दशै : नवदुर्गा, दश पाप र यसको उपासना

देवी (स्त्री) शक्ति र रुपको विहङ्गम दृष्टिकोण रहेको पर्वको रुपमा मनाईने चाड दशै हो । जसमा दैवी शक्ति र सत्यको पुजा अर्चना र आराधना गरिन्छ । जसका के कस्ता देवी (दुर्गाहरु) रहेका छन् । यसको महात्मय के हो ? किन पुजा गर्ने तथा साध्य के हो त भन्ने सम्बन्धमा हेरौ न ।

१) नवदुर्गा पूजा उत्सव र अवस्था
सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।
शरण्ये त्र्यंबके गौरी नारायणि नमोऽस्तुते ।।

दशैं÷बडा दशैं (दशहरा, विजया दशमी नवरात्र आयुध–पूजा) नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहानदशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्रीगरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतीको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिलगरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका रजमरा लगाउने चलन छ । श्रीमद्देवी भागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजया दशमी भनिएको हो भन्ने कथन छ । वैदिक ज्योतिषअनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ । चान्द्रकला विज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकीवर्ष भरी कुनै पनि तिथि घट्–बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीनवैदिक ज्योतिषको रहेको छ । यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्–बढ् हुने कुरै भएन, कृष्णपक्षमा पनि केवल १४ औं दिन मध्याह्न पछि चन्द्रकला क्षयभयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहींपनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुनेकुरा मिल्दैन ।

आजभोली निर्णय अर्वाचीन ज्योतिषका आधारमा गणित गरीवेद–पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौँ दिनको दशैं पर्व लेख्ने गर्दछन्, तर पनि यदाकदा सामाजिक समस्या आइपर्दछ ।
षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरूदेवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटिभयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसकाबीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमाअपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्रसामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनिआफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि ’आवाहनं नजानामि नजानामि विर्जसनम पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी भन्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढीजलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनिसेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ अनि घरका मुल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीकानिधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् अनि सपरिवार नातेदार कहा तथा मान्यवर कहा दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लाईटीका लगाउन जान्छन् ।

टीका लाउँदा दिने आशिष (महिला र पुरुष)
महिलालाई टिका लगाउदा
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुतेअर्थ जयंती उत्कृष्ट एवं विजयशालिनी देवी जन्म–मरण आदि संसार–बंधनबाट मुक्त राख्ने मोक्षदायिनी मंगलदेवी तथा प्रलयकालमा सम्पूर्ण सृष्टिको रक्षा गर्ने र दुष्टको नाश गर्ने काली जस्ता विभिन्न रुपमा रहेकी रपुरुषलाई टिका लगाउँदाः आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते (द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुषराजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तोमान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान्नारायणको जस्तो कीर्ति प्राप्त होस्) भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिकोप्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । पौराणिक मान्यता छ कि भगवान्श्रीरामले रावणको वध गरेका महात्मयलाई आधार तथा देवीले राक्षसहरु माथि विजय प्राप्त गरेको दिनको रुपमा मनाइन्छ मूलतः यसलाई असत्य माथिसत्यको विजयको रूपमा लिइन्छ ।
२) दश प्रकारका पापहरू र देवीको उपाशना दशै पर्वले त्याग्न प्रेरणा दिने दश पापहरुमा काम, क्रोध, लोभ, मोहेमद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी पर्दछन् । समाजमा रहेका पापहरुलाई देवीको उपाशनाले नाश गर्ने आधार दिन्छ ।

कामले अत्याधिक यौन आशक्तिले जन्माएका कामूकता र यौन अपराधहरुका घटनाहरुलाई त्याग्नुपर्दछ । पाशुवत व्यवहारले समाजमा यौन हिसा गर्न दुरुत्साहन गर्दछ । क्रोधक्रोधको कारणले भ्रमको उत्पत्ति हुन्छ । भ्रमले बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ तब तर्क नष्ट हुन्छजब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन शुरु हुन्छ । यसर्थ क्रोधलाई जति सक्यो चाडो छोड्न जरुरी छ । लोभ र मोहका सम्बन्धमा हेर्दा धन¸पद र सत्ताका नाउमा जागेका लोभ र सो प्रतिको मोहले प्राचिनकालदेखि हालसम्मका घटना परिघटना विश्लेषण गर्दा विनाश नै निम्त्याएको पाइन्छ । मद एक मादकतामा रमेको अवस्था हो । रजो र तमो गुणले उग्ररुपमा वास गरेको बेला हो भने मत्सरले इष्र्यापूर्ण मानसिक अवस्थालाई जनाउँदछ जसमा मानिसले अरुलाई हेर्दे दृष्टि र दृष्टिकोण नै मानसिक पालगलपनको अवस्था देखाउँदछ । उचो निचको भावको उद्भवलाई देखाउँदछ । अहङ्कारले सवै नै म हुँ र मेरो शिवाय अन्य सबै झिनामसिना हुन । म बाट शुरु हुन्छ र म बाट नै खत्तम हुन्छ । यस संसारको परिचालक म नै हो भनी द्येषपूर्ण भाव जागृत हुनु नै अहङ्कार हो । आलस्यले शारीरिक र मानसिक मात्र होइन सामाजिक तत्वलाई समेत जनाउँदछ अल्छी समाजले न त प्रगति गर्न सक्दछ न त अरुले गरेको देखि सहन्छ । आविष्कार र प्रगतिको वाधक हो । विनाशपथमा लैजाने पाप हो । हिंसाले समाजमा राक्षसी अवस्थालाई उजागर गर्दछ । विश्वास सदभाव सहकार्य र सहयोगी भावनालाई नाश गर्दछ । समग्र सामाजिक बन्धनलाई टुटाउँदछ । चोरीले अस्थीर अवस्थालाई ईङ्गित गर्दछ ।असंतुलित समाजको सृजना गर्दछ ।

दैवी उपाशनाका आधारमा मन्त्रोच्चारण
मूलतः दैवी शक्ति र सत्यको पूजनको रुपमा दशै उत्सव मनाउने गरिन्छ। देबीको मन्त्रमा रहेको शक्तिलाई उच्चारण गरिन्छ । विशेषगरी या देवी सर्वभूतेषु शक्तिरूपेण¸ लक्ष्मीरूपेण¸ तुष्टिरूपेण¸ मातृरूपेण¸ दयारूपेण¸ बुद्धिरूपेण एवं शांतिरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः भनेर नवरात्रमा पुजा गरिन्छ । जसले समस्त हिन्दु तथा मानव जातिको उत्थान र सार्थक जीवनको अर्थ राख्दछ ।
अन्त्यमा दशैले दशपापरहित मानव र समाजको अपेक्षा गर्दछ । आपसी विश्वास प्रेम सदभाव सहयोग समन्वय र सदगुणको अपेक्षा राख्दछ । भ्रम र असत्य होइन सत्यको मार्गदर्शन गर्दछ । विभिन्न जात¸ धर्म¸लिङ्ग¸ उत्पत्ति¸ वर्ण ईत्यादिमा गरिने विभेदमा अन्त्य गर्ने प्रेरणा दिन्छ । विश्व समाजमा शान्ति समृद्धि विकास र सत्यको अकण्टक स्थापना गर्न अनुरोध गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया