गरेका छन् । जसले गर्दा दैनिक सानातिना दुर्घटना हुने गर्दछन् । अझ इरिक्साका कारण मानिसको ज्यान गएमा बीमा नहुँदा पीडितले क्षतिपूर्ति समेत पाउन नसक्ने अवस्था रहेको छ ।
मल्लले ट्राफिक प्रहरीको अधिकार क्षेत्रमा रहेको नियम पालना गराउनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । पत्रकार सम्मेलनमा उनले सुझाव लिंदै सम्बोधनको सक्दो प्रयास गर्ने भन्दै त्यसका लागि अन्य सरोकारवाला निकायलाई पनि झक्झक्याउन सञ्चारकर्मीसँग आग्रह गरेका थिए ।
प्रहरी निरीक्षक मल्लले सबै क्षेत्रबाट सुझाव लिएर प्राप्त अधिकार अनुसार नागरिकले महसुस गर्ने गरी काम गर्ने बताएका थिए । ‘दुर्घटना न्यूनिकरणका लागि सचेतना महत्वपूर्ण पाटो हो, कोभिडले त्यो रोकिएको थियो, अब हामी पुन सुरु गर्नेछौं’, उनले भने, ‘कडाईका साथ मापसे चेकजाँच हुनेछ, आवश्यकता अनुसार पार्किङको व्यवस्थापन सम्बन्धित स्थानीय तहको समन्वयमा गर्नेछौं ।’
सडकमा मापदण्ड भन्दा चर्को हर्नलाई निषेध गरिने प्रहरी निरीक्षक मल्लले बताए । ‘नो हर्न कार्यान्वयन पूर्ण रुपमा तत्काल गर्न सकिने देखिंदैन, तर प्रेसर हर्न सवारीसाधनले प्रयोग गरेको भेटिए कारवाही हुनेछ ।’
प्रहरी निरीक्षक मल्लले ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत र सामाग्री जुटाउन पनि आफुले पहल गरिरहेको बताए ।
बढ्दो छ सवारी दुर्घटना
पर्वमै गयो १२ को ज्यान
बाँकेमा प्रत्येक बर्ष सवारी दुर्घटना बढ्दो रहेको तथ्यांकले देखाएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आ.व.मा ४ सय ४० वटा दुर्घटना भएका छन् । जसमा २ सय १० जनाले अकालमा ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार, आ.व. २०७५÷०७६ मा ९९ वटा दुर्घटनामा ६० जनाको ज्यान गयो भने १ सय ६१ जना घाइते भएका छन् । त्यस्तै, आ.व. २०७६÷०७७ मा १ सय ९१ वटा सवारी दुर्घटना भयो । जसमा ७३ जनाको ज्यान गयो भने २ सय ८० जना घाइते भए । २०७७÷०७८ मा १ सय ५० दुर्घटनामा ७७ को मृत्यु भयो भने २ सय ८ जना घाइते भए । आ.व. २०७६÷०७७ र २०७७÷०७८ मा लकडाउन भएको थियो । जसका कारण सवारी चलेका थिएनन् तर पनि दुर्घटनाबाट ज्यान जानेको संख्या अधिकत नै रहेको छ ।
चालु आ.व. २०७८÷०७९ को कात्तिकको पहिलो सातासम्म ४३ वटा दुर्घटना भएको छ । जसमा २१ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
असोज १८ देखि हिन्दुहरुको सबैभन्दा ठूलो पर्व दशैं सुरु भएको थियो । असोज १८ देखि महिनाको अन्त्यसम्म बाँकेमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको तथा ७ जना घाइते भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐन बहादुर मल्लले ओभरलोड, मापसे, तिव्रगति लगायतका कारणले बढीजसो दुर्घटना हुने गरेको बताए ।